स्व. पत्रकार नेपालको परिवारलाई ११ लाख सहयोग हस्तान्तरण – Nepal Press

स्व. पत्रकार नेपालको परिवारलाई ११ लाख सहयोग हस्तान्तरण

सिन्धुपाल्चोक । हृदयघातका कारण अल्पायुमा नै निधन भएका सिन्धुपाल्चोकका पत्रकार नानीराम नेपालको परिवारलाई प्रेस चौतारी सिन्धुपाल्चोकले आर्थिक सहयोग प्रदान गरेको छ ।

मंसिर २ गते पत्रकार नेपालको हृदयघात भएपछि उपचारको लागि अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो । पत्रकार महासंघ सिन्धुपाल्चोक र प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकका सहसचिव समेत रहेका नेपालको परिवारलाई सहयोग गर्ने उद्देश्यले प्रेस चौतारी नेपालले सहयोग कोष स्थापना गरेको थियो ।
कोषमा जम्मा भएको ११ लाख रुपैयाँ नेपालको ४५ औ्र दिनको पुन्यतिथिको अवसरमा उनको घरमै पुगेर हस्तान्तरण गरिएको हो ।

प्रेस चौतारी नेपाललले सामाजिक सञ्जालबाट स्वर्गीय नानीराम नेपालको परिवारलाई सहयोगका लागि आग्रह गरेको थियो । कोषमा ११ लाख जम्मा भएको र त्यो सबै रकम नेपालको परिवारलाई हस्तान्तरण गरिएको प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकका सचिव विदुर आचार्यले जानकारी दिए ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम वागमती प्रदेशका सांसद अरुण नेपालले स्वर्गीय नेपालको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।

कोषमा १ सय ७० जना सहयोगदाताहरुले सहयोग रहेको थियो । व्यक्तिगत रुपमा सबैभन्दा बढी राप्रपा सिन्धुपाल्चोकका अध्यक्ष निलध्वज थापाले ५१ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका थिए । त्यस्तै बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले ५० हजार, एमाले नेता आङदोर्जे शेर्पाले ३० हजार, उद्योग बाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत(राजकुमार) ले २५ हजार सहयोग गरेका थिए ।

त्यस्तै संस्थागत रुपमा नेकपा एमाले बलेफी गाउँपालिका कमिटीले १ लाख रुपैयाँ सहयोग गरेको थियो ।

स्वर्गीय पत्रकार नेपालको ४५ औ दिनको पुन्यतिथीमा उनकै गाउँ बलेफी गाउँपालिका ४ मा आयोजीत श्रदाञ्जली सभामा प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले २५ हजार र रेडियो मेलम्चीको तर्फबाट २० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो । यस अघि नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको तर्फबाट २ लाख रुपैयाँ सहयोग गरिएको महासंघका कोषाध्यक्ष नेत्रप्रसाद पौडेलले जानकारी दिए ।

श्रदाञ्जली सभामा नेकपा एमालेका पोलिटब्युरो सदस्य अरुण नेपाल,केन्द्रीय सदस्य सरेश नेपालले पत्रकार नेपालको परिवारलाई एमालेको तर्फबाट आर्थिक उपार्जन र परिवारको शिक्षादिक्षामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यस्तै बलेफी गाउँपालिकाले स्वर्गीय नानीराम नेपालको धर्मपत्नी सुशिला नेपाललाई उनको योग्यता अनुसारको रोजगारी गाउँपालिकाले प्रदान गर्ने गाउँपालिका अध्यक्ष केदार क्षत्रीले घोषणा गरे । त्यस्तै बलेफी गाउँपालिका भित्रका पत्रकारहरुलाई १० लाख रुपैयाँको जीवन विमा गरिदिने पनि अध्यक्ष क्षत्रीले घोषणा गरे ।

बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले पनि स्वर्गीय पत्रकार नेपालको परिवारको जीवन निर्वाहको लागि आफुहरुको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । स्वर्गीय पत्रकार नेपालको छोरा/छोरीलाई सदावहार बोर्डिङ खाडिचौरले १० कक्षासम्म निःशुल्क पढाउने विद्यालयकी प्रिन्सीपल दुर्गा थापा ले यसअघि नै घोषणा गरिसकेकी छन् ।

उनको परिवारका लागि सिन्धु सदावहार अस्पताल खाडिचौरले पनि निःशुल्क उपचार गर्ने अध्यक्ष कृष्ण क्षत्रीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *