एमाले अछाममा मतदान जारी : ओली र रावल पक्ष प्रतिष्पर्धामा – Nepal Press

एमाले अछाममा मतदान जारी : ओली र रावल पक्ष प्रतिष्पर्धामा

अछाम । सहमति नजुट्दा नेकपा (एमाले) अछाममा चुनावी प्रतिष्पर्धाबाट नयाँ कमिटी चयन गर्न मतदान भइरहेको छ ।

तीन दिन लगातार सहमतिको प्रयास भएपनि सहमति जुट्न नसक्दा अध्यक्षमा निवर्तमान सचिवालय सदस्यद्धय चन्द्र बोहरा र प्रकाश शाह प्यानलसहित चुनावी प्रतिष्पर्धा उत्रेका हुन् ।

नेकपामा विवाद भएको समयमा बोहरा ओली पक्षका जिल्ला अध्यक्ष र शाह प्रचण्ड–माधव समूहका जिल्ला उपाध्यक्ष रहेका थिए । बोहरा केपी ओली पक्षबाट र शाह रावल पक्षबाट निर्वाचनमा रहेका छन् ।

बोहरा प्यानलको उपाध्यक्षमा भीमबहादुर विष्ट, सचिवमा आदर्श साउँद, उपसचिवमा डम्बर बीसी र टोपबहादुर शाही रहेका छन् । यस्तै शाह प्यानलमा उपाध्यक्षमा बलबहादुर कुँवर, सचिवमा भीमबहादुर रावल, र उपसचिवमा प्रेम महर र प्रेम खत्री रहेका छन् ।

उपसचिवमा लिलाराज केसी नवराज साउँद र शेरबहादुर बुढाले स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका छन् । बोहरा प्यानलमा सचिव पद पूर्वमाओवादीका उम्मेद्वार रहेका छन् भने शाह प्यानलको पदाधिकारीमा एमाले पृष्ठभूमिकै उम्मेद्वार छन् । भूगोलको (स्थानीय तह), खुला, महिला, दलित, जनजाति, अपांग, अल्पसंख्यकमा समेत दुई प्यानल बनाएर चुनावी प्रतिपष्पर्धा भइरहेको छ ।

शुक्रबार उद्घाटन भएको जिल्ला अधिवेशन शनिबार बन्दसत्र सम्पन्न गरेर अध्यक्षमण्डलले सहमतिबाटै नेतृत्व चयन गर्ने छलफल भएपनि सहमति जुट्न सकेन । शाह र बोहराले एकअर्कालाई स्वीकार गर्न नमानेपछि तेश्रो विकल्पको रुपमा साविकको जिविससभापति तथा प्रदेश सदस्य कृष्णप्रसाद जैसीका नाममा समेत सहमति जुट्न सकेन । सहमति जुटाउन एमाले केन्द्रिय सदस्य झपट बोहरा र यज्ञ बोगटी, सुदूरपश्चिम प्रदेश उपाध्यक्ष कमल तिमिल्सेना, प्रदेश सदस्यहरु र जिल्लाका नेताहरु रहेका थिए ।

एमाले अछाममा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवमा पाँच पदाधिकारीसहित एकसय ५ जना निर्वाचित हुनेछन् । निर्वाचनका लागि अछामका ९१ वडाबाट छानिएका प्रतिनिधि र आयोजक गरेर सातसय ६२ जनाले मतदान गर्न पाउने छन् । सोमबार बिहान ९ बजेबाट भएको मतदान यो समाचार तयारपार्दासम्म ५७५ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ । अछाम सदरमुकाम मंगलसेनस्थित जिल्ला समन्वय समितिको हलमा मतदान जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर