लुम्बिनीको तीन सिटमा गठबन्धन भर्सेस एमाले : गठबन्धनलाई मतदाता सुरक्षित राख्न चुनौती – Nepal Press

लुम्बिनीको तीन सिटमा गठबन्धन भर्सेस एमाले : गठबन्धनलाई मतदाता सुरक्षित राख्न चुनौती

रुपन्देही । राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले संयुक्त उम्मेदवार उठाएपछि प्रमुख प्रतिपक्षी दल एमालेलाई चुनौती थपिएको छ ।

राष्ट्रियसभामा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गरेका महिलाबाट कोमल वली, दलितबाट रामलखन चमार र अन्य समुदायका दृगनारायण पाण्डेयको पद रिक्त हुँदैछ । साेही तीन पदका लागि आगामी माघ १२ मा चुनावको मिति तोकिएको छ ।

पाण्डे ८ महिनाअघि एमाले प्रदेश सांसदबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरी राष्ट्रियसभामा गठबन्धनबाट चुनाव जितेका हुन् ।

लुम्बिनी प्रदेशमा ३ सिटमा सत्ता गठबन्धनमा रहेका ५ दल र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएको छ ।

लुम्बिनीमा ३ पदका लागि ६ जना उम्मेदवार चुनावी मैदानमा छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मात्र मतदान गर्न पाउँछन् ।

मतभारको आधारमा अन्य प्रदेशमा जस्तै लुम्बिनीमा पनि सत्तारूढ गठबन्धन बलियो देखिए पनि आफ्ना मतदाता सुरक्षित गर्न भने चुनौती रहेको गठबन्धनमै सहभागी दलका नेताहरुले स्वीकार गर्छन् ।

एकातिर सत्तारुढ गठबन्धनमा रहेका दलहरूका सबै मतदाता एकैठाउँमा रहन नसकेको अवस्थामा एमालेलाई फाइदा पुग्ने दावी एमालेको छ भने यो प्रदेशमा माओवादीका उम्मेदार नभएकाले केही मत चोर्न सकिने दाउ एमालेले बनाएको छ ।

स्थानीय तहका केही जनप्रतिनिधि एमालेले आफूतिर तान्न प्रयास गरिरहेको र तराईका केही जनप्रतिनिधिको विश्वास नभएको गठबन्धनका केही नेताहरुले शंका गरेका छन् ।

सत्तारूढ गठबन्धनले कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको छन् ।

देशभरको भागवण्डा मिलाउँदा लुम्बिनीमा माओवादी केन्द्रका उम्मेदवार परेको छैन । गठबन्धन दलले यसअघि आफ्नो भागमा परेका सांसदमा आफै उम्मेदार दिने र एमालेले जितेका उम्मेदारको स्थानमा बाँडेर गठबन्धनलाईं भाग पुराएको थियो ।

एमालेले दाङका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनारलाई एमालेले उम्मेदवार बनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता भइसकेको छ ।

मतभारको अवस्था यस्तो छ
कूल मतदाता – २९६
कूल मतभार – ७७५८
प्रदेश सांसद – ३८८८
पालिका – ३८७०
एमाले – ३३०६
सत्तारुढ गठबन्धन – ४२७८
राप्रपा – ३६
अन्य – १३८

चुनावमा प्रदेश सांसदको मतभार ४८ हो भने स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ हो । लुम्बिनीमा १०९ स्थानीय तह छन् । प्रदेशसभा सदस्य ८१ र स्थानीय तहका प्रमुख/उपप्रमुख २१५ जना मतदानमा सहभागी हुनेछन् । लुम्बिनीमा २९६ मतदाता छन् ।

लुम्बिनीमा प्रदेशतर्फको ३ हजार ८८८ र स्थानीय तहको ३ हजार ८७० गरेर कूल ७ हजार ७५८ मतभार रहेको छ ।

त्यसमध्ये लुम्बिनी प्रदेश सभामा एमालेका ३६ सांसद र स्थानीय तहका ८५ प्रमुख तथा उपप्रमुख छ । एमालेसँग सबै मतभार ३ हजार ३०६ छ । सत्तारूढ गठबन्धनमा कांग्रेसका १९ सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख ६४ जना छन् । उनीहरूको मतभार २ हजार ६४ छ ।

नेकपा माओवादी केन्द्रका १८ सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख ४१ गरेर १ हजार ६०२ मतभार छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका ४ सांसद र १० स्थानीय तहका प्रमुख उपप्रमुख गरेर ३७२ मतभार रहेको छ ।

गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाका १ सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख ५ गरी १३८, नेकपा एकीकृत समाजवादीका १ सांसद र ४ स्थानीय तहका उपप्रमुख गरी १२० मतभार छ ।

सत्तारूढ गठबन्धनभन्दा बाहिर रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का २ र स्वतन्त्र १ सांसदको मतभार १४४ छ । यसअनुसार सत्तारूढ गठबन्धनको मतभार हुन्छ । जबकि एमालेसहित अन्य पार्टीको मतभार ३ हजार ५३४ छ ।

निर्वाचनका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ ।

प्रदेश निर्वाचन कार्यालयका अधिकृत गेहेन्द्र कुँवरले निर्वाचन तयारी तीब्र रूपमा भइरहेको लोकान्तरलाई बताए । आचारसंहिता कार्यान्वयन गर्न दलहरूलाई आग्रह समेत गरे । अहिले उम्मेदवारहरू मतदातासँग परिचय गर्नमा व्यस्त छन् । गठबन्धन आफ्नो जीत सुनिश्चितजस्तै भएकोमा ढुक्क देखिएको छ ।

एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले आफ्नो मत सुरक्षित राख्दै साना दलहरूको मत पनि एमालेका उम्मेदवारलाई आउने अपेक्षासहित निर्वाचनमा लागेको बताए ।

गठबन्धन दललाई दृघनारायण पाण्डे ८ महिनाअघि एमाले प्रदेश सांसदबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरी राष्ट्रिय सभामा गठबन्धनबाट चुनाव जितेकाले यही आधारमा चुनाव जित्ने जोडघटाउ गरेर बसेको छ भने एमालेले त्यो बेला र अपहलेको परिस्थिति केही फेरिएकाले आफ्ना उम्मेदारले जित निकाल्ने दावी गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाको यो निर्वाचन एमालेविरुद्ध गठबन्धनको अन्तिम अस्त्र भनेर बोलेकाले पनि गठबन्धनमा रहेका दलहरु आफ्ना मतदाता दाँयाबाँया नहुनेमा ढुक्क रहेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर