सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना : शेखर कोइराला (भिडिओ) – Nepal Press

सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना : शेखर कोइराला (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा पराजित भएका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा गरेको मनोनयनलाई लिएर असन्तुष्टि जनाएका छन् । सभापतिको व्यक्तिगत रुचिका आधारमा व्यक्तिको छनोट भएमा पार्टी दुर्घटनामा पर्ने उनको चेतावनी छ ।

देउवाले गरेको मनोनयनका विषयमा छलफल गर्न आज आफ्नो समूहको बैठक बोलाएका कोइरालाले लिखित मन्तव्य वाचन गर्दै यस्तो चेतावनी दिएका हुन् ।

उनले भनेका छन्, ‘सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ । विधि र विधानबाहिर गएर गरिने सबै कामहरू बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने ?’

कोइरालाले पार्टी सभापतिले केन्द्रीय सदस्यमा नियुक्ति गरेका व्यक्तिहरू सबै सक्षम र योग्य भए पनि नियुक्तिको मापदण्डबारे प्रश्न उठाएका छन् ।

‘के मापदण्ड अपनाएर उहाँहरू नियुक्त हुनुभएको हो ? हामी जान्न चाहन्छौं । पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नत्र कार्यकर्ता किन कांग्रेसमा बस्नने भन्ने प्रश्न उठ्न सक्छ ।’ कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन आफूहरू एकताको सन्देश बोकेर देशभर जाने कोइरालाले बताएका छन् । कुनै पनि कार्यकर्ताकोे शिर झुक्न नदिने र निराश बन्न नदिने उनको प्रतिबद्धता छ ।

‘कांग्रेस हुनुको गर्व अुनभूति गराउने प्रयासमा हामी लागि नै रहने छौं । तीनै तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा ल्याएर र देशको मुहार कांग्रेसले मात्रै फेर्न सक्छ भन्ने अभियानमा हामी कटिवद्ध छौं,’ उनले मन्तव्यमा भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर