एकीकरणकर्ता पृथ्वीनारायण शाहको ‘तरुल सिद्धान्त’ : नेपाली भूराजनीतिको सदाबहार मन्त्र – Nepal Press
नेपाल चिन्तन

एकीकरणकर्ता पृथ्वीनारायण शाहको ‘तरुल सिद्धान्त’ : नेपाली भूराजनीतिको सदाबहार मन्त्र

दक्षिणबाट उर्लेर आएको बेलायती साम्राज्यवादबाट जोगाएर नेपालको अस्तित्व कायम राख्ने हो भने यस देशलाई एकीकृत र सुदृढ बनाउनुपर्छ भन्ने चेत नेपालको इतिहासमा सायद पहिलोचोटि पृथ्वीनारायण शाहमा आएको थियो । उनले त्यो चेतलाई ज्ञानको रूपमा मात्र सीमित राखेनन्, बरु एकीकृत नेपाल निर्माण गर्ने अभियानको नेतृत्व गरे र स्वतन्त्र नेपालको अस्तित्व सदाका लागि सुरक्षित बनाइदिए ।

नेपाल दुई ढुंगाको तरुल हो भन्ने भनाइलाई नेपालको भूराजनीतिक अस्तित्व र स्वाधिनताका हिसाबले अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण सिद्धान्त मान्न सकिन्छ । पृथ्वीनारायण शाहको त्यही सोचले नै अहिलेको नेपालको निर्माण सम्भव भएको हो । अबका दिनमा समेत नेपालले समृद्धिको यात्रा तय गर्न र राष्ट्रिय स्वाधिनतालाई सशक्त बनाउन ‘नेपाल दुई ढुंगाको तरुल’ भन्ने भूराजनीतिक सिद्धातलाई नै मूलमन्त्रको रूपमा व्याख्या गर्न र अङ्गीकार गर्न अत्यन्त आवश्यक छ । पृथ्वीनारायण शाहले सुरू गरेको नेपाल एकीकरण अभियानको भूराजनीतिक महत्व र हालको अवस्थामा उनको भूराजनीतिक सिद्धान्तले देशलाई के फाइदा हुन्छ भन्ने व्याख्या हुन जरुरी छ ।

उनी आफैंमा एउटा शासक थिए, आफ्नो शासन विस्तार गर्न चाहे होलान्, तर त्यतिका लागि मात्रै नेपाल एकीकरण अभियान चलाएर बेलायती साम्राज्यकाविरुद्ध धावा बोले होलान् भन्ने कुरामा विश्वास गर्ने कुनै आधार छैन ।

पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानका बारेमा केही नकारात्मक टिप्पणीहरूलाई निरन्तररूपमा अघि सार्ने गरिएको छ । विशेषगरी पश्चिमा इतिहासविद्का व्याख्यालाई आधार मानेर उनको मानमर्दन गर्ने काम गरिएको पाइन्छ । उनलाई मुख्यगरी दुईवटा आरोप लगाउने गरिएको छ । पहिलो, पृथ्वीनारायण शाह आफ्नो गोर्खा राज्य विस्तार गरेर ठूलो बनाइ शाह साम्राज्य चलाउन चाहन्थे, त्यसकारण मात्रै उनले नेपालको एकीकरण अभियान चलाएका हुन् । दोस्रो, नेपालका जनजातिको स्वतन्त्रतालाई कब्जा गरेर हिन्दुजातीय राज्य स्थापना गर्नका लागि स्वायत्त राज्यहरूमा हमला गरेका थिए ।

यी दुवै आरोपलाई कुनै ढंगले व्याख्या गर्न मिल्ला र केही सत्यता पनि होला, तर उनले यिनै उद्देश्यका लागि मात्रै एकीकरण गरेका थिए कि नेपाल निर्माणको सोच राखेका थिए भन्ने व्याख्या महत्वपूर्ण छ । उनी आफैंमा एउटा शासक थिए, आफ्नो शासन विस्तार गर्न चाहे होलान्, तर त्यतिका लागि मात्रै नेपाल एकीकरण अभियान चलाएर बेलायती साम्राज्यकाविरुद्ध धावा बोले होलान् भन्ने कुरामा विश्वास गर्ने कुनै आधार छैन ।

अहिले त पालिकादेखि प्रदेशसम्मको सदरमुकाम आफ्नै ठाउँमा हुनुपर्छ भनेर स-साना ‘शासक’हरू वर्षौंदेखि झगडा गरेर बसेका छन् भने त्यो बेला गोर्खालाई छाडेर काठमाडौंलाई केन्द्र बनाउन तयार हुनु र काठमाडौँको संस्कार एवं संस्कृतिलाई राष्ट्रिय संस्कृतिको रूपमा विकास गराउनुलाई नै एकीकरण सोचका रूपमा लिन सकिन्छ । हिमालय क्षेत्रको सबैभन्दा सम्पन्न र सांस्कृतिकरूपमा स्वाधीन नगर काठमाडौँलाई केन्द्र बनाएर मात्रै ‘दुई ढुंगाको तरुल’ को अवस्थामा रहेको नेपालले विस्तारवादलाई परास्त गर्न सक्छ भन्ने चेतका कारण नै त्यो गरिएको स्पष्ट छ ।

काठमाडौंका अन्तिम मल्ल राजाहरूले बेलायतीहरूसँग साँठगाँठ गरिसकेका थिए । बेलायती सेनाहरू काठमाडौं प्रवेश गर्ने वातावरण बनिसकेको थियो । सांस्कृतिक हमलाका लागि पादरीहरू भित्रिसकेका थिए । बेलायती सेनाहरू साँच्चै काठमाडौं छिरिसकेका हुन्थे भने न नेपालको एकीकरण सम्भव हुने थियो न नेपाल देश नै बाँच्ने थियो । त्यो अवस्थामा पृथ्वीनारायण शाहले काठमाडौंका राजाहरूलाई विस्थापित गरी शासन आफ्नो हातमा लिनु भूराजनीतिक हिसाबले महत्वपूर्ण देखे । काठमाडौंलाई समावेश नगरी नेपाल एकीकरण सम्भव थिएन । त्यो उनले गरे । विदेशी सबैथोकलाई विस्थापित गरिदिए । देशबाटै लखेटे । म्लेक्क्षहरूले छोएको, दिएको नखानु भने । राष्ट्रिय स्वाधिनतालाई प्राथमिकता दिए ।

त्यो राष्ट्रवादी नारा र राष्ट्रिय उत्पादनको अभियानलाई हिन्दू अतिवादको संज्ञा दिए पश्चिमाहरूले । अहिले राष्ट्रिय उत्पादनलाई जोड दिनुपर्छ भनेजस्तै हो त्यो बेला पृथ्वीनारायण शाहले विदेशीको केही नखानु भनेको । विदेशी, विशेषगरी पश्चिमा साम्राज्यवादसँग कुनै सहकार्य नगर्नु भनेको हो । नेपाललाई दुई ढुंगाको तरुलकै रूपमा हेरिनुपर्छ र पश्चिमा सामिप्यताले देशको सार्वभौमिक र सांस्कृतिक अस्तित्व संकटमा पर्छ भन्ने दिर्घकालिन सोचका आधारमा ती कुरा कुराहरू भएका थिए । अहिले बढ्दै गरेका घटनाक्रमले ती कुराहरूलाई झनै पुनर्पुष्टि गरेका छन् ।

पृथ्वीनारायण शाह नेपाल एकीकरण अभियान चलाएर नेपाली जनता र देशलाई इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठुलो गुण लगाएका व्यक्तित्व हुन् । उनले एकीकरण अभियान नचलाएका भए अहिलेको नेपाल रहने थिएन । साना-साना राज्यमा विभाजित नेपाली भूभागलाई बेलायती साम्राज्यवादले कब्जा जमाइसकेको हुने थियो र हाम्रा विभिन्न भूभागहरू अहिलेका भारतीय प्रान्तहरूका कुनै जिल्ला भएर रहनुपर्ने थियो ।

पृथ्वीनारायण शाहले एकीकरण अभियान नचलाएका भए साना-साना स्वाधीन राज्यहरू रहने थिए र ती सांस्कृतिक पहिचानसहितका झन् स्वतन्त्र हुने थिए भन्ने भनाइको पुष्टी हुने कुनै आधार छैन । दुई ढुंगाको तरुलवाला भू-राजनीतिले ती सबै साना राज्यहरूलाई दपेट्ने थियो र एक-एक गरी स्वतन्त्र अस्तित्व समाप्त भएर जाने थिए । एकीकरणमा सामेल गराउन नसकिएका हिमालय क्षेत्रका धेरै भूभागहरू अहिले भारतीय जिल्लाहरूमा सिमित भएका छन् । कुनैले पनि आफ्नो अस्तित्व जोगाउन सकेनन् । नेपालका साना राज्यहरूको हालत त्यही नै हुने थियो । पृथ्वीनारायणको अभियान अघिदेखि नै कतिपय साना राज्य, विशेषगरी काठमाडौंमा वेलायती पहुँच बढिसकेको थियो ।

अहिलेको अवस्थामा देशलाई निकास दिने भू-राजनीतिक सुझाव त्यो बेला पृथ्वीनारायण शाहले सोच बसाएको दुई ढुंगाको तरुलको सिद्धान्त नै हो । जसले जे भने पनि पृथ्वीनारायण शाहले त्यही सिद्धान्तको आधारमा एकीकरण अभियानलाई तिव्रता दिएका हुन् । अहिलेको विषम भू-राजनीतिक सन्दर्भमा त्यही दुई ढुंगाको तरुल सिद्धान्तले देशलाई निकास दिन र भविष्यमा थप शक्ति आर्जन गर्न सक्ने बनाउँछ ।

एकीकरणका बारेमा धेरै बहसहरू भए तर पृथ्वीनारायण शाहको नेपाल दुई ढुंगाको तरुल भन्ने भू-राजनीतिक सिद्धान्तको बारेमा धेरै बहस भएको पाइँदैन । बेलायती साम्राज्यवादी विस्तारसँगै नेपालको अस्तित्व नासिन्छ भन्ने सोचबाट नै एकीकरणको अभियान थालिएको हो भन्नुमा कुनै अत्युक्ति हुनेछैन । नेपाल एकीकरणको यो सत्यतालाई नेपाल देश र नेपाली जनताले गौरव गर्नुपर्छ र पृथ्वीनारायण शाहको त्यो अतुलनीय नेतृत्व र अदम्य साहसलाई राष्ट्र निर्माणको आधारका रूपमा स्थापित गर्नु नेपालको हितमा छ । नेपाल एकीकरणको अभियान इतिहासको एउटा घटनामात्रै होइन, नेपालको स्थायित्व र स्वाधिनताको लागि अपरिहार्य एउटा स्तम्भ हो ।

इतिहासले वर्तमानलाई सुनिश्चित गरेको हुन्छ भने भविष्यको बाटो देखाएको हुन्छ । पृथ्वीनारायण शाहको अतुलनीय योगदानलाई कमजोर बनाउनु अथवा तोडमोड गर्नुमा पश्चिमा सोधकर्ताहरूको ठूलो लगानी छ । नेपालीहरू त्यस्ता लहडबाजीबाट उद्देलित हुन आवश्यक छैन । पृथ्वीनारायण शाह एउटा सामन्ती राजा थिए । उनले सामन्तवादी राजकाज चलाएका थिए । तर, नेपाल एकीकरणको अभियान विश्व साम्राज्यवाद, त्यसमा पनि बेलायती उपनिवेशका विरुद्धमा एउटा महान युद्द थियो । त्यसकारण एकीकरणको हिसाबले उनी नेपाल राष्ट्रका निर्माता नै थिए र बेलायती साम्राज्यबाद विरुद्दको लडाइँमा एउटा स्वाभिमानी र प्रगतिशील योद्दा नै थिए ।

अहिलेको अवस्थामा देशलाई निकास दिने भू-राजनीतिक सुझाव त्यो बेला पृथ्वीनारायण शाहले सोच बसाएको दुई ढुंगाको तरुलको सिद्धान्त नै हो । जसले जे भने पनि पृथ्वीनारायण शाहले त्यही सिद्धान्तको आधारमा एकीकरण अभियानलाई तिव्रता दिएका हुन् । अहिलेको विषम भू-राजनीतिक सन्दर्भमा त्यही दुई ढुंगाको तरुल सिद्धान्तले देशलाई निकास दिन र भविष्यमा थप शक्ति आर्जन गर्न सक्ने बनाउँछ ।

यो सिद्धान्तले नेपाललाई अहिले केही पाठ सिकाउन सक्छ । पहिलो, नेपालले कुनै पनि वैदेशिक शक्तिको पक्षपोषण गर्नु हुँदैन । अहिलेको विश्व पृथ्वीनारायण शाहको पालाको जस्तै पश्चिमा साम्राज्यवाद र पूर्वीय राष्ट्रहरू बीचको टकरावमा अघि बढेको छ । नेपाल त्यो टकरावको बीचमा छ । साम्राज्यवाद नेपाललाई आफ्नो गोटी बनाउन चाहन्छ । नेपाललाई आफ्नो ‘बफर जोन’ बनाउन चाहन्छ । नेपाल कुनै पनि तिकडममा अल्मलिनु हुँदैन । भू-राजनीतिक सन्तुलन मिलाउन नसकेको खण्डमा पृथ्वीनारायण शाहले भने झैँ देशको अस्तित्व संकटमा पर्दै जानेछ ।

पृथ्वीनारायण शाहको एकीकरण अभियानलाई सैद्धान्तिक नेतृत्व दिने दुई ढुंगाको तरुल सिद्धान्तको महत्व नेपालको भूराजनीतिमा अहिले झन् बढेर गएको छ । यसलाई एउटा दिगो सिद्धान्तको रूपमा मौलिक ढंगले व्याख्या गर्न सके नेपालले पाउँदै गरेको भूराजनीतिक दु:ख कम गर्न मद्धत मिल्ने थियो ।

दोश्रो, विदेश आश्रित विकासे सहयोग, विकासे अवधारणा, पैसा, संस्कृति, अर्थतन्त्र आदिमा भर परेर देशको विकास र समृद्धि हुँदैन । पृथ्वीनारायण शाहले ‘म्लेक्षले दिएको नखानु, भर नपर्नु’ भनेको त्यही नै थियो । आफ्नो समृद्धिको बाटो प्रष्टसँग तयार पारेर मात्रै विदेशी सहयोगको प्रयोग गर्न सके कम्तीमा आफ्नोपन जोगिने थियो ।

तेस्रो, नेपाल वास्तवमै दुई ढुंगाबीचको तरुल हो । तर, अहिले नेपाल देश भारत-वेष्ठित अवस्थाबाट जुग्रिएको छ । यो अवस्थामा सन्तुलन कायम गर्न उत्तरतिर प्रचुर मात्रामा भौतिक संरचनाहरू निर्माण गरी हिमालय उत्तरको सञ्जालमा जोडिनुपर्छ । यो राष्ट्रिय हितमा हुन्छ । अन्यथा नेपाल एउटै ढुंगाले च्यापिएको तरुल बन्नेछ ।

चौथो, पृथ्वीनारायण शाहको एकीकरण अभियानले जोगाएको नेपाल एकमात्र स्वतन्त्र मुख्य हिमाली देश हो । नेपालले हिमालय क्षेत्रको स्वाधिनताको कुरालाई उठाउन अन्तर्राष्ट्रिय मञ्चमा नेतृत्व दिनुपर्छ । नयाँ हिमालयन स्वाधिनताको कुरालाई अघि सार्नुपर्छ ।

पृथ्वीनारायण शाहको एकीकरण अभियानलाई सैद्धान्तिक नेतृत्व दिने दुई ढुंगाको तरुल सिद्धान्तको महत्व नेपालको भूराजनीतिमा अहिले झन् बढेर गएको छ । यसलाई एउटा दिगो सिद्धान्तको रूपमा मौलिक ढंगले व्याख्या गर्न सके नेपालले पाउँदै गरेको भूराजनीतिक दु:ख कम गर्न मद्धत मिल्ने थियो । देशलाई अहिले पनि दिशानिर्देश गर्न क्षमता राख्ने पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती नेपालको महत्वपूर्ण दिन हो ।

(डा.पौडेल अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयमा भूराजनीति विषयमा अध्यापन गर्छन्)
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *