अब एक दशकका लागि निर्बिकल्प ओली ! – Nepal Press
ब्लग

अब एक दशकका लागि निर्बिकल्प ओली !

२०६२–६३ को जनआन्दोलनपछि आमनेपालीले बीपी, पुष्पलाल गणेशमान, मनमोहन जस्ता नेता खोजेका थिए, जसले हिमाल, पहाड र मधेसका जनतालाई हृदयमा राखेर देशहितमा काम गरुन्, मुलुकलाई सुशासनसँगै आर्थिक समृद्धिको दिशामा अघि बढाउन् ।

उक्त आन्दोलनको बलमा व्यवस्था परिवर्तन भयो, तर नागरिकको जीवनस्तर र देशको अवस्थामा खासै परिवर्तन आएन । संविधानसभाबाट संविधान बन्यो, देशमा संघीय गणतन्त्र आयो । तर शासनसत्ता चलाउनेहरुले संविधानसभालाई समेत समानुपातिकका नाममा आफ्नाहरुलाई सांसद बनाउने काम गरे ।

सत्तामा हुनेहरुले देश र नागरिकको हितमा काम गरेनन् । देशका प्राकृतिक स्रोत बेचिए, नदीनालामा चलखेल भयो । पहिलो संविधानसभामा तत्कालीन विद्रोही नेकपा माओवादी पहिलो पार्टी भयो । उक्त पार्टीप्रति धेरैको आशा थियो । तर, माओवादीले पनि जनताको हितमा केही काम गर्न सकेन ।

नेपालको संविधान आफूमैत्री नभएको भन्दै भारतले अघोषित नाकाबन्दी लगायो । नाकाबन्दीका विरुद्ध त्यतिबेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको अडानले आमनेपालीको शीर ठडियो ।

त्यतिमात्रै होइन, त्यतिबेलाको ओली सरकारले लिएका मुलुक समृद्धिका मुद्दाले निराश नेपालीमा आशाको सञ्चार गरायो । युवापुस्तालाई आफ्नै पालामा मुलुक समृद्ध भएको हेर्न आतुर बनायो । तर, देशी विदेशी शक्तिले ओलीको मुलुक समृद्ध बनाउने सपना साकार पार्न दिएन ।

संविधानसभाबाट संविधान जारी भएपछि भएको पहिलो आमनिर्वाचनमा एमाले र माओवादीको गठबन्धनले करिब दुईतिहाई बहुमत ल्यायो । एकबेला तेस्रो भएको एमाले देशको पहिलो ठूलो पार्टी बन्यो ।

पछि एमाले र माओवादीबीच पार्टी एकता भएर नेकपा बन्यो । नेकपाको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरे । ओलीले पहिलोचोटि प्रधानमन्त्री हुँदा राष्ट्रियताको सबालमा बहस चलाए । भारतको नाकाबन्दीविरुद्ध चीनसँग पारबहन सम्झौता गरे । त्यसले नेपाललाई भारतको मात्रै भर पर्नुपर्ने परिस्थितिको अन्त्य गरिदियो ।

लेखक

दोस्रोचोटि शक्तिशाली प्रधानमन्त्री भएका ओलीले भारतले दाबी गर्दै आएको कालापानी, लिपुलेकसहितको नक्सा संसदबाटै परित गरे । यसले ओलीसँगै आमनेपालीको उचाइ झन् बढ्यो ।

नेपाललाई आफ्नो स्वार्थको खेलौना बनाउने राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरुले उनका विरुद्ध अनेक थरी चलखेल गरे । तर ओलीलाई परास्त गर्न नसकेपछि पार्टी भित्रबाट ओलीलाई पराजित गर्न खोजियो । तर त्यस्तो षडयन्त्रका बाहकहरुसँग ओलीले कुनै सम्झौता गरेनन् ।

त्यसपछि उनी सोझै जनताका बीचमा गएर फैसला गर्न चाहन्थे । तर देशी विदेशी प्रतिक्रियावादीहरुले अदालतबाट परमादेशको नाटक गरेर नेपालको संविधानमाथि घात गर्दै ओलीलाई जनतामा जानबाट रोकियो । विपक्षमा र सडकमा भए पनि लाखौं कम्युनिष्ट क्रान्तीकारीहरुबीच नारायणी किनारमा विश्वव्यापी रुपमा साम्यवादी दलकै इतिहासमा अमरत्व प्राप्त गर्ने गरी अति नै विशिष्ट खालको शान्तिपूर्ण जनभेला गरेर नेपालको भावी राजनीति अब नेकपा एमालेले हाँक्ने छ भन्ने प्रमाणित गरिदिए ।

आज नेपालका सबै साम्यवादीहरुलाई एकीकरण गर्ने कुरामा भइरहेको कूटनैतिक चहलपहल र मित्र राष्ट्रहरुसंग भइरहेका आर्थिक राजनीतिक लेनदेनका कुरासमेत ओलीबिना असम्भव हुने निश्चित भइसकेको छ ।

ओलीको जस्तो उचाइ भएको, राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा परिपक्व नेता अर्को छैन भन्ने कुरा विभिन्न घटनाक्रमले पुष्टि गरिसकेको छ ।

राप्रपाका कमल थापा आफ्नै कार्यकर्ताबाट पराजित भए । शेरबहादुर देउवा दश थरी गुटहरुसंग सम्झौता गरेर अनेकौं तिकडमपछि फेरि कांग्रेस सभापति भए । माओवादी अध्यक्ष प्रचण्डमाथि त पार्टीलाई तानाशाही तरिकाले चलाएको र विरोध गरे आफ्नै दौतरीहरुको टाउको गिँड्न सक्ने हत्यारा राजनीति चलाएको आरोप छ । अन्य दलहरुमा पनि एकचोटि नेता भए कहिले पद नछोड्ने र भनेको जस्तो पद नपाए डा. बाबुराम भट्टराई जस्ताले दश खोलाको पानि चाख्दै हिँडेको दुःखद स्थिति पनि सबैले बुझेका छन् ।

नेताहरुमध्ये कार्यकर्ताको मन बुझ्ने मात्र होइन, सही नीतिमा आफ्नो दललाई हिँडाउने काम गर्न एमाले अध्यक्ष ओली सफल भएकोले नै जनता र कार्यकर्ताहरुले उनलाई ‘बा’ भनेर सम्मान गर्छन् । मुठीभरका देशघाती दलालहरुले तिललाई ताड बनाएर उनको व्यक्तित्वमाथि हमला गरिरहेका छन् ।

नेकपा एमाले नै हो, जसले वृद्ध तथा सामाजिक सुरक्षा भत्ता प्रदान गर्यो । सुकुम्बासीलाई पुर्जा र राष्ट्रलाई तुइनमुक्त गर्ने जस्ता कार्यक्रम ल्यायो । नेपाली आकाशमा धेरै विशिष्ट राजनीतिक नेता हुनुहुन्छ, आजको युगअनुसारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को दूरदर्शी नारा केपी ओलीले नै प्रस्तुत गरेका हुन् । नेतृत्वमा पुरुषलाई मात्र महत्व दिने परम्परालाई तोडेर राष्ट्रप्रमुखमा विद्यादेवी भण्डारी जस्तो युगद्रष्टा सहिद क. मदन भण्डारीकी पत्नीलाई ल्याउनुमा ओलीको भूमिका महत्वपूर्ण छ ।

अहिले अरु दलहरुले महिलालाई बढार्न लागि रहेको बेला क. ओलीको नेतृत्वमा एमाले पार्टीमा एकतिहाई महिला नेतृहरुलाई स्थापित गरिएको छ । यो अग्रगामी सोचलाई ओलीले व्यवहारमै उतारे ।

एमालेका लाखौं कार्यकर्ता मात्र होइन, आम जनसमुदायले भावी एक दशक ओली जस्तै देशभक्त, जनवादी र बहुलवादी विचार भएको नेताको नेतृत्वलाई सहर्ष स्वीकार गर्दा विपक्षीको मनमा चिसो पसेको छ ।

एमालेविरोधीहरु जनतामा जानको लागि अर्थात् निर्वाचन लड्न डराइरहेका छन् । र उनीहरु अदालतले परमादेश दिए जस्तै कुनै षडयन्त्रकारी तानाबाना बुन्न लागि परेका छन् । नेपाली जनता भने ओली जस्तो लोकप्रिय जननेतालाई फेरि पनि सिंहदरवारमा स्थापित गरेर समृद्ध नेपाल बनाउने र आफू सुखी हुने सपना साकार पार्न लालायित छन् ।

(लेखक नेकपा एमालेकी केन्द्रीय सदस्य हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *