बसेरा बैठकका व्यहोरा, सघंर्षदेखि विद्रोहसम्मका नारा – Nepal Press

बसेरा बैठकका व्यहोरा, सघंर्षदेखि विद्रोहसम्मका नारा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गरेका डा. शेखर कोइरालाले आफ्नो प्यानललाई अन्तिम समयमा मात्रै टुंगो लगाए ।

संस्थापनइतर समूहको साझा उम्मेदवार बनाउने कसरत अन्तिम समयसम्म चलिरहेपछि सभापतिका उम्मेदवार कोइरालाले हतार-हतार प्यानल बनाए ।

प्यानल बनाउने क्रममा प्रदेश २ को २ जना केन्द्रीय सदस्यमा त उम्मेदवार बनाउनै छुटे । अन्तिम समयमा टिमको टुंगो लगाएका शेखरले आफ्नै समूहका उम्मेदवारसँग पर्याप्त छलफलबिनै निर्वाचन लडे । दोस्रो चरणको निर्वाचनमा ४० प्रतिशतभन्दा बढी मत पाएका शेखर सभापतिको निकटतम प्रतिस्पर्धीमै सीमित रहे ।

‘एकपटक, यसैपटक’ भन्ने नारासहित निर्वाचनमा होमिएका शेखरको पराजयपछि सो समूहको भविष्यबारे अनेक आँकलन गरिए । बुधबार शेखरले आफ्नो टिमबाट उम्मेदवार बनेका सबै नेताहरूलाई बैठकमा बोलाए । महाधिवेशनमा प्रतिस्पर्धा गरेका १ सय ३२ जना, प्रदेश सभापति र प्रत्याशीसहितको बैठक हनुमानस्थानको बसेरा होटलमा बसेको थियो । बैठकको सुरूमै सम्बोधन गरेर शेखरले आफ्नो धारणा व्यक्त गरे भने झण्डै ४ घण्टा आफ्नो समूहका नेताहरूको समीक्षा र सुझाव संकलन गरे । शेखर प्यानलका उम्मेदवारहरूको परिचयसँगै बसेरा बैठक सुरू भएको थियो ।

शेखर सम्बोधनका संकेत

बैठकको प्रारम्भमै शेखरले सम्बोधन गरे । लिखित वक्तव्यसमेत जारी गर्दै उनले पार्टीभित्र ‘नियमसंगत खेल नभए सघंर्ष’ हुने चेतावनी दिए । नरम शब्दमा कडा भावार्थसहित उनले जारी गरेको वक्तव्यमा विधानभन्दा बाहिर गएर निर्णय गर्ने क्रम बन्द नभए पार्टीमा दुर्घटना निम्तिन सक्ने चेतावनी दिएका छन् ।

‘सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुनसक्छ’, उनले भनेका छन् । पार्टीको निर्णय गर्ने ठाउँमा आफ्नो समूह प्रभावकारी नभएपनि पार्टीका सबै काम न्याय,विधि, विधान, विवेक र व्यवहारसंगत हुनुपर्ने शेखरको धारणा छ ।

गगनको सटिक समीक्षा

सभापतिका रूपमा शेरबहादुर देउवाले दोस्रो कार्यकाल सुरू गरेको जति समय भयो, महामन्त्रीका रूपमा गगन थापाले काम थालेको पनि उत्ति नै भयो । अवधिका हिसाबले मूल्यांकनका लागि पर्याप्त समय भइनसकेपनि महामन्त्री थापाले हालसम्मको कामका आधामा सभापति देउवाबारे आफ्नो समीक्षा सुनाएका थिए ।

‘समयका हिसाबले होइन महत्वपूर्ण निर्णयहरू लिन उहाँले गरेको प्रयत्न र प्रक्रियाका कारण हामीले समिक्षा गर्नैपर्ने भएको छ । वागमती प्रदेशको मन्त्री छान्दा होस् वा राष्ट्रियसभाको टिकट वितरण गर्दा सभापतिजीले हामीसँग संवाद गर्न आवश्यक ठान्नुभएन । १६ जिल्लामा अधिवेशन रोकिएको खबर महामन्त्री भएरपनि मैले मिडियाबाट थाहा पाए । यस्ता कुराले सभापतिजी सही दिशामा हुनुहुन्न कि भन्ने देखिएको छ’, थापाको भनाइ थियो ।

उनको भनाईको अर्को संकेत राष्ट्रिय राजनीतितर्फ लक्षित रह्यो । आमनिर्वाचनमा कम्युनिष्ट पार्टीहरूसँग तालमेल गर्न नहुने विषयलाई उनले एजेण्डाकै रूपमा अघि सारे । ‘कम्युनिष्टसँग मिलेर लड्ने अन्तिम चुनाव राष्ट्रियसभा हुनुपर्छ । आमचुनावसम्म गठबन्धन रहनुपर्छ तर चुनाव कांग्रेस आफ्नै बुतामा लड्नुपर्छ । सरकार बनाउँदा गठबन्धन भएपनि चुनाव लड्दा हुनुहुदैन भन्ने हाम्रो धारणा छ’, थापाले बैठकमा भनेका थिए ।

पार्टीभित्र यस्तै अवस्था रहे कांग्रेसलाई पहिलो पार्टी बनाउने सभापति देउवाको लक्ष्यमा धक्का पुग्नसक्ने गगनको टिप्पणी छ ।

संघर्षले नपुगे विद्रोह

बैठकमा बोल्ने अधिकांश नेताले १४ औं महाधिवेशनमा प्राविधिक कारणले जित्न सम्भव नभएपनि राजनीतिक लडाई जारी राख्नुपर्नेमा जोड दिए ।

राजनीतिमा ४ वर्ष छोटो समय रहेको भन्दै अधिकांश वक्ताले विधान विपरीत नभएका निर्णय कार्यान्वयनका लागि बाध्य नहुने घोषणा गर्नुपर्ने बताएका थिए । ‘हामीले विधानको कुरा गर्छौं उनीहरू बहुमतको दम्भ गर्छन् । विधानसम्मत हुँदैन भने बहुमतको निर्णयभएपनि मान्दैनौ भनेर हामीले भन्नुपर्छ’, बैठकमा सहभागीको भनाइ थियो ।

केही नेताहले पार्टीभित्रको संघर्ष पेचिलो बन्दै जाँदा कार्यकर्ता निराश हुनसक्ने भन्दै तल्लो तहसम्मै प्रतिबद्ध कार्यकर्तालाई संगठित गर्नुपर्नेमा जोड दिए । ‘गुट गर्दैनौं, भाग लिँदैनौं भनेर मात्रै भएन । तल्लो तहसम्मका कार्यकर्तालाई हामी संरक्षण दिन सक्छौं भन्ने महसुस गराउनुपर्छ’, केन्द्रीय सदस्यका एक प्रत्याशीले भने । बैठकमा केही नेताहरूले स्थानीय तहको निर्वाचनसम्म आन्तरिक सघंर्ष गर्ने र त्यसमा पनि न्याय नभए विद्रोह गर्नुपर्ने पनि बताए ।

‘विधानसम्मत निर्णय पनि नहुने, यो समूहमा लागेकै कारण अवसर पनि नपाउने हो भने संघर्षले मात्रै नपुग्नसक्छ । त्यस्तो बेला विद्रोहका लागि पनि तयार हुनुपर्छ’, एक सहभागीले भने ।

चुनाव हार्नुका कारण

बैठकमा सभापति देउवाको कार्यशैलीमात्रै नभएर शेखर समूहको पराजयको कारणबारे पनि समीक्षा भएको थियो । नेता डा.चन्द्र भण्डारीले अन्तिम समयमा सभापतिको उम्मेदवार टुंगो लाग्नु, संस्थापनइत्तर समूहमा एकता नहुनु, प्यानल निर्माणमा कमजोरी देखिनु र दोस्रो चरणमा समर्थन जुट्न नसक्नुलाई चुनाव हार्नुका आन्तरिक कारणका रूपमा प्रस्तुत गरिएको बताए ।

त्यसबाहेक केही सिनियर नेताको असहयोग र सत्ताको दुरूपयोग समेत हारको कारण भएको केही सहभागीले बताएका थिए । युवा नेता मनोजमणि आचार्यले त निर्वाचन समिति नै निष्पक्ष नभएको र देउवा जिताउन सक्रिय रहेको आरोप लगाए । उनले निर्वाचन समितिका पदाधिकारीलाई तत्काल बर्खास्त गर्ने माग अगाडि सार्नुपर्नेमा समेत जोड दिए ।

बैठकमा नेता लोकेश ढकालले सभापतिको नारा नै गलत भएको टिप्पणी गरे । ‘एकपटक र यसैपटक भन्ने नारापनि प्रत्युत्पादक भयो कि ? कतिपटक भनेर जानुभन्दा विचार लिएर जानु उपयुक्त हुन्थ्यो होला’, ढकालको भनाइ थियो ।

केन्द्रीय सदस्यकी प्रत्याशी गाेमा केसीले १५ औं महाधिवेशनको सभापतिको उम्मदेवार अहिले नै तय गर्न माग गरिन् । विगतमा रामचन्द्रको नाममा संगठन गरेको, अहिले शेखरको नाममा संगठन गर्नुपरेको र भोली कसको नाममा गर्नुपर्ने हो ? भन्दै उनले प्रश्न गरेकी थिइन् ।

‘अहिलेको उपसभापति, महामन्त्री र सहमहामन्त्रीले १५ औं महाधिवेशनमा शेखर कोइराला नमान्ने हो भने अहिले नै भन्नुस् । अहिले नै को लड्ने हो तोकेर जाऔं । पछि आफैं लडेर धोका दिने काम नहोस्’, केसीको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर