ट्याक्सी भाडा समायोजनबारे ट्राफिक बेखबर, कहिलेदेखि लागू हुन्छ नयाँ दर ? – Nepal Press

ट्याक्सी भाडा समायोजनबारे ट्राफिक बेखबर, कहिलेदेखि लागू हुन्छ नयाँ दर ?

काठमाडौं । ट्याक्सी भाडा समायोजन गर्ने वागमती प्रदेश सरकारको निर्णय कार्यान्वयन अनिश्चित बनेको छ । श्रम रोजगार तथा यातायात मन्त्रालयले पुस २० गते मन्त्रीस्तरीय निर्णयबाट ट्याक्सीको नयाँ भाडा निर्धारण गरेको थियो । सँगै मिटरको पूर्णपालना गर्न पनि भनेको छ ।

माघ १ (हिजो) देखि लागू हुने गरी गरिएको भाडा समायोजनको निर्णयप्रति ट्राफिक भने अनभिज्ञ छ । ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी संजीव शर्मा दास ट्याक्सीको नयाँ भाडादरबारे आफूहरूकहाँ केही निर्णय नआइपुगेको बताउँछन् ।

‘कसले कहिले निर्णय गर्‍यो हामीलाई थाहा छैन । आधिकारिक नआइ हामी केही गर्न सक्दैनौं’, उनले नेपाल प्रेससँग भने ।

प्रदेश यातायात मन्त्रालयका सूचना अधिकारी राजन पोखरेलले ट्राफिकले थाहा नपाएको भन्न नसुहाउने बताउँछन् । ‘हामीले संघीय सरकारमा जानकारी गराइसकेका छौं । राजपत्रमा पनि सूचना निस्किसकेको छ । राजपत्रमा सूचना निस्किएको कुरा ट्राफिकले थाहा छैन भन्नु त अस्वाभाविक हो’, पोखरेलले भने ।

नयाँ भाडादर भने अहिले लागू हुन नसक्ने उनले बताए । माघ १ देखि भनिए पनि ट्याक्सीहरूको मिटर ठीकठाक पार्न केही समय कुर्नुपर्ने उनको भनाइ छ ।

पोखरेलले भने, ‘१२/१३ हजार ट्याक्सी छन् । नाप तौल विभागमा गएर मिटर सेट गर्न समय लाग्छ । अझै कुर्नुपर्छ ।’,

वागमती सरकारले उपत्यकाभित्र पहिलो एक किलोमिटरसम्मको यात्राको फ्लाग डाउन (मिटर सुरू) ६० रुपैयाँ कायम हुने निर्णय गरेको थियो ।

नयाँ नियमअनुसार सुरुको एक किलोमिटरपछि प्रति २ सय मिटरको ९ रुपैयाँ ८० पैसा रुपैयाँका दरले थप हुनेछ । भाडादर समायोजनपछि ट्याक्सीहरूले पूर्णरूपमा मिटर प्रयोग गर्नुपर्ने र मिटरमा नै हिँड्नुपर्ने शर्त राखिएको छ ।

अहिले उपत्यकामा पुरानो दरमै कुदिरहनुपरेको भन्दै ट्याक्सीले यात्रुसँग मनलाग्दी भाडा असुलिरहेको गुनासो बढ्दो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर