दमकल सेवामा अनुदार चितवनका स्थानीय तह – Nepal Press

दमकल सेवामा अनुदार चितवनका स्थानीय तह

चितवन । न्यून संख्यामा रहेका दमकल (वारुण यन्त्र) सेवालाई विस्तार गर्न चितवनका स्थानीय तहले चासो देखाएका छैनन् । दमकल तथा जनशक्ति थप गर्ने वा कार्यरत जनशक्तिलाई थप दक्ष बनाउनेसम्म बजेट, नीति तथा कार्यक्रममा समेट्न आनकानी गरेको देखिन्छ ।

अनुदान, उपहारकै दमकलबाहेक अन्य दमकल ल्याउन बजेट व्यवस्थापन गर्न चुकेका छन्, यहाँका स्थानीय तह । दमकल चालकलाई कार्यालयका अन्य गाडी चलाउने जिम्मेवारी दिएर आकस्मिक सेवालाई प्रत्यक्ष अवरोध गर्दै आएका छन् । चितवनका ७ स्थानीय तहमध्ये ३ वटामा मात्रै ५ दमकल छन् । भरतपुर महानगरमा २, माडीमा १ दमकल सञ्चालनमा छन् । पूर्वीचितवनमा ४ नगरपालिकाले संयुक्त रुपमा २ दमकल सञ्चालन गरेका छन् ।

चौविसकोठीस्थित अस्पताल रोड छउमै रहेको छहारी होटलमा २०७५ असोजमा विद्युत् सर्ट हुँदा लाखौँको क्षति भयो । छहारी होटलका सञ्चालक भीमप्रसाद कँडेलका अनुसार दमकल आउन करिब २० मिनेट लाग्यो । ‘छोटो दूरीमा समेत बेलैमा दमकल आउन मुस्किल पर्छ’, उनी भन्छन्, ‘ठाउँ ठाउँमा दमकल भैदिए यतिधेरै नोक्सानी बेहोर्नुपर्थेन ।’

भरतपुर महानगरको दमकल स्टेशनबाट करिब २ किमि दूरीमा पर्छ । आगलागीबाट करिब ६० लाख नोक्सानी पुग्यो । डेढ महिनापछि उनले होटललाई सञ्चालनमा ल्याएका थिए । दमकल स्टेशनबाट करिब ६ किमि दूरीमा रहेको तोरीखेतको रोयल वुड पार्केट इण्डष्ट्रिजमा आगलागी हुँदा ५ करोड बराबरको क्षति भयो ।

२०७६ माघ २५ गते बिहानै आगलागी भएको थियो । उनी भन्छन्, ‘आगो नरोकिएपछि कावासोती, माडीदेखि पनि दमकल आए ।’ उनले करिब ७ महिनापछि ऋण खोजेर फर्निचर उद्योगलाई चलाए ।

भरतपुर महानगर वारुण यन्त्र इकाई प्रमुख देवेन्द्रराज रेग्मी बढ्दो शहरीकरणसँगै विपद्का जोखिम पनि बढेको बताउँछन् । ‘ट्राफिक जाम र कम संख्यामा रहेका दमकल घटनास्थलमा पुग्न केही समय लाग्नु स्वभाविक हो’, उनी भन्छन्, ‘जति नजिक दमकल स्टेशन हुन्छन्, त्यतिनै छिटो पुगेर आगो निभाउन सकिनेछ ।’

उनका अनुसार महानगरका दमकलले बेलाबखत करिब ३० किमि पर पुगेर सेवा दिनुपर्ने हुन्छ । आगलागीको सुरुवाती अवस्थामै पुग्दा धेरै नियन्त्रणमा ल्याउन सकिन्छ । आगोका ४ प्रकारमध्ये सुरुवाती अवस्था करिब ७ मिनेटसम्म, बढ्दो अवस्था करिब ७ देखि १५ मिनेटसम्म रहन्छ ।

त्यसपछि चरम अवस्था र जलिसकेपछि आगो घट्दो क्रममा पुग्छ । ‘अधिकांश टाढाका ठाउँमा दमकल आगोको चरम अवस्थामा पुग्छन्’, उनी भन्छन्, ‘त्यो क्षति रोक्न नसकेपनि अन्यत्र फैलिनबाट जोगाएर चित्त बुझाउनुपर्छ ।’

उनले हरेक वडा कार्यालहरुमा पानी रिजर्भ गरेर राख्ने ट्यांकीको व्यवस्थापन गर्नसके दमकलमा पानी भर्न सहज हुने बताउँछन् । ‘आगो निभाउँदा करिब दमकलको पानी आधाघण्टामा सकिन्छ, फेरि भर्नुपर्छ’, उनी भन्छन्, ‘आसपासबाटै सहजै पानी भर्न सके छिटो आगो निभाउन सकिन्छ ।’ दमकलमा पानी भर्न करिब ७ मिनेट लाग्छ ।

दमकल कहाँ छन् ?

तत्कालीन भरतपुर नगरपालिकाले २०५४ मा र महानगरले आन्तरिक स्रोतबाट २०७५ फागुनमा नयाँ दमकल किनेको थिए । चितवनको पहिलो दमकल २ सय लिटर क्षमताको थियो । जुन २०४८ चैतमा नारायणगढ जेसीजले उपलब्ध गराएको हो । ११ सय लिटर क्षमताको ट्यांकी बनाएर चलाइएको पहिलो दमकल २०६० सालसम्म चल्यो । रोटरी क्लब अफ ललितपुर मिड टाउनले २०६९ मा जापानी ब्राण्डको ४ हजार लिटर क्षमताको दमकल उपहार दिएको थियो । झण्डै ५ पछि स्पेयर्स् पार्टसको अभावमा बिग्रेर थन्केको छ । उपहारका २ वटै दमकल अहिले जीर्ण भएर थन्किएका छन् ।

महानगरमा २४ वर्ष र ३ वर्ष पुराना दुई दमकलले सेवा दिँदै आएका छन् । दुवैको क्षमता समान ४५ सय लिटर पानी बोक्ने छ । महानगरको दमकल स्टेशन महानगर कार्यालय अतिव्यस्त सडक भरतपुर उकालोमा राखिएको छ । ०५६–५२१०८३ महानगरको दमकल सेवाको नम्बर हो ।

माडीमा २०७३ भदौमा दमकल सेवा पुर्याइएको थियो । भारत सरकारले उपलब्ध गराएका १७ दमकलमध्ये एउटा माडीलाई दिइएको थियो । माडीको दमकल स्टेशन बसन्तपुर बजारको पुरानो नगरपालिका भवनमा छ ।

माडीको दमकल सेवाका लागि ९८४०४१९६७५ मोबाइल नम्बर छुट्टाइएको छ । पूर्वीचितवनका ४ नगरपालिकाहरु रत्ननगर, खैरहनी, राप्ती र कालिका मिलेर २०७६ बैशाखमा पहिलो दमकल किनेका थिए । लगत्तै भदौमा बागमती प्रदेश सरकारले एउटा दमकल अनुदानमा खैरहनी नगरपालिकालाई दिएको छ । ४ नगरपालिकाले संयुक्त रुपमा दमकल स्टेशन खैरहनीको पुरानो पर्सा (पुरानो खैरहनी नगरपालिका भवन) मा बनाइएको छ । पूर्वीचितवनको दमकल सेवा नम्बर ०५६–५८२५५५ हो । इच्छाकामना गाउँपालिकाको आफ्नै दमकल सेवा छैन ।

दमकल बन्यो सकारी गाडी

रत्ननगर नगरपालिकाले २०७१ मा पाएको दमकल अहिले प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीमा रुपान्तरण भएको छ । रोटरी इन्टरनेशनलको पहलमा बेलायतको डिभोन एन्ड समरेस्ट फायर रिसोर्स सर्भिसले उपहार दिएको थियो । ५ सय लिटर पानी बोक्ने क्षमताको सो दमकललाई आवश्यक रासायनिक पदार्थ र दक्ष जनशक्ति नभएको भन्दै प्रयोगमा आउन सकेको थिएन ।

२०७४ पछि जनप्रतिनिधि आएलगत्तै सवारीसाधन अपुग भएपछि सोही दमकललाई परिवर्तन गरेर गाडी बनाइएको छ । ‘प्रयोगविहीन दमकललाई दाताकै आग्रहमा सवारी साधन बनाइएको हो’, रत्ननगरका मेयर नारायण वनले भने, ‘दमकलका रुपमा काम गर्नै नसक्ने बनेपछि गाडीका रुपमा चलायौँ ।’

आगलागी नियन्त्रणको तथ्यांक

चितवनका दमकलले यही वर्ष ८४ ठाउँमा पुगेर आगो निभएका छन् । २०७८ मा भरतपुर महानगरमा ३३, खैरहनीमा ४८ र माडीमा ३ वटा आगलागीका घटना भएका छन् । भरतपुर महानगरका दमकलले छिमेकी जिल्लाका स्थानीय तह गैडाकोट, देवचुलीसम्म पुगेर आगो नियन्त्रणको काम गर्दै आएका छन् । महानगरको वारुण यन्त्र इकाईको तथ्यांक केलाउँदा सबैभन्दा धेरै परालका टौवामा र विद्युत सर्टका कारण हुने आगलागीका घटनाहरु धेरै छन् । २०७२ मा ७२ मध्ये ३४ घटनामा दमकल बाहिरी क्षेत्रसम्म पुग्नुपर्यो ।

२०७३ मा ६२ मध्ये २६, २०७४ मा ५८ मध्ये २५, २०७५ मा ७५ मध्ये ३१ बाहिरी क्षेत्रका आगलागी घटनाहरु थिए । २०७६ मा ४९ मध्ये १७, २०७७ मा ३९ मध्ये ७ र २०७८ मा ३३ मध्ये १ बाहरी क्षेत्रका घटनाहरु थिए । ‘अन्यपालिकामा पनि दमकल भैदिएको भए हामी अन्यत्र जानु पर्थेन, हामीलाई आवश्यक पर्दा पनि सहयोग मिल्थ्यो’, भरतपुर महानगर मेयर रेनु दाहालले भनिन्, ‘महानगरका दमकलबाट छिमेकी स्थानीय तह, जिल्लासम्म सेवा दिनुपर्दा कहिलेकाँही समस्या पर्छ ।’

खैरहनीमा रहेका समान ४ हजार लिटर क्षमताका २ दमकलले पूर्वीचितवनका ४ नगरपालिका र आवश्यक पर्दा अन्यत्र पनि पुग्नुपर्छ । खैरहनीका दमकलबाट २०७८ मा ४८, २०७७ मा ५३ र २०७६ मा ३५ ठाउँमा आगो नियन्त्रण गरिएको उल्लेख छ । नवलपुर र भरतपुरका आगलागीका घटना नियन्त्रणमा समेत आउनुपर्छ । माडी दमकलले २०७४ मा ४, २०७६ मा ३, २०७७ मा ५ र २०७८ मा ३ आगलागीका घटनामा नियन्त्रण गर्न पुगेको थियो ।

दमकल सेवा ओझेलमा

चितवनका स्थानीय तहले दमकल सेवा व्यवस्थित गर्न बजेट व्यवस्थापनमा ध्यान दिएका छैनन् । तत्कालीन भरतपुर नगरमा २०४९ मा एउटा दमकल चलाउन १० जना कर्मचारी छुट्टाइएको थियो । अहिले महानगरमा स्तरोन्नतीहुँदासमेत १४ जनामात्रै कर्मचारी छन् । जसमध्ये २–३ जनालाई महानगरले अन्य गाडी चलाउने लगायतका जिम्मेवारी दिएर व्यस्त बनाएको छ । खैरहनीमा २ दमकल चलाउन ४ जना छन् । माडीमा १ दमकलका लागि २ जना छन् ।

‘दिनरात हाइअर्लटमा बस्नुपर्छ, कर्मचारी निकै कम छौँ’, माडीका फायर फाइटर धनप्रसाद गौतम भन्छन्, ‘कम्तिमा ४ जना हुँदा आलोपालोमा डियुटी मिलाउन सहज हुन्थ्यो ।’

खैरहनीमा पनि एक दमकलका लागि एक चालक र एक फायर फाइटरमात्रै उपलब्ध छन् । ‘दक्षजनशक्ति थप्न सके आगो नियन्त्रणमा सहजता आउँथ्यो’, खैरहनी दमकलका फिल्ड इञ्चार्ज खेमनारायण श्रेष्ठले भने, ‘४ नगरपालिकाको संयुक्त काम भएकाले जनशक्ति पनि बढाउनुपर्छ ।’

भरतपुर महानगर वारुण यन्त्र इकाई प्रमुख देवेन्द्रराज रेग्मी दमकल स्टेशन र दमकल संख्या बढाउन सके धेरै क्षती जोगाउन सकिने तर्क गर्छन् । ‘२८ हजार जनसंख्या बराबर १ वा ५ किमि बराबर १ दमकल व्यवस्था गर्र्नुपर्ने देखिन्छ’, उनी भन्छन, ‘जति धेरै लामो दूरी कभरेज गर्नुपर्छ, त्यतिनै आगलागी नियन्त्रणमा चूनौती हुन्छ ।’ उनले पश्चिम चितवनमा कम्तिमा एउटा दमकल स्टेशन राख्न सकिए सेवा प्रभावमनरी हुने बताउँछन् ।

हरेक स्थानीय तहले कम्तिमा २ ठाउँमा दमकल स्टेशन बनाएर सेवा दिए क्षती न्यूनिकरण हुने बताउँछन् । वितावरण तथा विपद् व्यवस्थापनका लागि वर्षेनी १२ करोडसम्म निकासा गर्दै आएको महानगरले दमकल सेवाकै शिर्षकमा बजेट बनाएको छैन । माडी नगरपालिकाले बारुण यन्त्र सञ्चालनलाई उच्चा प्राथमिकता दिने भन्दै २०७५–७६ को नीति तथा कार्यक्रममा लेखेको भएपनि जनशक्ति पनि व्यवस्थापन गर्न चासो दिएको छैन ।

खैरहनीले २०७८–७९ मा वारुणयन्त्र सञ्चालन तथा व्यवस्थापनका लागि भन्दै १२ लाख बिनियोजन गरेको छ । ‘४ नगरपालिकाकै जनप्रतिनिधिको प्रतिनिधित्व रहेको समिति मार्फत पूर्वीचितवनमा दमकल सेवा सञ्चालनमा छ’, खैरहनीका मेयर लालमणि चौधरीले भने, ‘हरेक नगरपालिकाबाट ४ लाख वर्सेनि जम्मा हुन्छ, यसपालि खैरहनीले ७ लाख जम्मा गरिदिएको छ ।’ खैरहनी नगरपालिका मातहतको दमकल सेवा सञ्च्चालन खाता छ । जसमा पूर्वीचितवनका ४ नगरपालिकाले वर्षेनी दमकलका लागि बजेट पठाउँछन् ।

विपद् नक्सांकनको प्रयास

भरतपुर महानगरले शहरी क्षेत्र पर्ने २ र १० नम्बर वडामा विपद् नक्सांकन गरेको छ । महानगर र युएनडिपीको सहकार्यमा २२ महिना चलेको शहरी विपद् पूर्वतयारी परियोजना मार्फत विपद्का जोखिम न्यूनिकरण तथा पूर्वतयारीका काम भएका छन् । महानगर स्तरिय आपतकालिन कार्यसञ्चालन केन्द्रका सम्पर्क व्यक्ति बालकृष्ण थपलियाले विपद् नक्सांकनले विपद् पहिचान गर्न र योजना बनाउन सघाएको बताउँछन् । उनले अन्य वडामा समेत विपद् नक्सांकन गर्ने लक्ष्य लिइएको बताए ।

शहरी विपद् परियोजना महानगर प्राविधिक अधिकृत अञ्जना शर्माले २ र १० मा आगलागि नियन्त्रण (१७९), प्राथमिक उपचार, खोज तथा उद्धार साथै समुदाय विपद् प्रतिकार्यका लागि जम्मा ४०१ जना तालिम प्राप्त स्वयंसेवक उत्पादन भएको बताइन् । यस्तै २४४ जनाले एक दिने आगलागि नियन्त्रण तालिम लिएका छन् ।

आँपटारी क्षेत्रमा आगलागि जोखिम न्यूनीकरण तथा पूर्वतयारी गर्न पोर्टेवल बुस्टर पप्प तथा पानी टंकी व्यवस्थापन काय गरिँदैछ । आगलागि पुर्वतयारीका लागि वडा नं. १० को वडा कार्यलय देखि अस्पताल रोड सम्म फायर हाईडे«ण्ट जडान गरिएको छ । जसबाट करिब १ सय ७५ घरधुरी लाभान्वित हुने उनले बताइन् । ‘आगलाागी भैहालेमा आकस्मिक रुपमा पानीको फोहरा दिएर निभाउन फायर हाइडे«ण्ट उपयोगी हुनेछन्’, सम्पर्क व्यक्ति थपलियाले भने ।

ढुक्क छन् जनप्रतिनिधि

दमकल संख्या र स्टेशन तत्काल थप्नुनपर्ने तर्क सुनाउँछन् जनप्रतिनिधिहरु । माडीका मेयर ठाकुरप्रसाद ढकाल अहिले तत्कालै दमकल किन्ने योजना नरहेको बताउँछन् । ‘अहिले एउटा दमकल छ, यतिले अहिले पुगेकै छ’, उनी भन्छन्, ‘बरु आगो नियन्त्रणबारे जनचेतना र आगलागीका कारण घटाउनेतर्फ लक्षित कार्यक्रममा जोड दिन्छौँ ।’

उनका अनुसार माडीका १ हजार ५ घरलाई खरको छानामुक्त बनाएर टिन हालिएको छ । जसमध्ये २ सय १८ वटा घर तीन कोठे पक्की घरनै बनाइएको छ । यसपाली पनि ७ सय ७० घरलाई खरको छानामुक्त बनाइने बताए ।

रत्ननगरका मेयर नारायण वन पूर्वीचितवन भविष्यमा महानगर बन्न सक्ने भन्दै अहिल्यै ठाउँ–ठाउँमा दमकल राख्नुनपर्ने तर्क गर्छन् । ‘अहिले २ दमकल छन्, महानगरनै बनाउने अवधारणा चलिरहेको छ, भरतपुरले जगतपुर मेघौली पुग्न हुन्छ भने हाम्रो किन अर्को ठाउँमा राख्नुप¥यो’, उनी भन्छन्, ‘जनशक्ति पनि धेरै लाग्छ, खर्चिलो हुन्छ, संयुक्त रुपमा गरेर खर्च जोगाइएको छ ।’

खैरहनीका मेयर लालमणी चौधरीले संघ वा प्रदेश सरकारले स्रोत साधन जुटाइदिए दमकल सेवा थप्न सकिने बताए । ‘तत्काल दमकल स्टेशन थप्नेबारे सोच छैन, यो सेवा निःशुल्क भएपनि खर्चिलो छ”, उनले भने, ‘तत्कालको आवश्यकता पुरा भएकै छ ।’ भरतपुरबाट दमकल आउँदा आधा घण्टादेखि डेढ घण्टासम्म लाग्ने भएकालेनै चार नगरपालिका मिलेर संयुक्त दमकल सेवा सञ्चालन गरिएको बताए ।

भरतपुर महानगरका मेयर रेनु दाहालले भारतीय दुतावासले २ दमकल सहयोग गर्ने बताइन् । ‘३ वर्ष यता अनुदानको दमकलका लागि पहल भैरहेको छ, आँफैले खरिद गर्ने योजना पनि क्यान्सिल गरेर बस्यौँ’, उनले भनिन्, “यसपालि पक्का आउनेछ, सकारात्मक पहल भैरहेका छन् ।’

उनका अनुसार नयाँ दमकल ल्याइएपछि भरतपुर २० वा २५ नम्बर वडामा दमकल स्टेशन बनाइने छ । ‘महानगरको दमकलकै भरमा कैयन आगलागी घटना नियन्त्रण गरेका छौँ’, उनले भनिन्, ‘दमकल सेवालाई अझ प्रभावकारी बनाउनेबारे छलफल भैरहेकै छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर