वैद्य भन्छन्- पुरानै व्यवस्था र संविधान स्वीकारेर माओवादी केन्द्रसँग एकता सम्भव छैन (भिडिओ) – Nepal Press

वैद्य भन्छन्- पुरानै व्यवस्था र संविधान स्वीकारेर माओवादी केन्द्रसँग एकता सम्भव छैन (भिडिओ)

समाजवादबारे प्रचण्ड र विप्लवको धारणामा समानता भएको विश्लेषण

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले माओवादी केन्द्रसँग एकताको सम्भवाना नभएको बताएका छन् । मंगलबार क्रान्तिकारी पत्रकार संघले राजधानीमा उनीसँग गरेको संवादमा पुरानै व्यवस्था र संविधान स्वीकार गरेर माओवादी केन्द्रसँग एकता नहुने प्रष्ट पारे।

‘उहाँहरू (प्रचण्ड) ले लगातार पूर्वमाओवादीसँग एकीकरण गर्ने भन्नु भएको छ,’वैद्यले भने, ‘हाम्रो पार्टीसँग एकीकरण सम्भव छैन । पुरानो व्यवस्था र संविधान स्वीकार गरेर एकताको सम्भावना छैन ।’ माओवादी केन्द्रले माओवादसमेत त्यागिसकेको र बाध्यताले अहिले फेरि माओवादी बनेको टिप्पणी उनको छ ।

‘उहाँहरू इच्छाले माओवादी हुनु भएको होइन,’ वैद्यले भने, ‘उहाँहरू माओवाद पनि छाडेर डबल नेकपा हुनु भएको हो । तर, अदालतले माओवादी केन्द्र फेरि बनाइदियो । बाध्यताले उहाँहरूले माओवाद भन्नु भएको छ ।’

उनले मोहनविक्रम सिंह, नेक्रविक्रम चन्द ‘विप्लव’ लगायतका पार्टीहरूसँग राजनीति, कार्यदिशा र विचारमा मेल नखाएकाले एकता प्रयास पनि सफल हुन नसकेको बताए । ‘सिंगै पार्टीकाबीच पार्टी सम्भव देखिएन,’वैद्यको भनाइ छ, ‘राजनीति, कार्यदिशा, विचारधारामा मेल नदेखिने कुरा आए । ध्रुवीकरणहरू हुन सक्छ । सच्चा क्रान्तिकारीहरू एक ठाउँमा आउँछन् भन्ने हामीलाई विश्वास छ ।’

वैद्यले समाजवादबारे प्रचण्ड र विप्लवको धारणामा समानता भएको समेत दावी गरे। दुवैको धारणा शान्तिपूर्ण संक्रमणको यात्रातिर रहेको उनको भनाइ छ। ‘विप्लवजीहरुले समाजवाद जनमत संग्रहबाट आउँछ भनेर भन्नु भएको छ,’वैद्यको भनाइ छ, ‘यो शान्ति पूर्णसंक्रमणको यात्रा हो । प्रचण्डजीहरूले पनि शान्तिपूर्णरूपमा समाजवाद आउँछ भन्नु भएको छ । उहाँहरूको लाइन मिल्ने दिशामा जाने देखियो ।’

आउँदो चुनावको उपयोग गर्ने वा बहिष्कार गर्ने भन्नेबारे परिस्थिति हेरेर निर्णय लिने वैद्यको भनाइ छ। ‘परिस्थितिको विश्लेषण गरेर उपयोग र बहिष्कार पनि गर्न सकिन्छ,’ उनले भने, ‘हामीले कुनै बेला बहिष्कार पनि गर्दै आएका छौं, कुनै बेला उपयोग गर्दै आएका छौं । उपयोग गर्दा फाइदा हुन्छ भन्ने लाग्यो भने चुनावमा पनि जान्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर