उद्योगी–व्यवसायी भन्छन् : फेरि लकडाउन थाम्न सक्दैनौं – Nepal Press

उद्योगी–व्यवसायी भन्छन् : फेरि लकडाउन थाम्न सक्दैनौं

काठमाडौं । नेपालमा कोरोनाको तेस्रो लहर सुरु भएको छ । यससँगै फेरि ‘लकडाउन’ को चर्चा सुनिन थालेको छ र उद्योगी–व्यवसायीहरु आत्तिएका छन् ।

दुई वर्षअघि पहिलोपटक नेपालमा कोरोनाका कारण लकडाउन गरिएको थियो । विभिन्न नाममा यसले लामै समय निरन्तरता पायो ।

फलस्वरुप देशको उद्योग–व्यवसाय तहसनहस भयो । अब फेरि लकडाउनको सामना गर्ने क्षमता नभएको उद्योगी व्यवसायी बताउँछन् ।

हालसम्म सरकारले कोरोना रोक्न भन्दै लकडाउन, सटडाउन, निषेधाज्ञा, स्मार्ट लकडाउन लगायत बन्दाबन्दीका विभिन्न मोडल अपनाइसकेको छ ।

सबै प्रकारका बन्दाबन्दी अन्त्य भएर देशका अवयवहरु भर्खरै सुचारु हुन थालेका थिए । फेरि कोरोनाको तेस्रो प्रहारले लकडाउनको सम्भावना बढाइदिएको छ ।

सरकारले कोरोनाको तेस्रो लहरबाट बालबालिकालाई बचाउन भन्दै आगामी १५ माघसम्म विद्यालयहरु बन्द गर्ने निर्णय लिइसकेको छ । यस्तै भिडभाड हुने क्षेत्रमा उपस्थितका लागि मापदण्डहरु बनाइएका छन् । आगामी दिनमा थप बन्देजहरु लाग्न सक्ने सम्भावना देखिन्छ ।

यतिबेला व्यापारीहरु लकडाउन हुने हल्लाले चिन्तित भएका छन् । व्यापार नहुँदा पनि घरभाडा तिर्नुपर्ने र आम्दानी नहुने भएकाले लकडाउनले उनीहरुलाई ठूलो मारमा पार्ने गरेको छ । अझ, दैनिक कमाएर जिविकोपार्जन गर्नेहरु झन् ठूलो त्राशमा छन् ।

यसभन्दा पहिले भएको लकडाउन, सटडाउन र निषेधाज्ञामा अतिआवश्यक बाहेकका वस्तुहरुको ओसारपसार र उत्पादन नै बन्द भएको थियो । विश्वभर नै कोरोनाको कारणले अर्थतन्त्रमा नकारात्मक असर गरेको थियो । त्यसैले फेरि त्यही अवस्था दोहोरिने चिन्ता उत्पन्न भएको छ ।

जनस्वास्थ्यविदले मंसिर २० गते नेपालमा नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि तेस्रो लहर आउन सक्ने बताइरहेका थिए । गत बिहीबारसम्म २४ जनामा ओमिक्रोन पुष्टि भइसकेकोे छ । त्यसपछि प्रत्यक दिन कोरोना संक्रमित बढिरहेका छन् ।

साना व्यापारीहरुले कोरोनाका कारण पुनः लकडाउन हुने हल्ला चलेपछि नाफा कम राखेर सामान विक्री गरिरहेका छन् । यसभन्दा पहिले पनि पटक–पटक लकडाउन भएको र त्यो लकडाउनमा अतिआवश्यक वस्तु बाहेकका विक्री–वितरण बन्द गरिएको थियो । अब पनि त्यस्तै हुने हो कि भनेर साना व्यापारीहरु डराएका छन् ।

असनमा जुत्ता र कपडा पसल सञ्चालन गरिरहेका सुनिल लामाले लकडाउन हुने हल्लाले आफ्नो पसलमा आएका ग्राहकलाई थोरै नाफा लिएर पनि सामान विक्री गरिरहेको बताए ।

उनले भने, ‘फेरि लकडाउन हुने हल्ला चलेको छ । के हुने हो थाहा छैन । त्यसैले थोरै नाफा राखेर पनि सामान बिक्री गरिरहेका छौं ।’

त्यस्तै, कलंकीमा कपडा पसल भएका अर्का व्यापारी सुमन घिमिरे पनि फेरि लकडाउन हुन हल्लाले चिन्ता परेको बताउँछन् ।

घिमिरेले भने, ‘पहिले भएको लकडाउनमा पनि घरधनीले घरभाडा छुट दिएनन् । पहिलेको भाडा बल्ल तिरेर सकिएको छ । पुनः लकडाउन भयो भने धेरै समस्या पर्छ । मैले मेरो पसलमा भएको कपडा जसरी हुन्छ कटाउने काम गरिरहेका छु ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले फेरि लकडाउन हुने हल्लाले उद्योगीहरु के हुने हो भने भनेर चिन्तामा परेको बताए ।

अग्रवालले भने, ‘कोरोनाको तेस्रो लहर आउने अवस्था छ । सुरुमा युरोप अनि भारत हुँदै नेपालमा कोरोना आउने गरेको छ । अहिले पनि त्यही नै भएको हो । अब हुने लकडाउनमा उद्योगधन्दा बन्द गर्न हुँदैन । स्वास्थ्यको मापदण्ड पुरा गरेर सञ्चालन गर्नुपर्छ । पुनः पहिलेको जसरी नै लकडाउन भयो भने त्यसले अर्थतन्त्रमा नकारात्मक असर गर्छ । सार्वजनिक यातायात, उद्योग, बैंक र श्रमिकलाई समस्या पर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर