पाल्पाका दुर्घटना अपडेट : बुवाको अन्तेष्टि गर्न गएका छोरासहित सात जना मलामीको मृत्यु (नामसहित) – Nepal Press

पाल्पाका दुर्घटना अपडेट : बुवाको अन्तेष्टि गर्न गएका छोरासहित सात जना मलामीको मृत्यु (नामसहित)

रुपन्देही । अर्घाखाँचीको मालारानी वडा नं २ कुभिण्डे घर भइ बुटवल उपमहानगरपालिका वडा नं १७ को रानीगन्जमा बस्दै आएका ६८ वर्षीय वीरबहादुर बिकको शनिबार राती मृत्यु भयो ।

वीरबहादुरको अन्त्येष्टीका लागि घरपरिवार, छिमेकी सबै जुटेर आइतबार बिहानै बुटवलबाट गुल्मीको रिडी लागे ।

मृतक बीरबहादुरका ६ भाइ छोरामध्ये ५ भाइ छोराहरुसहित तीन दर्जन मलामी बस लिएर त्यता लागे भने केही आफन्त निजी सवारीमा मलामी गएका थिए । तर बिहान साढे १० बजे बस पाल्पाको रिब्दिकोट गाउंपालिका २ लगुवामा बस दुर्घटनामा पर्यो ।

त्यो दुःखद घटनामा मृतक बीरबहादुरका छोरा पशुपति बिकसहित ७ जनाको घटनास्थलमै मृत्यु भयो ।

बुवाको अन्त्येष्टि गर्न गएका छोरासहित ठूलो संख्यामा मलामीको मृत्यु भएपछि र घटना दुई दर्जनभन्दा बढी मलामी घाइते भएपछि पीडितको परिवार तथा छिमेकमा थप सन्नाटा छाएको छ ।

वीरबहादुरका ६ भाइ छोरामध्ये ५ जना दाहसंस्कारको लागि गएका थिए । शव लिएर गएका ३० वर्षीय छोरा पशुपति बिकको मृत्यु भएको हो ।
दुर्घटनामा बाँचेका घाइतेको अनुभव

मृतक वीरबहादुर विकका छिमेकी बुटवल रानीगन्जका ३१ वर्षीय थम्मन पचभैया सो बस दुर्घटनाका प्रत्यक्षदर्शी हुन् ।

बस दुर्घटनामा परी बाँचेका बुटवल रानिगञ्जका थम्मन पचभैया ओरालोमा ड्राइभरकोे आत्मबल कमजोर बन्दा दुर्घटना भएको बताउँछन् ।

बुटवलबाट बस हिंडेपछि उकालो लाग्नसाथ ड्राइभरले बसलाई सजिलोसंग नचलाएको उनले अनुभव पहिले गरिसकेको बताएका छन् ।

‘लगुवाको ओरालो लाग्नसाथ ड्राइभर आत्तियो । चिसो भएकाले पनि उसले गाडी कन्ट्रोल गर्न नै सकेन । घटनास्थलमा गाडी निकै दौडियो । ड्राइभरले पछाडिको भाग कुनामा ठोकेर सिधा भयो । अनि गाडि तल झरेको हो ।’ उनले भने ।

उनले आफू अगाडिको सिट समातेर बसेका कारण केही नभएको बताए । गाडी संगै २ सय मिटर तल पुगेपनि केही नभएको उनले बताए ।

‘ड्राइभर पहाडमा गाडी नचलाएको रहेछन्जस्तो उसको चलाइबाट थाहा हुन्थ्यो । ओरालामा आत्तियो । अनि घटना घट्यो’ ३१ वर्षीय पचभैयाले भने ।

उनले गाडि तीब्र गतिका कारण दुर्घटना नभएको बताउँछन् । घटनापछि चालक फरार भएका कारण पनि उनको गल्ती भएको उनको ठम्याई छ ।

दुर्घटनास्थलमा शीतको चिसो भएको, साँघुरो घुम्ती रहेको सडक किनारका डिभाइडर भत्काउँदै घिसारिएर दुर्घटना भएको स्थानीयले जनाएका छन् ।

तराई क्षेत्रमा चलाएको चालक रहेको, पहाडी बाटोमा अनुभव नभएकोले दुर्घटना भएको अन्य सवारी चालकहरुले बताएका छन् ।

प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ । बस पल्टिदा च्यापिँएर ३ जना मलामीको मृत्यु भएपछि डोजर स्काभेटर प्रयोग गरी शव निकालिएको थियो ।

शोकमा छ रानीगञ्ज

आइतबारको घटनापछि पत्रकार बिरबहादुर विकको घर रानीगञ्ज पुग्दा त्यहाँ सन्नाटा छाएको थियो । छरछिमेकी अनेक अड्कलबाजी गरिरहेका थिए भने कतिपयले मलामा गएकाहरुसंग सम्पर्क गर्न खोजिरहेका थिए । वीरबहादुर घरमा छोरीहरु र छिमेकी चुपचाप थिए । कसैसंग पनि बोल्न अप्ठयारो मानिरहेका थिए ।

‘यो गाउँ शोकमा छ । के यस्तो आइलाग्यो । यतै नजिकै लगेको भएपनि यस्तो घटना हुँदैनथ्यो होला ।’ छिमेकी सिर्जना शर्माले भनिन् ।

मृतक सात जनाको सनाखत

बुटवलबाट शव बोकेर पाल्पाको रिडी अत्येष्टिका लागि हिंडेको बस पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नंं २ लघुवामा दुर्घटनामा मृत्यु भएका ७ जना मलामीको सनाखत भएको छ ।

अर्घाखाँची मालारानी गाउँपालिका वडा नंं २ का २५ वर्षीय शंकर वि.क., सोही स्थानकै ३६ वर्षीय मोहन कुँवर, सोही स्थानकै २८ वर्षीय भोजेन्द्र वि.क., सोही स्थानकै ३३ वर्षीय अर्जुन वि.क. बुटवल उपमहानगरपालिका वडा नंं १७ का ३० वर्षीय पशुपति रसाइली, सोही स्थानै ४० वर्षीय खुमबहादुर राना, बुटवल उपमहानगरपालिका वडा नं ११ का ३२ वर्षीय विजय थापाक्षेत्रीको सनाखत भएको पाल्पा प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।

शनिबार राती मृत्यु भएका बुटवल उपमहानगरपालिका वडा नंं ११ बुद्धनगरका ६८ वर्षीय विरबहादुर विकको शव लिएर गुल्मीको रिडी जाँदै गर्दा पाल्पाको लघुवामा बस दुर्घटनामा परेको थियो । घाइतेमध्ये ९ जना लुम्बिनी मेडिकल कलेज प्रभास र ६ जनाको मिसन अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालका अनुसार घाइते हुनेमा बुटवल १७ का ३८ वर्षीय, विशाल रसाइली, सोही स्थानका बर्ष ४५ का धनबहादुर सुनार, सैनामैना ६ रुपन्देहीका ३१ वर्षीया मिरा रामदाम, सोही स्थानकै ५० वर्षीय श्यामबहादुर वि.क., पाणिनि १ अर्घाखाँचीका ४५ वर्षीय गोपाल नेपाली, छत्रकोट ३ अर्घाखाँचीका ४३ वर्षीय लालबहादुर वि.क., मालारानी २ अर्घाखाँचीका ३७ वर्षीय रमेश टोहटो, तिलोत्तमा १४ रुपन्देहीका ४५ वर्षीया दिलमाया सुनार, सोही स्थानकै तारा सुनारको लुम्विनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइते मालारानी २ अर्घाखाँचीका ३९ वषीय तुल्सीराम वि.क., सोही स्थानकै २२ वर्षीय दिपक वि.क. ४० वर्षीय अर्जुन रसाइली, ३५ वर्षीय लक्ष्मण टोहटो, २७ वर्षीय विष्णु वि.क., १३ वर्षीय बरुण रसाइली र वुटवल उपमहानगर १२ का ४८ वर्षीय माधवप्रसाद बस्यालको मिशन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *