मधेसमा बढ्दो एमाले क्रेजः कारण र परिणाम – Nepal Press
विचार

मधेसमा बढ्दो एमाले क्रेजः कारण र परिणाम

मंसिर १ गते नेपालगञ्ज, पुस ६ गते कपिलवस्तु, ८ गते पर्सा र २३ गते रुपन्देहीमा हजाराैको संख्यामा विभिन्न पार्टी परित्याग गरी विभिन्न नेता कार्यकर्ता र निर्वाचित जनप्रतिनिधि एमालेमा प्रवेश गरे । यसले मधेसमा बढेको ‘एमाले क्रेज’लाई प्रष्ट पारेको छ ।

पूर्वमा राजकुमार लेखीदेखि पशुपतिदयाल मिश्रसम्मलाई पार्टी प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओलीले दिएको महत्वले एमालेमा आमआकर्षण बढ्दोछ । यसले यो पनि प्रष्ट पारेको छ कि, तराई–मधेसका नागरिकमा एमालेले जबर्जस्त स्थान ग्रहण गर्दैछ ।

गएको संघीय र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेलाई तराई–मधेसविरोधी पार्टीको रूपमा व्याख्या गर्दै तात्कालीन सत्तापक्ष नेपाली कांग्रेस र तराई–मधेसका पार्टीहरूले प्रवेशमै रोक लगाउनेसम्म काम गरे । २०७३ सालमा एमालेले सञ्चालन गरेको तराई–मधेस जागरण अभियानमा प्रदेश नम्बर दुईको सप्तरीमा तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिको षड्यन्त्रस्वरूप प्रहरीले गोली प्रहार गरेर चारजना सर्वसाधारण नागरिकहरूको हत्या भयो ।

त्यसपछि एमालेले दुई नम्बर प्रदेशका आठ जिल्लामा उक्त अभियान स्थगित गरेर बाँकी भागमा अभियान सम्पन्न गरेको थियो । सत्तापक्षको झमेलामा परेको एमालेले करिब तीन महिनापछि भएको स्थानीय निर्वाचनमा देशभरमा एक्लै ४२ प्रतिशत जित हाँसिल गर्दा दुई नम्बर प्रदेशमा बिउ जोगाउनेबाहेक केही गर्न सकेन । त्यसको नौ महिनापछि २०७४ मंसिरमा भएको संघीय र प्रदेशसभा निर्वाचनमा भोटको हिसाबले दुई नम्बर सबैभन्दा बढी तर निर्वाचित प्रतिनिधि कम भए ।

संविधान निर्माणको बेला एमालेलाई तराई–मधेसविरोधिको रूपमा निकै प्रचार गरियो । तराईमा भारतको उक्साहटमा ठूला आन्दोलन भए । आन्दोलनलाई राज्यबाट दमन गरेर नागरिकहरूलाई मारियो । यसरी मारिएका सहिदहरूलाई ओलीले रूखबाट आँप झरेजस्तै हो भनेको भनेर अपव्याख्या गरियो ।

जनताको साङ्लो जुलुसलाई ओलीले माखे साङ्लो भनी अपमान गरेको भनियो । ओलीले मधेसीलाई अपमान गरेको भनेर संविधान नै नपढी गालीयुद्ध छेडिएको थियो । २०७४ साल असोजमा नेकपा एमाले र माओवादीबीच चुनावका लागि कार्यगत एकता भयो । तत्पश्चात् दुई नम्बर प्रदेशमा नेकपा एमाले र माओवादी तेस्रो र चौथो दल भयो । २०७४ सालको निर्वाचनमा समग्र तराईमा एमाले पहिलो दल बन्यो ।

के कारण बढ्दैछ एमालेप्रतिको आकर्षण ?

एक जमाना थियो, नेकपाप्रति धेरै ठूलो भ्रम बाँडेर लामो समय कांग्रेस सत्तामा रह्यो । कांग्रेसले एमालेलाई बदनाम गराउन ६० वर्ष उमेर समूह पुगेपछि मार्छ भनेर भ्रम फैलाउने दुष्प्रयास भयो । एमालेले ‘गरूवा संघार’ गर्दछ भनेर जनतालाई आतंकित पारिन्थ्यो ।

एकबेला एमालेलाई तराईविरोधी भनेर भ्रम फिँजाइयो । जब केपी शर्मा ओली सरकारको नेतृत्वमा पुगे तब तराईको समग्र विकासमा छलाङ ल्याउने काम गरे ।

२०४८ सालमा कांग्रेसका नेता तथा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पहिलोपटक भारतको राजकीय भ्रमणमा जाँदा भारतीय प्रधानमन्त्रीसँग ११ अर्ब रुपियाँको सहयोगमा हुलाकी राजमार्ग बनाइदिने सम्झौता गरेर फर्किए । तर सम्झौताको २७ वर्षसम्म हुलाकी सडक बनाउने कामको २० प्रतिशत पनि प्रगति भएन ।

प्रधानमन्त्री केपी शर्माले पहिलो बजेट भाषणमै हुलाकी सडकलाई पूरा गर्न एक खर्ब बजेट छुट्याए । जसकारण तराई–मधेसमा हुलाकी सडकको काम करिब ८० प्रतिशत पूरा हुने स्थितिमा पुगेको छ । हुलाकी सडक अबको एक डेढ वर्षमा पूरा हुन लागेको देखेका जनताले आखिर मधेसी जनताको वास्तविक पार्टी नेकपा एमाले हो भन्ने बुझ्न थालेका छन् ।

२०७२–०७३ को बजेटमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसका २० जिल्लाको सदरमुकाम सुधारका लागि ५०–५० करोड रुपैयाँ छुट्याए । अव्यवस्थित, साँघुरा सडक, शौचालयको सुविधा नभएको, नाली ढल निकास नभएको, बिजुली, टेलिफोन र बगैंचाहरू नभएको कारण कुरूप र विस्थापनमा पर्ने अवस्थामा पुगेका सुन्दर हुन थालेका छन् । त्यसपछि यहाँका नागरिकले आफ्नो पार्टी एमाले नै भएको बुझ्न थालेका छन् ।

तराईका छ जिल्लाको करिब एक लाख ८० हजार हेक्टर खेतमा सिँचाइ र ७४ मेगावाट बिजुली निकाल्ने गरी प्रदेश नम्बर दुईको ६ जिल्लाका लागि पौने दुई खर्बको सुनकोशी–मरिन ड्राइभर्सन परियोजना शिलान्यास गरे, ओलीले । ०७८–०७९ को बजेटमा करिब ३० अर्ब बजेट छुट्याइएको कारण अबको पाँच वर्षपछि तराईका ६ जिल्लामा सिँचाईका कारण उत्पादन बढ्ने निश्चित छ । त्यस्तै बिजुली पनि थपिने छ । यसपछि यहाँका नागरिकको पहिलो रोजाइमा एमाले नै पर्न थालेको हो ।

वर्षातमा हुने डुबानबाट उन्मुक्ति

भारतले सीमा क्षेत्रमा बाँध बनाएर नेपालको भू–भाग डुबानमा पार्ने र नेपालीहरूलाई बिल्लीबाठ बनाउने गरेको विगत प्रष्ट नै छ । नेपालका सरकारले भारत सरकारसमक्ष खुलेर आफ्ना समस्या राख्न सक्दैनथे । जब केपी ओलीले पहिलो र दोस्रो प्रधानमन्त्रीत्व कालमा समस्या हल गर्न जुन प्रयास गरे, त्यो सार्थक भएको छ । तीन वर्षयता डुवान समस्या कम भएको छ । जसकारण पनि मधेसका नागरिकको रोजाइमा एमाले पर्न थालेको छ ।

रैथाने मधेसी जनतालाई पनि एमाले नै प्यारो

संविधान निर्माणका बेला एमाले अध्यक्ष ओलीमाथि अनेक खाले टिप्पणी भए । ओली संविधानमा अंगीकृत नेपालीलाई भन्दा रैथाने नेपाली मधेसी समुदायका लागि लडेका हुन् भन्ने कुरा सुरुमा बुझ्न दिइएन् । जब अंगीकृतहरूका लागि नेपाली कांग्रेस, माओवादी र मधेसवादी दलहरू लडेका हुन् भन्ने राम्रोसँग बुझेपछि तराई–मधेसका नागरिकमा विगतको आफ्नो रोजाइ अन्य पार्टी भएप्रति पछुताए । र, एमालेको पक्षमा लागे ।

मधेसमा महिलामाथि चर्को विभेद छ । जात, धर्म र संस्कृतिको नाममा गरिने विभेद अनि दहेज र अन्य कारणबाट महिला उत्पीडनमा परेका छन् । यहाँ सामाजिक कुरीति पनि धेरै थियो ।

बाहिरबाट मागी ल्याएको बुहारीलाई सकेसम्म विवाह दर्ता र नागरिकता नबनाइदिने र उस्तै परे लखेटेर छोड्ने नियति भोग्न बाध्य थिए यहाँका महिला । विवाह दर्ता नभएका बुहारीहरू घर न घाटका हुने गरेका थिए ।

गएको वर्षदेखि नेकपाको सरकारले जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकाका लागि मासिक ५ सय १६ रुपैयाँका दरले भत्ता दिन सुरु गर्यो । बुहारीको नागरिकता बनेपछि मात्र बच्चाको जन्मदर्ता हुने नियम भएकोले अब पैसाको लोभमा बुहारीको नागरिकता बन्न सुरु भएको छ । आजभोलि हरेक दिन करिब चार सयदेखि ६ सय बुहारीको नागरिकता बनिरहेको छ ।

सुकुम्बासीका लागि एमाले नै आशाको केन्द्र

तत्कालीन प्रधानमन्त्री केपी ओलीले गठन गरेको भूमिसम्बन्धी आयोगले करिब १६ महिना लगाएर दिन ठिक्क पारेको जग्गाधनी पूर्जा परमादेश सरकारले दिएन । अहिलेको सरकारले भूमि आयोग नै खारेज गरिदियो । यसबाट मधेसका नागरिकले बुझे कि, आफ्नो पक्षमा काम गर्ने एमाले नै हो । र उनीहरु फेरि एमालेकै सरकार बनेको हेर्न चाहन्छन् ।

गठबन्धनमा रहेका दलप्रतिको वितृष्णा

संसारका लोकतान्त्रिक देशमा जनमतबाट सरकार बन्छन् । तर नेपालमा अदालतको परमादेशबाट सरकार बनेको छ । सत्तागठबन्धनमा रहेका पाँच दलप्रति नागरिक आतंकित छन् । उनीहरु सबै एक भएर चुनावमा एमालेलाई हराउन चाहन्छन् । तर यो सरकारका कामकारबाहीबाट नागरिक आजित भइसके ।

मुलुकको अर्थतन्त्र अहिलेसम्मकै नाजुक अवस्थामा पुगेको छ । मूल्यवृद्धि अचाक्ली बढेको छ । नागरिकको दैनिकी जर्जर छ । कोरोनाका कारण नागरिक आतंकित छन् । तर परमादेश सरकार नदेखे जस्तो, थाहा नभए जस्तो गरिरहेको छ । यसबाट नागरिक आजित भएका कारण एमालेप्रति नागरिकको क्रेज बढ्ने निश्चित छ ।

सत्ता गठबन्धनबाट चुनाव लड्दा टिकट पाइने संभावना नदेखेका र एमाले कमजोर रहेको ठाउँमा टिकट पाउने संभावना बढी भएकोले पनि जनाधार भएका नेताहरूको लागि एमाले रोजाइको विषय हुने गरेको छ ।

राष्ट्रियताको सवालमा पनि एमाले सबैभन्दा अब्बल पार्टी हो भन्ने नेपाली जनताले राम्ररी बुझेका छन् । साढे तीन वर्ष सरकार चलाउँदा विगतका सरकार अलोकप्रिय हुन्थे । उनीहरू आफैंले आयोजना गरेका चुनावमा लज्जास्पद हार खाए । तर प्रमुख प्रतिपक्षी पार्टी एमाले वर्तमान सरकारलाई मुलुकलाई चुनावमा लैजान लागि परेको छ । यो एमालेले गरेका सत्प्रयासको बलमा निर्मित तागत हो ।

तराई मधेसमा मात्रै होइन, देशैभर एमालेप्रतिको आकर्षण बढेको छ । किनकि सबैले बुझेका छन् कि- सुखी नेपाली, समृद्ध नेपालको सपना एमालेबाहेक अरु दल नेतृत्वको सरकारले पूरा गर्न सक्दैन ।


प्रतिक्रिया

One thought on “मधेसमा बढ्दो एमाले क्रेजः कारण र परिणाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *