तुल्सीपुर खानेपानीमा कांग्रेसका गिरीबन्धुको भिडन्त, ९ दलले कांग्रेसलाई छाड्दा गेहेन्द्र पक्ष बागी – Nepal Press

तुल्सीपुर खानेपानीमा कांग्रेसका गिरीबन्धुको भिडन्त, ९ दलले कांग्रेसलाई छाड्दा गेहेन्द्र पक्ष बागी

दाङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सकिएलगत्तै त्यसका बाछिटा दाङको राजनीतिमा देखिन थालेका छन् । कांग्रेस केन्द्रीय कार्य समितिका नवनिर्वाचित दुई केन्द्रीय सदस्य सहोदर दाजु भाइ भए पनि गुट फरक परेका कारण त्यसको असर तुल्सीपुर खानेपानीको निर्वाचनमा देखिएको हो । अन्य पार्टीका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको अवस्थामा कांग्रेसभित्रका उम्मेदवारले भने उम्मेदवारी फिर्ता लिएका छैनन् ।

दीपक गिरी र गेहेन्द्र गिरी दाजुभाइ हुन् । तर, केन्द्रको निर्वाचनमा दिपक शेखर कोइराला प्यानलबाट खुला केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने गेहेन्द्र शेरबहादुर प्यानलबाट खसआर्य कोटाबाट जितेका थिए ।

खानेपानीमा दीपक गिरी प्यानलको काउन्टरमा गेहन्द्र गिरीको समूह सक्रिय भएका छन । कांग्रेस दाङ भित्र गेहेन्द्र र दीपकबीच गुटको लडाइँ चर्को छ ।

तुल्सीपुर खानेपानीको अध्यक्ष कांग्रेसको भाग परेको छ । त्यसमा दीपक गरी निकट मानिने यमकान्त भण्डारीलाई अध्यक्षको उम्मेदवार बनाइएको छ । उनी यातायात व्यवसायी पनि हुन् । यातायात व्यवसायी सुरेश हमाल नै अध्यक्ष भएको कांग्रेस तुल्सीपुरले भण्डारीलाई नै अध्यक्षको आधिकारिक उम्मेदवार बनायो । अब उनी कांग्रेसका मात्रै उम्मेदवार रहेनन् । उनी तुल्सीपुरमा क्रियाशील ९ दलका तर्फबाट अध्यक्षका उम्मेदवार हुन् । तर, उनलाई सर्वसम्मत बन्न नदिन उनको काउन्टरमा यातायात व्यवसायीलाई नै अगाडि सारियो । उनी हुन्, कांग्रेसभित्र गेहेन्द्र गिरीनिकट मानिने पवन बुढाथोकी ।

अब ९ दलका उम्मेदवार दीपक गिरी प्यानलनिकट मानिने यमकान्त भणडारीसँग उनकै पार्टीभित्रका (गेहेन्द्र गिरीनिकट मानिने) पवनराज बुढाथोकीको चुनावी प्रतिस्पर्धा हुनेछ । अध्यक्षका अर्का उम्मेदवार दीपक धिताल नेपाली कांग्रेस वीपीका नेता हुन् । उनी यसअघिको खानेपानीको निर्वाचनमा आफूलाई आधिकारिक उम्मेदवार नबनाएपछि कांग्रेसभित्रकै उम्मेदवारविरुद्ध बागी हालेका थिए । उनले उक्त निर्वाचनम हार व्यहोरेका थिए । त्यसपछि उनले काँग्रेस पार्टी नै परित्याग गरेका थिए ।

उपध्यक्षमा पनि कांग्रेसभित्रको लडाइँ छताछुल्ल देखिएको छ । ९ दलको गठबन्धनबाट उपाध्यक्षमा माओवादीको भागमा पारेको थियो । माओवादीले आफ्नो तर्फबाट उपाध्यक्षमा सिताराम शर्मालाई उम्मेदवार बनाएको छ ।

अर्को उपाध्यक्षमा कांग्रेसका गेहेन्द्र गिरीनिकट मानिने गिरीधारी न्यौपानेले उम्मेदवारी हालेका छन् । उनको काउन्टरमा पूर्ण प्रसाद धिताल दीपक गिरी निकट मानिनेले उम्मेदवारी हालेका छन् । गिरीधारीले उम्मेदवारी फिर्ता लिए मात्रै धितालले उम्मेदवारी फिर्ता लिने अडान राखेपछि दुवैले उम्मेदवारी फिर्ता लिएनन् ।

सचिव एमालेको भागमा परेको थियो । एमालेका सेवकराम भण्डारीलाई ९ दलको आधिकारिक उम्मेदवारका रूपमा अघि सारियो । तर, उनको काउन्टरमा एमालेकै दामोदर लामिछानेले उम्मेदवारी दिए । कोषाध्यक्ष विप्लवनिकट नेकपाको भागमा परेको थियो । पार्टीले भद्रबहादुर वलीलाई उम्मेदवारका रूपमा पठाएको छ । उक्त पदमा पनि ४ जनाको उम्मेदवारी परेको छ । जसमा कांग्रेसका मेघराज न्यौपाने, माओवादी केन्द्रका कर्णबहादुर वली, कांग्रेसमै भोला थापाको उम्मेदवारी परेको छ । थापा गेहेन्द्र गिरीपक्षीय हुन् ।

त्यस्तै २ जनाको कोटा रहेको पुरुष सदस्यमा तीनजनाको उम्मेदवारी परेको छ । पदमबहादुर खड्का, लक्ष्मण केसी र शोविन्द्र चन्दको उम्मेदवारी परेको छ । उनीहरु तीनजनाबीच निर्वाचन हुनेछ । आधिकारिक उम्मेदवार राप्रपाका लक्ष्मण केसी र राप्रपाका पदमबहादुर खड्का रहेका छन् । तीनजना महिला सदस्यमा भने निर्विरोध भएको छ । एमालेका आशा जीसी, जनता समाजवादीका गीता विष्ट र जनमोर्चाका छमा भण्डारी निर्विरोध भएका छन् । १० जनाको महिला सदस्यमा उम्मेदवारी परेको थियो । तीमध्ये ७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर