प्रधानमन्त्री कपः भुर्तेल र ऐरीको विष्फोटक अर्धशतकमा पुलिसको विशाल स्कोर – Nepal Press

प्रधानमन्त्री कपः भुर्तेल र ऐरीको विष्फोटक अर्धशतकमा पुलिसको विशाल स्कोर

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत जारी नेपाल पुलिस क्लव र कर्णाली प्रदेशविरुद्धको खेलमा पुलिसका दुई ब्याट्सम्यानले विष्फोटक अर्धशतक बनाएका छन् । ओपनर कुशल भुर्तेल र मध्यक्रमका दिपेन्द्रसिंह ऐरीले चौका र छक्काको वर्षा गर्दै तीव्र गतिमा रन बटुलेपछि पुलिस विशाल स्कोरतर्फ लम्केको छ ।

राष्ट्रिय टिमका समेत ओपनर रहेका भुर्तेल ३९ बलमा ८२ रन बनाएर आउट भए । ९ चौका र ३ छक्का प्रहार गरेका उनले केवल २२ बलमा अर्धशतक पूरा गरेका थिए । पहिलो विकेटका लागि पवन सर्राफसँग उनको ५२ रनको साझेदारी भएको थियो । पवनले १३ बलमा २२ रन बनाएका थिए ।

पवन आउट भएपछि क्रिजमा आएका ऐरी विष्फोटक अन्दाजमा प्रस्तुत भए । उनले ९ चौका र २ छक्कासहित २८ बलमा ६२ रन बनाए । २३ बलमा अर्धशतक पूरा गरेका दिपेन्द्रले दिवान पुनको एकै ओभरमा २० रन बटुलेका थिए ।

भुर्तेल र ऐरी दुवै आउट भए पनि पुलिसले विशाल स्कोर बनाउने निश्चित भइसकेको छ । कर्णालीका बलरहरु निरीह देखिँदा पुलिसले १८ औं ओभरमा नै दुई सय रन कटाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर