एमाले कैलालीमा ३० वर्षमुनिका चारजनाको ‘डेब्यू’, क्लस्टरमा तीनजनालाई सर्वाधिक मत – Nepal Press

एमाले कैलालीमा ३० वर्षमुनिका चारजनाको ‘डेब्यू’, क्लस्टरमा तीनजनालाई सर्वाधिक मत

कैलाली । राजनीतिमा युवा पुस्ताको आकर्षक उपस्थितिसँगै कैलाली एमालेमा पहिलोपटक ३० वर्षमुनिका चारजना आएका छन् । उनीहरू सबै निर्वाचन जितेर जिल्ला सदस्य भएका हुन् ।

निर्वाचित हुनेमा मनोज राई, किशोर शाह, अरुण कुँवर र दीपा नेपाली छन् । जनजाति कोटामा तीन पदका लागि भएको निर्वाचनमा २९ वर्षीय राईले सबैभन्दा बढी २४२ मत ल्याएर जिते । उनी अनेरास्ववियुका सचिवालय सदस्य तथा सुदूरपश्चिम प्रदेशसचिव पनि हुन् ।

क्लस्टरमा सबैभन्दा धेरै मत पाउने ३० वर्षमुनिकी अर्की सदस्य दीपा नेपाली भएकी छन् । २८ वर्षीया दीपाले दलित महिलामा ३३८ मत ल्याएर विजयी भइन् । उनी अनेरास्ववियु नेत्री हुन काठमाडौंमा दलित भएकै कारण घरबाट निकालिएपछि उनले आन्दोलन गर्दै अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

अनेरास्ववियु कैलालीका अध्यक्ष २७ वर्षीय किशोर शाह पनि २०५ मत ल्याएर निर्वाचित भए । २१ जनाको खुल्ला सदस्यतर्फ ४६ जनाको उम्मेदवारी परेको थियो । अखिल राजनीतिमा जोडिएका शाह युवामाझ लोकप्रिय मानिन्छन् ।

२९ वर्षका अरुण कुँवर झण्डै ५८ प्रतिशत मत ल्याएर विजयी बने । ५८९ मध्ये उनले ३४० मत ल्याएका छन् । उनी युवा संघको स्थायी कमिटी सदस्य हुन् । जिल्ला कमिटीमा युवामाझ सर्वाधिक मत ल्याउने उनीमात्र हुन् ।

कैलालीमा ३० देखि ४० वर्ष उमेर समूहको पनि दरिलो उपस्थिति देखिएको छ । यो अधिवेशनमा युवा तथा विद्यार्थीबाट आकर्षक उपस्थिति देखिएको युवा संघका स्थायी कमिटी सदस्य विनय शाह बताउँछन् ।

उपसचिवमा उम्मेदवारी दिए पनि शाह निर्वाचित भने भएनन् ।

उल्लेख्य संख्यामा ४० वर्षमुनिकाहरू निर्वाचित भएको एमाले पोलिटब्यूरो सदस्य तथा कैलाली इन्चार्ज नरदमुनि रानाले बताए । ‘युवाहरू प्रतिनिधित्वले एमालेप्रति लगाव बढ्दै गइरहेको छ’, ‘लामो समयदेखि रहनुभएकाहरूको अनुभव र युवाहरूको ऊर्जाको आधारमा हामीले पार्टीलाई अझै गतिशिलता बनाउने योजना बनाएका छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर