बाँके कांग्रेस नेतृत्वका लागि रस्साकस्सी, संस्थापन पक्षलाई उम्मेदवार छान्न सकस – Nepal Press

बाँके कांग्रेस नेतृत्वका लागि रस्साकस्सी, संस्थापन पक्षलाई उम्मेदवार छान्न सकस

रुपन्देही । नेपाली कांग्रेस बाँकेको जिल्ला अधिवेशन पुस २७ लाई तोकिएपछि संस्थापन र इतर समूहले तयारी थालेका छन् । यद्यपि राष्ट्रियसभा निर्वाचनको कारण देखाउँदै पुन: माघ १५ लाई अधिवेशन सारिएको छ । इतर पक्षले संस्थापन पक्षले नजित्ने भएकाले लफडा गर्दै पटक-पटक निर्वाचन मिति सारेको आरोप लगाएको छ ।

यहाँ इतर पक्षले सभापतिसहित पदाधिकारी घोषणा गरिसकेको छ । संस्थापन पक्षमा सभापतिका आकांक्षी धेरै भएपछि उम्मेदवारको तय भएको छैन ।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको १४औँ महाधिवेशनका लागि अधिवेशन हुन नसकेका १६ जिल्लाको अधिवेशन २७ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिएपछि यहाँको तयारी थालिएको नवनिर्वाचित केन्द्रीय सदस्य मैकुलाल वाल्मिकीले बताए ।

बाँकेसँगै कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, कैलाली, अछाम र नवलपुरको जिल्ला अधिवेशन हुन बाँकी छ । यसअघि कांग्रेसको सातै प्रदेशको प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन सम्पन्न भइसकेको छ । विभिन्न विवाद र अन्तिम समयमा प्रदेश निर्वाचन र केन्द्रीय महाधिवेशन नजिकिएपछि बाँकेको अधिवेशन रोकिएको थियो ।

अधिवेशन तय भएपछि जिल्लाको नेतृत्वको रस्साकस्सी पनि सुरु भएको छ । बाँकेमा संस्थापन इतरबाट नारायणप्रसाद गौडेल एकमतले सभापति पदमा निर्वाचनका लागि टुंगो लागिसकेको छ । बाँके कांग्रेसका सभापति किरण कोइरालाले आफूहरूको सल्लाहबाट नै गौडेलको नेतृत्वमा निर्वाचनमा जाने निर्णय भएको बताइन् ।

‘त्यही निर्णयले म केन्द्रीय सदस्यमा उम्मेदवार बनेकी हुँ’, केन्द्रीय सदस्यमा सफल हुन नसकेपछि जिल्लामा दोहोर्‍याउने कि ? प्रश्नमा सभापति कोइरालाले भनिन्, ‘हामी पुरानै निर्णयमा अडिग छौं ।’ सभापति कोइराला झिनो मतले केन्द्रीय सदस्य पदमा पराजित भएकी थिइन् ।

संस्थापनइतरबाट गौडेल आगामी नेतृत्वका लागि एकमतले कसरतमा लागिरहँदा संस्थापनमा पनि उम्मेदवारी घोषणाको लहरजस्तै छ । सबैभन्दा पहिले पूर्वसभासद बादशाह कुर्मीले औपचारिकरूपमै पत्रकार सम्मेलन गरी आफू सभापति उम्मेदवार रहेको घोषणा गरेका थिए । त्यसलगत्तै नेता राजकुमार बर्माले कुर्मी आफूखुसी उठेको प्रतिक्रिया दिंदै आफ्नो उम्मेदवारी रहने बताए । उनले आफू संस्थापन पक्षको आधिकारिक उम्मेदवार रहेको दाबी गर्दै घोषणाका लागि आवश्यक तयारी र साथीहरुसँग सल्लाह, परामर्श गरिरहेको बताएका थिए ।

संस्थापन पक्षमा प्रभावशाली मानिएका लुम्बिनी प्रदेशका वन मन्त्री सुरेन्द्र हमालले बाँकेको सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । पुस २७ गतेका लागि जिल्ला अधिवेशन तय भएलगत्तै प्रदेशसभा सदस्यसमेत रहेका मन्त्री हमालले आफ्नो उम्मेदवारी निश्चित रहेको र सम्भवत: संस्थापनबाट एक्लो उम्मेदवार बन्ने बताए ।

यसैबीच, संस्थापनमा सभापतिका दाबी धेरै भएपछि एकजना उम्मेदवार बनाउन शीर्ष नेताले पहल थालेका छन् । गृहमन्त्री बालकृष्ण खाण, नवनिर्वाचित सहमहामन्त्री किशोरसिंह राठौरलगायतका नेताहरू आफ्नो पक्षबाट एकल उम्मेदार बनाउन लागेका छन् । बाँकेमा कुर्मी, बर्मा र हमालसँगै निरञ्जन सिंह सिजापति पनि संस्थापनका बलिया दाबेदार हुन् ।

केही दिनअघि नवनिर्वाचित सहमहामन्त्री किशोरसिंह राठौरले बाँकेमा सर्वसम्मत नेतृत्वको पहल गर्ने बताएका छन् । संस्थापनका नेता उनले आफूले सकेसम्म सर्वसम्मतिको प्रयास गर्ने बताए । राठौरले हमालालाई नै अगासड सार्न खोजेकाले उनकै पल्ला भारी रहने स्थानीय नेताको आंकलन छ ।

राठौरले १४ औं महाधिवेशनले उर्जा दिएको भन्दै पार्टी सुदृढ ढंगले अघि बढ्ने धारणा राख्दै महाधिवेशनले एकताको सन्देश दिएको दाबी गरे ।

स्थापन पक्षले नेतृत्व टुंगाउन नसक्दै इतर पक्षले पदाधिकारी घोषणा गरेको छ । इतर पक्षबाट सभापतिमा नारायणप्रसाद गौडेल नेतृत्वमा पदाधिकारी घोषणा गरेको हो । उपसभापतिमा गोपाल अधिकारी र राजकुमार मौर्य, सचिवमा सुधांशु कोइराला र टंकप्रसाद काफ्ले ’आशीष’ तथा सहसचिवमा विश्वराज लम्साल र रेणु सिंहको नाम औपचारिक घोषणा गरिएको हो ।

गौडेल प्यानलका प्रचार संयोजक टेकनारायण भुसालले कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य र बाँकेका सभापति किरण कोइराला सहितका नेताहरुबीच उम्मेदवारको नाम सार्वजनिक गरेका छन् । जिल्ला कार्यसमिति सदस्य उम्मेदवारको नाम २५ गते चियापान कार्यक्रम गरेर सार्वजनिक गरिने जनाइएको छ ।

बाँकेमा इतर पक्षले आफ्नो नेतृत्वलाई निरन्तरता बनाउन खोजेको छ भने संस्थापन पक्षले जसरी पनि नेतृत्व आफ्नो पक्षमा बनाउन खोजेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर