राप्रपा र विवेकशील साझाबीच एकताको पहल सुरु, तर पार लाग्न कठिन – Nepal Press

राप्रपा र विवेकशील साझाबीच एकताको पहल सुरु, तर पार लाग्न कठिन

काठमाडौं । राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी र राजतन्त्रका विषयमा नरम दृष्टिकोण राख्ने विवेकशील साझा पार्टीबीच सम्भावित एकताको पहल सुरू गरिएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच आज भएको भेटवार्तामा एकताका विषयमा छलफल भएको थियो ।

लिङदेन नेतृत्वमा आएपछि राप्रपाले विचार मिल्नेहरूसँग सहकार्य र एकता गर्ने नीति लिएको छ । यसका लागि पार्टीको पहिलो केन्द्रीय समिति बैठकले महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा वार्ता समिति समेत बनाएको थियो । यही सिलसिलामा लिङदेन र राणा आज मिश्रलाई भेट्न उनको निवासमै पुगेका थिए ।

भेटघाटपछि नेपाल प्रेसलाई प्रतिक्रिया दिँदै मिश्रले दुई पार्टीबीच सम्भावित एकताको विषयमा अनौपचारिक कुराकानी भएको बताए । यद्यपि, यो सहज विषय नभएको उनको प्रतिक्रिया छ ।

‘राप्रपा विवेकशील साझामा आएर मिल्न सक्दैन, विवेकशील राप्रपामा मिल्न सक्दैन,’ मिश्रले भने, ‘तर, दुवै मिलेर नयाँ विकल्प सिर्जना गर्ने सम्भावनाको बारेमा हामी खुला छौं ।’

राप्रपा महामन्त्री डा. राणाले एकताको लागि पहल सुरू भएको बताए ।

उनले भने, ‘सामान विचार भएकाहरू एक ठाउँ उभिनुपर्छ भन्ने हाम्रो धारणा हो । विवेकशील-साझासँग यस विषयमा छलफलको सुरूआत भएको छ । तर, एकतासम्म पुग्न धेरै कुराहरू मिलाउनुपर्ने हुन्छ । हेर्दै जाउँ ।’

डा. राणाले एकताका विषयमा आफ्नो पार्टीभित्र छलफल हुने बताए । मिश्रले पनि ठोस प्रस्ताव आएको खण्डमा पार्टीमा छलफल हुनसक्ने उल्लेख गरे ।

विवेकशील साझाका अध्यक्ष मिश्रले केही समयअघि ‘विचारभन्दा माथि देश’ भन्दै नयाँ दस्तावेज सार्वजनिक गरेका थिए । उक्त दस्तावेजमा संघीयता उल्टाउनुपर्ने र धर्मनिरपेक्षतामाथि जनमतसंग्रह गर्नुपर्ने मिश्रले बताएका छन् । राजसंस्थाको विषयमा पनि सहानुभूति दर्शाइएको यो दस्तावेजलाई विवेकशील साझाको केन्द्रीय समितिले पारित गरिसकेको छ । यससँगै राप्रपा र विवेकशील साझा विचारधारात्मकरूपमा नजिकिएका हुन् ।

संघीयता उल्टाउनुपर्नेमा राप्रपा र विवेकशीलको मत मिलेको छ । यस्तै, धर्मनिरपेक्षताका विषयमा पनि उनीहरू नजिक भएका छन् । राप्रपा धर्मनिरपेक्षता पनि उल्टाएर हिन्दू राज्यमा फर्किनुपर्ने पक्षमा छ भने विवेकशील साझाले सोझै त्यसो नभने पनि यसको निर्णय जनतालाई गर्न दिनुपर्ने भनेको छ ।

राजसंस्थाको विषयमा भने दुई पार्टीमा अझै अन्तराल देखिन्छ । विवेकशील साझाले खुलेर राजसंस्थाको पक्षपोषण गरेको छैन । मिश्रको दस्तावेजमा नेपालमा गणतन्त्र आउनुमा विदेशीको हात रहेको औंल्याइए पनि गणतन्त्रलाई नै सुधारेर लैजानुपर्ने उल्लेख छ ।

राप्रपा र विवेकशीलको एकतामा धेरै जटिलता छन् । राप्रपा पुरातनपन्थी र पूर्वपञ्चहरूको पार्टीका रूपमा परिचित छ । याे घाेषितरूपमा राजावादी पार्टी हाे  । विवेकशील साझामा भने शिक्षत र शहरीया युवापुस्ताको बढी झुकाव देखिन्छ । सानो आकारका बाबजुद सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यस पार्टीले निकै स्पेस पाउने गरेको छ ।

संगठनको हिसाबले राप्रपा देशव्यापी सञ्जाल रहेको पुरानो पार्टी हो । यसको नेतृत्वमा पनि हस्ति नेताहरु भरिभराउ छन् । विवेकशील तुलनात्मकरुपमा नयाँ भएकाले यसको सांगठनिक संरचना निर्माणाधीन छ । पार्टीमा राष्ट्रिय छवि बनाएका नेता मिश्र मात्रै हुन् । पार्टीमा उत्पन्न पछिल्लो विवादले एउटा समूह अलग्गिने क्रममा पनि छ ।

गएको चुनावमा राप्रपाले भन्दा विवेकशीलले बढी मत ल्याएको थियो । संघीयता र धर्मनिरपेक्षताको विपक्षमा उभिएपछि पार्टीको जनमत ह्वात्तै बढेको र आगामी चुनावमा सुखद नतिजा आउने विश्वास विवेकशील साझाका नेताहरूले लिएका छन् । यद्यपि, एक्लैले ठूलो धक्का दिन सम्भव नभएकाले समान विचार भएकाहरू ध्रुवीकृत हुँदै जानुपर्ने पक्षमा मिश्र छन् ।

यता राप्रपाले पनि लिङदेनको रूपमा युवा नेतृत्व पाएको छ । कमल थापालाई हराएर लिङदेन निर्वाचित हुँदा पार्टीबाहिर पनि सकारात्मक तरंग देखिएको थियो । यसले पार्टीपंतिमा उत्साह बढाएको छ । यद्यपि, महाधिवेशनपछि असन्तुष्ट बनेका कमल थापाले पार्टी फुटाउन सक्ने चर्चा पनि सुरू भएको छ ।

वैचारिकरूपमा केही समानता भए पनि दुवै पार्टीकाे  आ–आफ्नै लिगेसी, अलग–अलग राजनीतिक धरातल तथा पुस्तान्तारणका कारण पनि याे एकता प्रयासले सार्थकता पाउन कठीन नै देखिन्छ । खासगरि राप्रपासँग एकताकाे विषय विवेकशीलकाे पार्टीपंतीलाइ रूचीकर नलाग्छ सक्छ ।

राप्रपाले रवीन्द्र मिश्रको दस्तावेज पारित गरेपछि आलोचकहरुले उनलाई ‘बरू राप्रपासँग एकीकरण गर्न’ सुझाव दिएका थिए । व्यंग्यात्मकरुपमा यस्तो सुझाव दिइएको भए पनि राप्रपा र विवेकशील साझा साँच्चै एकताका लागि प्रयास हुनु नेपाली राजनीतिको रोचक प्रसंग हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर