श्रममन्त्री श्रेष्ठको पहलमा इजरायल जाने कामदारको हवाई भाडा प्रतिव्यक्ति ८० हजार घट्यो – Nepal Press

श्रममन्त्री श्रेष्ठको पहलमा इजरायल जाने कामदारको हवाई भाडा प्रतिव्यक्ति ८० हजार घट्यो

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा इजरायलमा जाने कामदारले ८० हजार भन्दा कम हवाई भाडादर तिर्नुपर्ने भएको छ । कामदार लैजान प्रतिव्यक्ति ८० हजारभन्दा कम भाडादर प्रस्ताव गरेपछि एयर अरेबिया छनोट भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो । एयर अरेबियाले ५९ हजार ९ सय ९० रुपैयाँमा नेपाली कामदारलाई इजरायल लैजान तयार भएको मन्त्री श्रेष्ठले जानकारी दिए ।

रोजगारीमा जान अन्तिम छनौटमा एक हजार एक सय ७५ कामदार रहेका छन् । अब उनीहरूको नौ करोड ४० लाख रुपैयाँ लागत घट्ने भएको मन्त्री श्रेष्ठले नेपाल प्रेससँग बताए । यसअघि वैदेशिक रोजगार विभागले इजरायल रोजगारीमा जाने कामदारबाट हवाई भाडा, बिमा, स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम, पिसिआरसहित १ लाख ६५ हजार सात सय तोकेको थियो । जसमध्ये विभागले एक लाख ४० हजार रुपैयाँ हवाई भाडाबापत मात्रै खर्च तोकेको थियो ।

विभागले नेपाल एयरलाइन्समार्फत कामदारलाई इजरायल पठाउन उक्त भाडादर निर्धारण गरेको हो । तर, श्रममन्त्री श्रेष्ठले हवाई भाडादर अत्यधिक भएको भन्दै नेपाल एयरलाइन्सको विकल्प खोज्न निर्देशन दिएपछि विभागले टेन्डर आव्हान गरेको थियो । मन्त्री श्रेष्ठले नेपाल प्रेससँग भने, ‘नेपाल एयरलाइन्ससँग घटाउनका लागि आग्रह गरेपछि एक लाख २० हजारसम्ममा सहमत भएको थियो । तर, अन्य एयरलाइन्सले त्यसभन्दा कममा लैजान्छौं भनेपछि हामी टेण्डर आव्हान गर्न पुगको हौ ।’

वैदेशिक रोजगार विभागले पुष ९ गते सूचना प्रकाशित गर्दै एयरलाइन्स कम्पनीसँग प्रस्ताव माग गरेपछि आठ वटा एयरलाइन्स कम्पनीले आवेदन दिएका थिए । जसमध्ये सबैभन्दा कम मूल्य सी लिंक होलिडेज कम्पनीबाट प्रस्ताव गरेपछि एयर अरेबिया छनौट भएको हो । इजरायलस्थित पपुलेसन इमिग्रेसन र बोर्डर अथोरिटी (पिआइबिए)ले एक हजार एक सय ७५ जना कामदारलाई छनोट गरेको छ ।

वैदेशिक रोजगार विभागले माघ ५ गते पहिलो चरणमा एक सय २५ जना नेपाली युवालाई इजरायल उडाउने तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *