नेपाल प्रहरीमा इन्सपेक्टर भन्दा तल तीन दर्जा थपिए – Nepal Press

नेपाल प्रहरीमा इन्सपेक्टर भन्दा तल तीन दर्जा थपिए

इन्सपेक्टर भन्दा तल सहायक हवल्दार, बरिष्ठ हवल्दार र बरिष्ठ सइ

काठमाडौं । नेपाल प्रहरीमा अब तल्लो तहमा तीन दर्जा थपिएको छ । नेपाल प्रहरीले अघि बढाएको प्रहरी (नवौं संशोधन) नियमावली २०७८ मन्त्रिपरिषद् बैठकबाट पारित भएर राजपत्रमा प्रकाशित भएपछि प्रहरीको तल्लो तहमा तीन दर्जा थप्ने प्रक्रियाले कानुनी रुपमा पुर्णता पाएको छ ।

सोमबार राजपत्रमा प्रकाशित नियमावली अनुसार अब प्रहरी सहायक निरीक्षक (असई)को बीचमा प्रहरी वरिष्ठ हवल्दार र प्रहरी नायव निरीक्षक (सई) र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को बीचमा प्रहरी वरिष्ठ नायब निरीक्षक तीन वटा दर्जा थपिएको हो । यस्तै प्रहरी जवानबाट हवल्दारको बीचमा प्रहरी सहायक हवल्दार पद थप गरिएको छ ।

प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार अहिले नेपाल प्रहरीमा ४६ हजार दुइ सय १९ प्रहरी जवान रहेका छन् । यस्तै १४ हजार नौ ८९ प्रहरी हवल्दार र ४ हजार दुइ सय ९६ प्रहरी नायब निरीक्षक (सई) रहेका छन् । अब नयाँ थपिने प्रहरी सहायक हवल्दार पदमा १५ हजार चार सय ६ जना जवानको बढुवा हुने प्रहरी प्रधान कार्यालयले गरेको प्रस्तावमा उल्लेख छ ।

यस्तै अब नेपाल प्रहरीमा बढुवामा विभूषणको नम्बर गणना नहुने भएको छ । यस्तो प्रावधानले विभूषणमै विकृति बढाएको भन्दै नियमावली संशोधन गर्दै नम्बर कटौती गरेर ज्येष्ठतामा थपिएको छ ।

नियमावली संशोधनपछि ज्येष्ठताबापत अब २२ नम्बर जोडिनेछ । जसअनुसार अब ज्येष्ठ प्रहरी अधिकृत बढुवामा पर्ने सम्भावना धेरै देखिएको छ । त्यस्तै, भौगोलिक क्षेत्रमा काम गरेको अनुभवका आधारमा आठ अंक, शैक्षिक योग्यताबापत १० अंक, तालिमबापत सात दशमलव पाँच अंक, चुनौतीपूर्ण तथा विशेष जिम्मेवारीबापत पाँच अंक र बढुवा समितिले दिने सात दशमलद पाँच अंक जोड्ने गरिएको छ । यसलाई यथावत राखिएको छ ।

यस अघिको प्रावधानअनुसार बढुवाको सय पूर्णांकमध्ये विभूषणबापत दुई नम्बर जोडिदैँ आएको थियो । जसमा सबैभन्दा धेरै नम्बर ल्याउने बढुवामा सिफारिस हुने गरेका थिए । सयमध्ये ४० नम्बर कार्यसम्पादन मूल्यांकन र २० नम्बर ज्येष्ठताका आधारमा तय हुने गरेको थियो । हरेक वर्ष विभूषण पाउनेको सूचीमा ठूलो संख्या सुरक्षाकर्मीको हुने गरेको छ । निश्चित कोटा नभएकाले पहुँचका आधारमा जथाभावी विभूषण वितरण हुँदा विभूषण नै विवादमा पर्दै आएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले नेपाल प्रहरीमा तल्लो तहमा देखिएको बढुवाको समस्या समाधान गर्नका लागि तीन वटा नयाँ पद थप गर्ने प्रस्ताव गृह मन्त्रालयमा पेश गरेको थियो । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली संशोधनका लागि गरेको प्रस्ताव गृह मन्त्रालयले मन्त्रिपरिषद्बाट पेश गरेको थियो । मन्त्रिपरिषद्बाट नियमावली स्विकृत भएसँगै राजपत्रमा प्रकाशित भएपछि यसले कानुनी मान्यता पुरा गरेको छ ।

यस्ताे छ प्रहरीमा थपिएकाे दर्जा र दज्र्यानी चिन्ह


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *