अफगानिस्तानलाई मानवीय सहायता प्रदान गर्न नेपाली टोली काबुल प्रस्थान (भिडिओ) – Nepal Press

अफगानिस्तानलाई मानवीय सहायता प्रदान गर्न नेपाली टोली काबुल प्रस्थान (भिडिओ)

नेपालले १४ टन सहायता सामाग्री उपलब्ध गराउने

काठमाडौं । अफगानिस्तानलाई मानवीय सहायता प्रदान गर्न नेपाली टोली आज काबुलतर्फ प्रस्थान गरेको छ । परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्सालसहितको नेपाली डेलिगेसन टोली आज बिहान हिमालय एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेको हो ।

औषधी, घरायसी सामान र लत्ताकपडासहित १४ टन सहायता सामाग्री लिएर नेपाली टोली त्यसतर्फ जाँदैछ । परराष्ट्रमन्त्री नारायण खड्काले त्रिभुवन विमानस्थलमा लम्सालसहितको नेपाली टोलीलाई बिदाइ गरे ।

काबुलमा नेपाली टोलीले त्यहाँस्थित संयुक्त राष्ट्रसंघको कार्यालयलाई सहायता सामाग्री हस्तान्तरण गर्ने भएको छ । टोली आजै राती स्वदेश फर्कने कार्यक्रम छ ।

परराष्ट्र सहसचिव सेवा लम्साल (बायाँ) र मन्त्री नारायण खड्का ।

मानवीय संकटसँग जुधिरहेको अफगानिस्तानलाई सहायता गर्न राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले गरेको आग्रहअनुसार नेपालले पनि सहायता प्रदान गर्न लागेको हो । राष्ट्रसंघले अफगानिस्तानलाई ४.४ बिलियन डलर बराबरको सहायता आवश्यक भएको जनाएको छ ।

सार्क अध्यक्ष मुलुक नेपालले संगठनको कान्छो सदस्य अफगानिस्तानलाई नैतिक र मानवीय सहयोग गर्न लागेको बताए । उद्योग वाणिज्य संघ, परीसंघ, चेम्बर अफ कमर्सजस्ता निजी क्षेत्र र व्यवसायीको पहलमा नेपालले सहायता सामाग्री जुटाएको हो । हिमालय एयरलाइन्सले च्यारिटी उडान गर्ने भएको हो । 

‘विश्वसामु आफ्नो सक्षमता देखाउन सक्ने खुबी छ हामीसँग, हामी त्यो उदाहरण पेश गर्न चाहन्छौं’ विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले भने, ‘हामी साझा संस्कृति र सभ्यताले गाँसिएका छौं र परेको बेला सघाउनु नेपालको नैतिक दायित्व पनि हो ।’

नेपालले इतिहासमा पहिलोपटक संकटमा परेको मित्रराष्ट्रलाई सघाएको बताउँदै मन्त्री खड्काले पहिलोपटक जहाज लिएर नेपाल मानवीय सहयोगमा जाँदै गरेको बताए । 

गत अगस्टमा तालिवानले सत्ता कब्जामा लिएयता त्यहाँ चरम मानवीय संकट उत्पन्न भएको मन्त्री खड्काले बताए । त्यहाँको कूल जनसंख्यामध्ये २ करोड ७० लाख जनसंख्या मानवीय सहायताको पर्खाइमा रहेको जनाइएको छ ।

७० लाखमध्ये ३० लाख बालबालिका कुपोषणको शिकार भएको र ठण्डीले बालबालिका प्रभावित भएको जनाइएको छ ।

एक अर्को प्रश्नमा परराष्ट्रमन्त्री खड्काले सार्क अध्यक्ष मुलुकको हैसियतमा नेपालले सार्क सम्मेलन जतिसक्दो चाँडो आयोजना गर्न पहल गरिरहेको समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर