कमल थापाको उत्तेजना ! गीता छोएर खाएको कसम तोड्ने बाटोमा – Nepal Press
टिप्पणी

कमल थापाको उत्तेजना ! गीता छोएर खाएको कसम तोड्ने बाटोमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा व्यहोरेको अनपेक्षित पराजयले विक्षिप्त बनेका कमल थापा पार्टी विभाजनको औपचारिक कसरतमा लागेका छन् । पृथ्वीजयन्तीको अवसर पारेर पुस २७ गते आफ्नै नेतृत्वमा नयाँ अभियान घोषणा गर्ने उनको तयारी छ ।

पार्टीमा लामो समय आफैंले ओत दिएका नेता राजेन्द्र लिङ्देनबाट चुनावमा मात खाएदेखि थापा राम्रो सुरतालमा छैनन् । हार निश्चित भएपछि चुनावी परिणाम नआउँदै उनले सामाजिक सञ्जालमार्फत सिधै निर्मल निवासलाई आरोपित गरेका थिए । निर्मल निवासले नांगो हस्तक्षेप गरेर आफूलाई चुनाव हराएको भन्दै उनको रोइलो अहिले पनि रोकिएको छैन । यहीं बहानामा थापाले चाँडै नै भेष बदलेर नवगणतन्त्रवादीमा रुपान्तरित हुने टड्कारो सम्भावना छ ।

थापाले तत्काल राजतन्त्रको एजेन्डा त्यागेको घोषणा भने गर्ने छैनन् । अहिले हिन्दू राज्यको एजेन्डालाई काखी च्याप्दै पार्टी विभाजनको माहोल बनाउने उनको रणनीति छ । यसैका निम्ति उनले राष्ट्रिय एकता दिवसको अवसर पारेर अभियान सुरु गर्न थालेका हुन् । राप्रपाको आधिकारिक एजेन्डा नै हिन्दूराज्य रहेको अवस्थामा संस्थापनको भन्दा बेग्लै आफ्नै नेतृत्वमा अभियान सुरु गर्नुको तात्पर्य पार्टीलाई विभाजनतर्फ लैजानेभन्दा अर्को देखिँदैन ।

यिनै कमल थापा हुन्, जसले आजभन्दा करिब दुई वर्षअगाडि मात्रै गीता समातेर ‘अब आइन्दा आफूले कहिल्यै पार्टी नफुटाउने’ किरिया खाएका थिए । २०७६ साल फागुन २८ गते तत्कालीन राप्रपा नेपाल र राप्रपा संयुक्तबीच पार्टी एकीकरण समारोहमा भाषण गर्ने क्रममा उनले राप्रपामा कहिल्यै विभाजन नआउने दाबी गरेका थिए ।

सानो डायरी आकारको गीता पुस्तिका देखाउँदै थापाले भनेका थिए, ‘तपार्ईंहरुलाई विश्वास लागेन, मैले गीता ल्याएको छु । हामी हिन्दू धर्म चाहने सनातन धर्मका पक्षपातीहरु हौं । यो गीतालाई हातमा राखेर भन्छु- म भविष्यमा राप्रपालाई कहिल्यै पनि फुट्न दिने छैन ।’

थापाले खाएको कसम दुई वर्ष पनि नटिक्लाजस्तो भएको छ । त्यसो त उनी अहिले पनि पार्टी नफुटाउने भनिरहेकै छन् । हालै योहो टेलिभिजनका जिवराम भण्डारीलाई दिएको अन्तरवार्तामा उनले फेरि भने, ‘म राप्रपालाई कहिल्यै पनि फुटाउँदिन ।’

थापालाई पार्टी विभाजनमा राप्रपाका धेरै नेताहरुले साथ दिने अवस्था देखिँदैन । थापाले २७ गते घोषणा गर्ने कार्यक्रममा उनको प्यानलबाट चुनाव जितेर पार्टी नेतृत्वमा पुगेकाहरु अनुपस्थित रहने भएका छन् । थापा स्वयम्ले आफ्नो पक्षबाट पार्टी पदाधिकारी र केन्द्रीय समितिमा निर्वाचितहरुलाई अभियान घोषणामा नबोलाउने बताएका छन् ।

गीता छोएर खाएको कसमको इज्जत राख्न थापाले सिधै पार्टी विभाजनको घोषणा गर्ने छैनन् । अरु तरिकाहरु अपनाउने छन् । सुरुमा आफू एक्लै पार्टीबाट निस्किने, नयाँ पार्टी दर्ता गर्ने, त्यसपछि राप्रपामा रहेका आफ्नो समूहका नेताहरुलाई विस्तारै नयाँ पार्टीमा तान्ने उनको रणनीति रहेको बुझिन्छ । यसप्रकार प्राविधिकरुपमा उनले राप्रपा नफुटाए पनि अन्तत्वगत्वा उनी विभाजनतर्फ नै लम्किएकोमा दुईमत छैन ।

वैचारिक कारणले पनि राप्रपामा थापा अब अटाउन सक्दैनन्। राजालाई यस्तरी लाञ्छना लगाइसकेपछि उनी फेरि राजतन्त्रको एजेन्डा बोकेर हिँड्न सुहाउँदैन । उनको लहैलहैमा लागेर राप्रपाले राजतन्त्रको एजेन्डा त्यागेर गणतन्त्रमा हामफाल्न सक्दैन । संस्थापनसँग मुख्य सिद्धान्त नै बाझिएपछि थापाको अवस्था विवेकशील साझा पार्टीका मिलन पाण्डेको जस्तो हुनेछ । अनि, ढिलो-चाँडो बहिर्गमनको विकल्प छैन ।

तर, थापालाई पार्टी विभाजनमा राप्रपाका धेरै नेताहरुले साथ दिने अवस्था देखिँदैन । थापाले २७ गते घोषणा गर्ने कार्यक्रममा उनको प्यानलबाट चुनाव जितेर पार्टी नेतृत्वमा पुगेकाहरु अनुपस्थित रहने भएका छन् । थापा स्वयम्ले आफ्नो पक्षबाट पार्टी पदाधिकारी र केन्द्रीय समितिमा निर्वाचितहरुलाई अभियान घोषणामा नबोलाउने बताएका छन् ।

राजसंस्थाविरुद्ध कमल थापाको आर्तनादले न पार्टीभित्र उनको पक्षमा माहोल बनेको छ, न जनमानसबाट सहानुभूति उनले पाएका छन् । उनको रोदन वास्तवमा औधि कर्कश सुनिएको छ । यसले कसैको मन पगालेको छेन । बरु आजका दिनसम्म थापाले स्थापित गरेको राजनीतिक छवि र प्रतिष्ठा धुलिसात भएकाे छ । आफू चुनाव हार्नासाथ जीवनभर बोकेर हिँडेको सिद्धान्त र निष्ठालाई सहजै विसर्जन गर्न तयार हुनुले उनी समर्थक र शुभचिन्तकहरुकै नजरबाट स्खलित बनेका छन् ।

गत मंसिर १५ गते भएको राप्रपाको एकता महाधिवेशन उद्घाटन समारोहमा थापाले सडक आन्दोलनका बलमा राजालाई नागार्जुनबाट नारायणहिटीमा सार्ने उद्घोष गरेका थिए । उनको त्यो उद्घोष केवल भोट पाउनका निम्ति मात्रै थियो भन्ने चार दिनपछि नै पुष्टि भयो । अध्यक्षको चुनावी परिणाम आउनासाथ उनको राजतन्त्रप्रतिको निष्ठा हल्लिन पुग्यो । ‘अब आफूले राजतन्त्रको एजेन्डा बोकेर हिँड्ने नैतिक धरातल नै समाप्त भएको’ भन्दै उनले विज्ञप्ति जारी गरे ।

अध्यक्षमा विजयी उम्मेदवार राजेन्द्र लिङदेनलाई सामाजिक सञ्जालमार्फत बधाईको औपचारिकता निभाए पनि उनले यो पराजय स्वीकार्न नसकेको स्पष्ट छ । नयाँ नेतृत्वको सपथग्रहण समारोह उनले बहिष्कार गरे । त्यसपछि पार्टीको पहिलो केन्द्रीय समिति बैठकमा उपस्थित भएनन् । ठ्याक्कै विवेवकशीलका मिलन पाण्डेकोझैं सामाजिक सञ्जालमा पार्टीका नीति–निर्णयहरुको विरोध गर्दै दिन कटाइरहेका छन् थापा ।

तर, यहाँ पनि उनलाई राहत मिलेको छैन । सामाजिक सञ्जालमा आएका ९९ प्रतिशत प्रतिक्रियाहरु उनको खिलाफमा देखिन्छन् । कुनै समय बाबुराम भट्टराईलाई आउने स्तरका गालीहरु अहिले उनले सहनुपरेको छ । तर, पनि उनी उही सुगारटाइ गरिरहेका छन्- निर्मल निवासले नांगो हस्तक्षेप गर्यो ।

देशलाई परिवर्तनको नशा चढेका बेला थापाले कथित ‘प्रतिगमनकारी एजेन्डा’ को निरन्तर वकालत गरिरहे । त्यसबापत अनेकन लाञ्छना र भौतिक आक्रमणसमेत उनले सहनुपरेको थियो । मूलधारका पार्टी र नेताहरुबाट बहिष्करणमा परेका थिए थापा । उनीसँग लसपस हुँदा समेत बिटुलो भइएला झैं गर्थे परिवर्तनकामी नेताहरु ।

नवनिर्वाचित अध्यक्ष लिङदेनलाई पत्र लेख्दै थापाले निर्मल  निवासमाथि पार्टीले छानविन गर्नुपर्ने माग गरेका छन् । यो पनि पार्टी विभाजनको चाँजोपाँजोका निम्ति मात्रै हो । उनलाई राम्ररी थाहा छ, जुन संस्थालाई शीरमा बोकेर राजनीति गरिरहेका छन् लिङदेन, त्यसमाथि नै छानबिन गर्न कदापी तयार हुने छैनन् । पार्टीले आफ्नो माग सुनुवाई नगरेको भन्दै बहिर्गमनको बाटो खोल्ने थापाको योजना छ ।

‘यो विषयको निरूपण नभएसम्म राप्रपाले गति लिन सक्दैन,’ लिङदेनलाई पठाएको थापाले पत्रमा थापाले भनेका छन् ।

जसले ‘राजावाद’को धुकधुकी बचाए

२०६२/६३ को जनआन्दोलनले नेपालमा २४० वर्ष पुरानो राजसंस्थाको जरोकिलो उखेल्यो । उक्त आन्दोलन ‘अर्गानिक’ थिएन भनेर अहिले धेरैले प्रश्न उठाउन थालेका छन् । तर, त्यसबेलाको क्रान्तिकारी माहोलमा ‘राजावाद’को धुकधुकी बचाउने कमल थापा नै थिए ।

देशलाई परिवर्तनको नशा चढेका बेला थापाले कथित ‘प्रतिगमनकारी एजेन्डा’ को निरन्तर वकालत गरिरहे । त्यसबापत अनेकन लाञ्छना र भौतिक आक्रमणसमेत उनले सहनुपरेको थियो । मूलधारका पार्टी र नेताहरुबाट बहिष्करणमा परेका थिए थापा । उनीसँग लसपस हुँदा समेत बिटुलो भइएला झैं गर्थे परिवर्तनकामी नेताहरु । अहिले तीनै नेताहरु राप्रपाको महाधिवेशन उद्घाटनमा लाइन लागेर भाषण गर्न पुगे । पार्टीलाई यहाँसम्म ल्याइपुर्याउन सबैभन्दा ठूलो भूमिका कमल थापाकै छ ।

‘प्रतिगमनकारी’ एजेन्डाको बलमा नै थापाले आफूलाई स्थापित गरेका हुन् । राजसंस्था पुनस्र्थापनासँगै उनले धर्मनिरपेक्षता र संघीयताको खारेजीका पक्षमा पनि आवाज उठाए । छोटो समयमै देशमा संघीयता फ्लप हुन थाल्दा, धर्मनिरपेक्षता अलोकप्रिय बन्दा यसको फाइदा कमल थापा र तत्कालीन राप्रपा नेपाललाई मिल्यो । २०७० सालको संविधानसभा चुनावमा उनको पार्टीले समानुपातिकका २५ सिट जित्दै चौथो ठूलो शक्तिका रूपमा उदायो ।

राप्रपा नेपाल हुँदासम्म त्यसमा थापाको एकल आधिपत्य थियो । २०७६ सालमा पशुपतिशम्शेर र डा. लोहनीसँग एकतापछि राप्रपामा तीन अध्यक्ष भए । कार्यकारी अधिकार थापामा भए पनि अन्य दुई अध्यक्षहरुलाई मिलाएर लैजानुपर्ने बाध्यतामा उनी थिए । फलतः उनले चाहेबमोजिम पार्टी हाँक्न सकेनन् । पछिल्लो समय तीन अध्यक्षहरुबीच तिव्र मनमुटाव र असमझदारी थियो ।

यस महाधिवेशनमा अध्यक्षको चुनाव जितेर शक्तिशाली एकल अध्यक्षका रुपमा पार्टी सञ्चालन गर्ने व्यग्रतामा थिए थापा । तर, त्यो सपना चकनाचुर बन्यो । यसले उनमा चरम निराशा पैदा गरेको छ । तार्किक, चतुर  र शालिन नेताको छवि बनाएका थापा अहिले ठीक उल्टो छविमा प्रस्तुत भइरहेका छन् ।

विगतमा लामो समय थापानिकट रहेका एक केन्द्रीय सदस्यका अनुसार आवेशमा प्रतिक्रिया जनाउने उनको पुरानै स्वभाव हो ।

‘पहिले पनि यसैगरि तातो प्रतिक्रिया जनाउनुहुन्थ्यो र चाँडै कुल डाउन पनि भइहाल्नुहुन्थ्यो । तर, यसपाली देखाउनुभएको व्यवहार चाहिँ हाम्रोनिम्ति पनि अनपेक्षित छ ।’

अझै पनि थापाले राजतन्त्रको एजेन्डा छाड्न नसक्ने उनको दाबी छ ।

‘केही समयमा कुल डाउन भएर आफ्नो धरातलमा फर्किने आशा लिएका छौं,’ उनले भने, ‘राप्रपामा उहाँको अझै खाँचो छ ।’

राजासँगको सम्बन्ध र हारको कारण

राजतन्त्र बोकेर हिँडेका कमल थापाको राजासँग सम्बन्ध बिग्रेको अहिले आएर होइन । जब थापाले गणतान्त्रिक संविधानमा हस्ताक्षर गरे, अनि सरकारमा सहभागी भए, त्यसपछि राजसंस्था उनीसँग असन्तुष्ट बनेको थियो ।

राप्रपा स्रोतका अनुसार राजसंस्थाले २०७२ सालमा बनेको संविधानलाई स्वीकार नगर्न थापालाई सुझाव मात्र होइन, दबाबसमेत दिएको थिए । तर, थापाले त्यसलाई नकारे । उनले संविधानमा हस्ताक्षर मात्रै गरेनन्, त्यसपछि केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा उपप्रधानमन्त्री खान गए । त्यहाँदेखि नै राजसंस्थाले राप्रपामा थापाको विकल्प खोज्न थालेको हो ।

राप्रपा संस्थापन पक्षका एक नेताका अनुसार पार्टीको निर्वाचनमा निर्मल निवाससँग जोडिएका पात्रहरुले लिङदेनका पक्षमा सक्रियता देखाएकै हुन् । तर यसमा सिधै पूर्वराजालाई आरोपित गर्नु र उनकै कारण हारेको भन्नु अतिरञ्जना हो । यसले पार्टीका प्रतिनिधिहरुकै अपमान हुने उनको भनाइ छ ।

राजतन्त्र बोकेर हिँडेका कमल थापाको राजासँग सम्बन्ध बिग्रेको अहिले आएर होइन । जब थापाले गणतान्त्रिक संविधानमा हस्ताक्षर गरे, अनि सरकारमा सहभागी भए, त्यसपछि राजसंस्था उनीसँग असन्तुष्ट बनेको थियो ।

पक्कै पनि, पार्टीको महाधिवेशनमा निर्णायक भनेका देशभरबाट छानिएर आएका प्रतिनिधिहरु हुन् । यदि थापाले प्रतिनिधिहरुको मन जितेको भए निर्मल निवासको कुनै जोर चल्थेन । सत्य यही हो कि, यसपालि राप्रपामा चुनावी माहोल लिङदेनकै पक्षमा थियो । विगतमा कमल थापानिकट धेरै हस्ती नेताहरुले लिङदेनलाई साथ दिएका थिए । पार्टीबाहिर पनि उनीप्रति सहानुभूति देखिएको थियो । सामाजिक सञ्जाल लिङदेनको जित हेर्न आतुर थियो ।

लिङदेनको पक्षमा माहोल बन्नुका दुई कारण थिए । पहिलो, पार्टीका कार्यकर्ताले राप्रपाको नेतृत्वमा ताजगीपनको खोजी गर्नु । कमल थापाप्रति पार्टीमा उच्च सम्मान हुँदाहुँदै पनि थापाले अब पार्टीलाई यहाँभन्दा माथि उठाउन सक्दैनन् भन्ने मत पार्टीपंक्तिमा प्रबल बनिरहेको थियो । दोस्रो कारण चाहिँ लिङदेनको आफ्नै छवि । उनले राजनीतिमा जेजस्तो विचारधाराको वकालत गरिरहेका छन्, त्यसले जनमानसमा उनको उचाइ बढिरहेको छ । खासगरी, जातीय संकिर्णताबाट माथि उठेर गरेको राजनीति गरेका कारण लिङदेन बढ्दोरूपमा लोकप्रिय बनिरहेका छन् ।

यदि थापाले भनेजस्तो राप्रपाको चुनावमा निर्मल निवासले हस्तक्षेप गरेकै थियो भने पनि यो कुनै अनौठो विषय चाहिँ होइन । राजतन्त्रको एजेन्डा बोक्ने मुख्य पार्टीमा आफूले चाहेको व्यक्ति नेतृत्वमा ल्याउन खोज्नुलाई राजसंस्थाको अस्वभाविक हर्कतका रुपमा लिन सकिन्न । यसैलाई लिएर जीवनभरको निष्ठा बदल्न खोज्नु थापाको अराजनीतिक रियाक्सन हो ।

यदि थापाले भनेजस्तो राप्रपाको चुनावमा निर्मल निवासले हस्तक्षेप गरेकै थियो भने पनि यो कुनै अनौठो विषय चाहिँ होइन । नांगो‍रुपमा होस वा लुगा लगाएर गरिएको हस्तक्षेप होस , राजतन्त्रको एजेन्डा बोक्ने मुख्य पार्टीमा आफूले चाहेको व्यक्ति नेतृत्वमा ल्याउन खोज्नुलाई राजसंस्थाको अस्वभाविक हर्कत ठान्न सकिन्न । यसैलाई लिएर जीवनभरको निष्ठा बदल्न खोज्नु थापाको अराजनीतिक रियाक्सन हो ।

आफूलाई राजाले साथ दिँदासम्म त्यो सहयोग र सदासयता हुने, अर्कोलाई साथ दिँदा हस्तक्षेप हुने थापाको कुतर्कले कसैलाई छुँदैन । हुन त उनले हालैको अन्तरवार्तामा भनेका छन्- राजाले राप्रपालाई गरेको सहयोग भनेको अघिल्लो महाधिवेशनमा एक करोड दिइबक्सेको हो । त्योभन्दा अर्को सहयोग केही छैन । तर, उनले यो भुलेका छन् कि राजाकै अनुहार बेचेर, राजसंस्थाकै एजेन्डा भजाएर उनले आफ्नो शक्ति आर्जन गरेका हुन् । योभन्दा अगाडिसम्म राजाकै निगाहमा उनले पटक–पटक सत्ताको तर मार्ने अवसर पाएका हुन् ।

अबको विकल्प

कमल थापाको राजनीतिक जीवन यतिबेला वास्तवमै कठिन बिन्दूमा उभिएको छ । यदि पराजयलाई सहजरुपमा स्वीकारेर पार्टीमा क्रियाशील रहेको भयो यो अप्ठेरो अवस्था आउने थिएन । उनी आफैंले आफूलाई अप्ठेरो मोडमा पुर्याएका छन् ।

थापा अब राप्रपामा रहन सक्दैनन् । अर्को कुनै पार्टीमा प्रवेश गर्नु भनेको पनि उनको राजनीतिक पतन नै मानिनेछ, त्याे विकल्प उनले नराेज्लान् पनि । अन्तिम विकल्प भनेको राप्रपा छोडर अर्को पार्टी बनाउनु हो । उनले ढिलोचाँडो आफूलाई गणतन्त्रको पक्षमा उभ्याउँदै नयाँ पार्टीको पसल थाप्नेछन् । त्यो भनेको देशमा दक्षिणपन्थि धारका अर्काे चित्रबहादुर केसी जन्मिनु मात्र हो । देशमा गणतन्त्रवादी पार्टी र नेताहरु वालछ्याल छन् । यो भिडमा थापालाई आफ्नो अस्तित्व जोगाउन सजिलो हुनेछैन ।

राप्रपाको निर्वाचित कार्यसमितिमा अहिले पनि थापाको राम्रो पकड छ । निर्वाचित पदाधिकारीमा उनी पक्षको वर्चश्व छ । त्यसैले धैर्यपूर्वक वरिष्ठ नेताको हैसियतमा राप्रपामै रहँदा उनको कल्याण हुने शुभचिन्तकहरुले ठानेका छन् । महाधिवेशन  त फेरि पनि आउनेनै छ ।

खैर, यो सबै उनको निजी निर्णयको विषय हो ।


प्रतिक्रिया

2 thoughts on “कमल थापाको उत्तेजना ! गीता छोएर खाएको कसम तोड्ने बाटोमा

  1. मेरो पनि यहि विश्लेषण थियो अबको बाटो पतन नै हो / कमलको असली रुप अहिले देखिएको छ / कमल थापा नांगिएको त उहिले हो जुन दिन राजतन्त्रको नारा लगाएर चौथो शक्ति बनेपछी मुद्दामा लड्नुको साटो सत्तारोहण गरे त्यो नै उनको बहिर्गमनको सुरुवात थियो / खयर केहि छैन गोरु बुढो हुदै गर्दा बालि चोर्ने बानि पर्छ भन्ने उखान कमलले चरितार्थ गरेका छन् /

  2. एउटा नियमित पाठकले यति लामो टिप्पणी पढेर प्रतिक्रिया गरेपछि त्यो प्रतिक्रिया प्रकाशित गर्नुनपर्ने भए यो भूमिका देखाउन मात्रै प्रतिक्रियाको बक्स राख्नु कमल थापा प्रबृत्ति नै भएन नेपालप्रेसको ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर