महिला हिंसाका घटनामा पूर्वाग्रह नराखी अनुसन्धान गर्न महिला समितिको निर्देशन – Nepal Press

महिला हिंसाका घटनामा पूर्वाग्रह नराखी अनुसन्धान गर्न महिला समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले महिला हिंसा, लैङ्गिक हिंसाका घटनाहरु संवेदनशील भई पूर्वाग्रह नराखी अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले महिला हिंसा, लैङ्गिक हिंसाका घटनाहरु संवेदनशील भई पूर्वाग्रह नराखी अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिको बैठकले लैङ्गिक हिंसाका घटनाहरुप्रति संवेदनशील अनुसन्धान गरेर दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन पनि गृह मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोग र प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

महिला हिंसाका सम्बन्धमा परेका उजुरीहरुलाई द्रुतमार्गबाट शीघ्र किनारा लगाउन साथै पीडितहरुको सुरक्षाको सुनिश्चितता गर्न पनि समितिले सरकारलाई सचेत गराएको सभापति निरुदेवी पालले बताइन् ।

उनले न्यायका लागि माईतीघर मण्डलामा धर्नामा बसेका महिलाहरुको स्वास्थ्य स्थिती परीक्षण गर्न÷गराउन र माग सम्बोधन हुने प्रत्याभूति गरी घर फर्किने वातावरण बनाउन समिति राष्ट्रिय महिला आयोग, गृह मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र प्रहरी प्रधानलाई निर्देशन दिएको बताइन् ।

सभापति पालले भनिन्, ‘समितिको आजको बैठकमा महिला हिंसासम्बन्धी समसामयिक घटना, आन्दोलन एवं सम्बोधनका लागि भएका प्रयासहरु सम्बन्धी कार्यसूचिमाथि राष्ट्रिय महिला आयोग, गृहमन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका पदाधिकारीहरुसँग छलफल भयो । छलफल पश्चात्, राज्यले आड, भरोसा दिनुपर्नेमा जाहेरी लिने निकाय, अनुसन्धान गर्ने निकाय, मुद्दाको सुनुवाई गर्ने निकायहरु कतिपय घटनामा निष्पक्ष नभएको भन्ने गुनासो आइरहँदा पनि सम्बन्धीत निकाय गम्भीर एवं संवेदनशील नभएको आभाष हुन पुगेको छ, जसबाट न्यायको सुनिश्चितताको जोखिम सिर्जना भएको पनि देखिन्छ । न्यायको माग गर्दै धर्ना बस्नुपर्ने अवस्था दुःखदायी छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *