धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा सत्तारुढ दलभित्रै रस्साकस्सी, देउवा र प्रचण्डको आ-आफ्नै लबिङ – Nepal Press

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा सत्तारुढ दलभित्रै रस्साकस्सी, देउवा र प्रचण्डको आ-आफ्नै लबिङ

काठमाडौं । सत्तागठबन्धनको भागबण्डाको चपेटामा विभिन्न राजनीतिक नियुक्ति हुने निकायहरू परेका छन् । यसको पछिल्लो मारमा सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड परेको छ ।

तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना निलम्बनमा परेपछि नयाँ अध्यक्ष नियुक्तिका लागि सत्तारुढ घटक कांग्रेस र माओवादीको स्वार्थ बाझिएपछि नियुक्ति प्रक्रिया अनिश्चित भएको छ ।

ढुंगानालाई निलम्बन गरेर दुई महिनाअघि नै नयाँ नियुक्तिको प्रक्रिया अगाडि बढेको थियो । ११ कात्तिकको विज्ञापनअनुसार अध्यक्षका लागि १२ जनाले उम्मेदवारी दिए पनि छनोट तथा सिफारिस समितिले तीनजनाको नाम सिफारिस गर्न सकेन ।

र, आज पुन: अर्को सूचना निकालेर २९ पुसभित्र आवेदन मागिएको छ । यसअघि आवेदन दिएकाहरूलाई पनि फेरि आवेदन दिन वा आवेदन फिर्ता लिन चाहेमा म्यादभित्र फिर्ता लिन सूचनामा भनिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ ले अर्थमन्त्रालय आफ्नो भागमा परेको र सोमन्त्रालय अन्तर्गतको विभाग र बोर्डहरूको नियुक्ति आफूले पाउनुपर्ने अडानमा रहेको स्रोतको भनाइ छ । तर, प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा माओवादीलाई दिने पक्षमा छैनन् ।

केही समयअघि पार्टीको कार्यक्रममा प्रचण्डले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पूँजीको लगानी पूँजीबजारमा हुनु साम्राज्यवादको विकसित रुप भएको टिप्पणी गरेका थिए । नेपालको सेयरबजार निरन्तर ओरालो लागिरहेको समयमा प्रचण्डको यो अभिव्यक्तिको सर्वत्र विरोध भएको थियो ।

देउवाले बोर्डको अध्यक्षमा रमेश हमाललाई ल्याउँन चाहेका छन् । हमालले यूएनमा समेत काम गरिसकेका छन् । हमाललाई अध्यक्ष बनाउनका लागि अर्थमन्त्री र प्रचण्डसँग लबिङका लागि प्रधानमन्त्रीपत्नी आरजु राणा र पूर्वअर्थमन्त्री रामशरण महतलगायतको दौडधुप छ ।

यता प्रचण्डको नजर चिरञ्जीवी चापागाईंमा छ । चापागाईंले नेपाल राष्ट्र बैंकमा र बीमा समितिको अध्यक्ष भइ काम गरेका थिए । अर्थमन्त्री जनार्दन शर्मा र माओवादीका अध्यक्ष प्रचण्ड पनि चापागाईंलाई अध्यक्ष बनाउने पक्षमा रहेका छन् । अर्थमन्त्री जनार्दन शर्मा पनि अर्थतन्त्र बुझेको व्यक्ति भएको भन्दै चापागाईंको पक्षमा रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

पूर्वगर्भनर दिपेन्द्रबहादुर क्षेत्रीले धितोपत्र बोर्डको अध्यक्षका लागि पुनः आवेदन खोलेर खेल सुरू गरेको टिप्पणी गरेका छन् ।

क्षेत्रीले भने, ‘धितोपत्र बोर्डमा अर्थतन्त्र बुझेको र काम गरेको व्यक्तिलाई नै अध्यक्ष बनाउदा राम्रो हुन्छ । चिरञ्जीवी चापागाईंले नेपाल राष्ट्र बैंकमा लामो समय काम गरेका छन् । त्यसपछि उनले बीमा समितमा पनि अध्यक्षको रुपमा काम गरेकाले उनी बार्डको अध्यक्ष हुन योग्य व्यक्ति हुन् । नेपालमा राम्रा भन्दा पनि हाम्रा मान्छेलाई नियुक्ति दिने प्रचलन छ । सरकारले नियुक्ति दिदा त्यो क्षेत्रमा बुझेको मान्छे ल्याउँदा देशका लागि राम्रो हुन्छ । तर दोस्रो पटक आवेदन निकाल्नु राम्रो कुरा हैन । त्यहाँ केही केही भइनै रहेको छ भनेर बुझ्नुपर्छ ।’

पहिलेको सूचनाअनुसार यसअघि बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र उपकार्यकारी निर्देशक नवराज अधिकारी, बोर्डकै पूर्वकर्मचारी जीवन अमगाई, बीमा समितिका निवर्तमान अध्यक्ष चिरञ्जिवी चापागाईं, नेपाल स्टक एक्सचेञ्जका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, कर्मचारी सञ्चय कोषका पूर्वप्रमुख कृष्ण आचार्य, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा पुँजीबजार विज्ञ गोपाल भट्ट, वित्तीय विज्ञ रमेश हमाल, सहरी विकास कोषका उपनिर्देशक अनिल पौडेल, अम्बिका शर्मा, केशव श्रेष्ठ र हेमन्त बस्यालले आवेदन दिएका थिए ।

पहिलेको अध्यक्ष छनौट समितिमाथि नै प्रश्न उठेपछि मन्त्रिपरिषद् बैठकबाट नयाँ समिति गठन भएको छ । सो समितिले ३ जनाको नाम सिफारिस गर्नुपर्ने भए पनि केही निर्णय गर्न सकेन ।

नयाँ छनौट समितिको नेतृत्वमा योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल छन् । सो छनौट समितिमा पनि पौडेल नै अर्थ सचिव मधु मरासिनी र विज्ञ सदस्यमा डा. जिवनाथ भुसाल रहेका छन् । पहिले पनि छनौट समितको नेतृत्व पौडेलले नै गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर