विनोद चौधरीको दाबी- विधिसम्मत जितेको हुँ, निर्वाचितलाई लाञ्छित गर्नु कार्यकर्ताको अपमान हो – Nepal Press

विनोद चौधरीको दाबी- विधिसम्मत जितेको हुँ, निर्वाचितलाई लाञ्छित गर्नु कार्यकर्ताको अपमान हो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू पार्टीको विधान र विधिवतरूपमा सम्पूर्ण प्रक्रिया पूरा गरेर पार्टीको १४औँ महाधिवेशनमा निर्वाचित भएको बताएका छन् ।

महाधिवेशनका विधिसम्मत प्रक्रियाहरूमार्फत् नेतृत्व छनौटका लागि भएको निर्वाचनमा आफैं सहभागी हुने र निर्वाचन हारेपछि विधिसम्मत थिएन भनेर प्रश्न उठाउनु अलोकतान्त्रिक र अराजनीतिक चरित्र भएको उनको भनाइ छ ।

‘महाधिवेशनमा निर्वाचन समितिले उम्मेदवारी दर्ता पछि विधिवत रूपमा दाबी विरोधको समय उपलब्ध गराएको थियो । यदि म अयोग्य थिएँ भन्ने कसैलाई लागेको थियो भने त्यो समयमा किन दाबी विरोध गरिएन ?’ केन्द्रीय सदस्य चौधरीले भने, ‘आफैं सोही निर्वाचनमा उम्मेदवार हुने र विजय हुन नसकेपछि विधिसम्मत भएन भनेर रोईलो गर्नुको कुनै अर्थ छैन । नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित मानिँदैन ।’

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको निर्वाचनमा चौधरी केन्द्रीय सदस्य (मधेशीतर्फ) दोस्रो धेरै मत २२०६ प्राप्त गरी विजय भएका थिए । सोही पदका लागि प्रतिस्पर्धामा रहेका सिरहाका सुभाषचन्द्र यादव पराजित भएका थिए । निर्वाचनमा पराजय भएको तीन सातापछि यादवले विधानमाथि प्रश्न उठाएका छन् । यस्तो व्यवहारलाई नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरूले समेत रूचाएका छैनन् ।

‘यसलाई मैले मेरो राजनीतिक सक्रियताबाट आत्तिएकाहरूको मनोदशाका रूमा लिएका छुँ । मेरो सपना समृद्ध नेपाल निर्माण गर्ने हो । यस अभियानमा नेपाली कांग्रेसको नेतृत्वलाई हदैसम्मको साथ दिन म राजनीतिमा आएको हुँ ’, चौधरीले भने, ‘म नेपाली कांग्रेसका होनहार कार्यकर्ताहरूबाट अनुमोदन भएर केन्द्रीय सदस्य पदमा निर्वाचित भएको हुँ । यसैगरी निर्वाचित हुने हक हरेक उम्मेदवारलाई थियो । तर, निर्वाचनमा पराजय भएपछि निर्वाचितहरूलाई लाञ्छित गर्नु भनेको आम कार्यकर्ताहरूको अपमान पनि हो ।’

केन्द्रीय सदस्यमा निर्वाचित हुनुअघि चौधरी कांग्रेस महासमिति सदस्य थिए । उनी सांसद पनि हुन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा ख्यातीप्राप्त उद्यमी चौधरी नवलपुर जिल्लाबाट राजनीतिमा उदाएका हुन् । कांग्रेसको १४औँ महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चुनिएपछि पार्टीभित्र उनको चर्चा चुलिएको थियो । चौधरी नेपालका एकमात्र डलर अर्बपति हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर