सीईओ रेग्मीलाई मन्त्रीको चेतावनी- चारवटा गाडी बेचेर प्रेम आलेको इमान खरिद गर्ने नसोचे हुन्छ (भिडिओ) – Nepal Press

सीईओ रेग्मीलाई मन्त्रीको चेतावनी- चारवटा गाडी बेचेर प्रेम आलेको इमान खरिद गर्ने नसोचे हुन्छ (भिडिओ)

‘विगतमा काले-काले मिलेर भाले खानेहरूले सोचे हुन्छ, अब आयो प्रेम आले’

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफ्नो मन्त्रालय अन्तर्गतका संस्थाहरूमा जताततै विकृति रहेको भन्दै सम्हाल्नै गाह्रो परेको गुनासो गरेका छन् ।

नेपाल पर्यटन बोर्डको स्थापना दिवसका अवसरमा शुक्रबार बोर्डमा आयोजित कार्यक्रममा मन्त्री आलेले हाल छानबिनमा रहेको सीईओ धनन्जय रेग्मीबाट संस्था चल्न नसक्ने बताए ।

मन्त्री आलेले हालै लण्डनमा आयोजित विश्व पर्यटन मेलामा सीईओ रेग्मीका कारण नेपालकै बेइज्जत भएको भन्दै आफ्नो इमान किन्न खोजेको आरोप लगाए । विगतमा जस्तो काले-काले मिलेर खाउँ भाले भन्ने तरिकाले अब काम नहुने भन्दै अब प्रेम आलेको स्टाइलमा काम हुनुपर्ने बताए ।

मन्त्री आलेले पर्यटन बोर्डका निलम्बित सीईओको हर्कतबारे यसो भने:

लण्डनमा आयोजित विश्व पर्यटन मेलामा १६ देशका मन्त्री थिए । नेपालबाट मेरै नेतृत्वमा गयौं । तर, सीईओको धन्दा चाहिँ जाँड खाने र रमाइलो गर्नेमात्र रहेछ । अन्तिममा त्यो फोरममा मैले बोल्न पाइन । त्यो त मुलुकुक बेइज्जत भयो । म इरिटेड भएँ । यस्तो साँढेलाई सीईओ बनायो भने संस्था चल्छ ? केही कुरा तपाईंहरूका मागका विषयमा छलफलमा हुँदा पनि बोर्ड सदस्यले यस्तो नगरौं संस्था डुब्छ भन्दा आज तपाईं रिसाउनुभयो जाउँ हिँड्नु रक्सी खान भन्ने उनको चलन रहेछ । दुःखको साथ भन्न चाहान्छु लण्डनमा हुँदा ६ बजे कार्यक्रम भन्यो साढे ७ मा सुरू भयो । डेढ घण्टा म चिसोमा उभिएँ । सबैले स्याम्पेन खाइरहेका छन् । म नखाने मान्छे साइडमा बसे । हाम्रो साँढेले पनि भटाभट मगाइरहेको छ । आफ्नै आँखाले देखिरहेको छु । मलाई पनि खा भन्छ । पहिलाको मन्त्री जस्तो ठान्या होला प्रेम आलेलाई । लण्डनमा पुरानो व्यवसायी हुनुहुन्छ नेपाली साथी । उहाँले डिनरमा बोलाउनुभयो । त्यहाँ गइसकेपछि भटाभट ह्वीस्की तानेको छ । के कामको लागि आएको भन्ने मतलबै छैन । यस्तो मान्छेलाई सीईओ बनाइएर चल्छ ? चारवटा गाडी टोयोटाको बेचेर प्रेम आलेको इमान खरिद गर्ने कुरा नसोचे पनि हुन्छ ।

डब्लुटीएममा जाँदा सबैभन्दा सानो स्टल हाम्रो थियो । त्यसमा पनि गैंडा भएपछि अट्न पनि गाह्रो । मैले सुन्दैछु लण्डन जाँदा बोर्डको ८० लाख खर्च भयो भनेर बिल पेस भएको छ रे । त्यहाँ खानसमेत मैले पकेटबाट व्यहोरेको छु । बस्न लागि सचिवज्यू र दूतावासमा बसेका छौं । होटल र खानामा एक रूपैयाँ खर्च भएका छैन । असी लाख बील आयो भन्नुभएको छ, असी लाख कसरी आयो ? मेरो टिकट मन्त्रालयले व्यहोरेको छ । छानविन होस् । छानबिन गर्नुस् र कानुनी दायरमा ल्याउनुस् । त्यो धन्दा अब चल्नेवाला छैन ।

कार्यक्रममा मन्त्री आलेले आफू इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने प्रष्ट पार्दै विकृतिविरुद्ध साथ दिन आग्रह गरे । उनले पर्यटन विभागको पछिल्लो सेटिङवाला ठेक्का रद्द गराएको सुनाउँदै भने, ‘विगतदेखि नै यस्तै थियो हजुर भन्छन् । विगतमा काले-काले मिलेर भाले खाए होलान, तर अब आयो प्रेम आले ।’

हालै त्रिभुवन विमानस्थलभित्र सरसफाइको टेण्डर निस्किएकोमा ३ करोड २३ लाखलाई नदिएइर ३ करोड ७२ लाखको ठेकेदारलाई दिन लागिएकोमा आफूले हस्तक्षेप गरेको मन्त्री आलेले सुनाए ।

उनले भने, ‘स्पेसिफिकेशन मिलेन भनेर ४९ लाख कम कबोल गर्नेलाई दिएनन् । मैले भनेँ, ट्वाइलेट सफा गर्न के को स्पेशिफिकेशन ? ३ करोड ७२ लाखवालाले हातको साटो टाउकोले सफा गर्ने हो ? यस्तो अब चल्नेवाला छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर