भीम रावलको गृहजिल्लामा ओली पक्षका बोहरा एमाले अध्यक्ष निर्वाचित, कसको कति मत ? – Nepal Press

भीम रावलको गृहजिल्लामा ओली पक्षका बोहरा एमाले अध्यक्ष निर्वाचित, कसको कति मत ?

अछाम । नेकपा (एमाले) अछामको अध्यक्षमा संस्थापन पक्षका प्रत्यासी चन्द्रबहादुर बोहरा ४३१ मत ल्याएर वियजी भएका छन् ।

केपी शर्मा ओलीसँग अध्यक्षका प्रतिद्वन्दी भीम रावल पक्षका उम्मेद्वार प्रकाशबहादुर शाहलाई एकसय २५ मतले पछि पार्दै बोहरा अध्यक्षमा विजयी भएका हुन् ।

खसेको ७५० मतमा शाहले ३०७ मत ल्याएर अध्यक्ष पदमा पराजित भएको निर्वाचन समितिले जानकारी दिएको छ । बोहरा ओली र शाहले रावल पक्षमा प्यानल नै बनाएर निर्वाचन प्रक्रियामा सहभागी भएका थिए ।

उपाध्यक्षमा शाह प्यानलका उपाध्यक्ष बलबहादुर कुँवरले तीनसय १३ मत ल्याएर विजयी भएका छन् ।

बोहरा पक्षका उपाध्यक्ष पदमा भीमबहादुर विष्टले ३ सय ६ मत ल्याएर पराजित भएका छन् । सचिवमा पनि शाह पक्षकै भीमबहादुर रावल (कालोटोपी) चारसय ५३ मतले विजयी भएका छन् ।

माओवादी पृष्ठभूमिबाट एमालेमा रहेका सचिव पदका अर्का उम्मेद्वार आदर्श साउँदले दुईसय ५ मत ल्याएर पराजित भएका छन् । अध्यक्षमा विजयी बोहरा र सचिवका विजयी रावल मंगलसेन नगरपालिका–८ र ९ वडावासी (साविकको वलीगाउँ गाविसका) हुन् ।

दुई उपसचिवको पदमा सात जनाको उम्मेद्वारी परेकोमा डम्बर वीसी र प्रेम महर विजयी भएका छन् । बोहरा पक्षका वीसीले दुईसय ६० मत शाह पक्षका महरले दुईसय ५२ मत पाएर विजयी भए ।

उपसचिवमा टोपबहादुर शाही दुईसय ४४, प्रेम खत्री दुई २१, लिलाराज केसी एकसय ३९, शेरबहादुर बुढा ७२ र नवराज साउँदले ६२ मत प्राप्त गरेर पराजित भएका छन् ।

निर्वाचनमा विजयी हुने पदाधिकारी मध्येमा संघीय निर्वाचन क्षेत्र १ मा एक उपसचिव बाहेक सबै क्षेत्र नं. २ का रहेका छन् । तीन दिनसम्म सर्वसम्मतिको प्रयास गर्दा सहमति नभएपछि निर्वाचन प्रक्रिया अबलम्बन गरिएको हो ।

वडाबाट प्रतिनिधि र आयोजक गरेर एमाले अछाममा सातसय ६२ मतदाता रहेकोमा सातसय ५० जनाले मतदान गरेका छन् ।

भूगोल (स्थानीय तह), महिला, दलित, अल्पसंख्यक, जनजाति र अपांगको मतगणना आज रातिबाटै हुने निर्वाचन समितिले जानकारी दिएको छ । एमाले अछाममा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवमा पाँच पदाधिकारीसहित एकसय ५ जना निर्वाचित हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर