मेयरले प्रशासकीय अधिकृत फेर्न खोजेपछि माडी नगरपालिकामा विवाद – Nepal Press

मेयरले प्रशासकीय अधिकृत फेर्न खोजेपछि माडी नगरपालिकामा विवाद

चितवन । माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले काम गर्न सहज नभएको भन्दै प्रमुख प्रशासकीय अधिकृत हटाउन खोजेपछि विवाद सुरू भएको छ ।

बहालवाला प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमसँग मनमुटाव बढेपछि मेयर ढकालले शिक्षा शाखा प्रमुख पुष्पराज ढकाललाई जिम्मेवारी दिन खोजेका छन् । संघीय मामिला मन्त्रालयलाई मंसिर १५ गते पत्र लेखेर उनले नगरपालिकाको कार्यसम्पादन सहज बनाउन गौतमलाई अन्यत्र व्यवस्थापन गरी ढकाललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन भनिएको छ । सो पत्र सामाजिक संजालमा बाहिरिसकेको छ ।

मेयरले च्यापेका ढकाल माओवादी नेता गिरिराजमणि पोखरेल शिक्षामन्त्री हुँदा सचिवालयमा रहेर काम गरेका व्यक्ति हुन् । उनी गौतम आउनुअघि २०७७ असोज १३ देखि प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए काम गरेका थिए । मन्त्रालयले २०७७ फागुन २६ गते गौतमलाई प्रमुख प्रशासकीय अधिकृतमा खटाउँदै २०७८ वैशाख ७ देखि ढकाललाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो ।

दोलखाको जिरी नगरपालिकाबाट सरुवा भइ आएका गौतम गत वैशाख १६ देखि माडीमा कार्यरत छन् । संघीय सरकारले खटाएका कर्मचारीलाई कार्यपालिकामा छलफल नै नगरी हटाउन खोजेको भन्दै मेयर ढकालको विरोध भइरहेको छ ।

माडी प्रचण्डको निर्वाचन क्षेत्रसमेत हो । माडीमा माओवादी नेताहरू आउँदाजाँदा केही होटलको खर्च नगरपालिकाको नाममा छ । माइन्यूटबिनै गरिएका जथाभावी खर्चको बिल भुक्तानी गर्न नमानेपछि प्रमुख प्रशासकीय अधिकृत गौतमसँग मेयर ढकाल रुष्ट भएको स्रोतले बताएको छ ।

गौतम प्रमुख प्रशासकीयका रूपमा हाजिर हुन आउने क्रममा उपमेयरले पठाएको गाडीमा वैशाख पहिलो साता आउन खोज्दा वडाध्यक्ष र वाईसीएल नेताले नआउन चेतावनी दिएको समाचार बाहिरिएको थियो ।

मेयरले एकलौटी निर्णय गरेको भन्दै आज सर्वदलीय बैठकसमेत राखिएको छ ।

माडी प्रचण्डको निर्वाचन क्षेत्रसमेत हो । माडीमा माओवादी नेताहरू आउँदाजाँदा केही होटलको खर्च नगरपालिकाको नाममा छ । माइन्यूटबिनै गरिएका जथाभावी खर्चको बिल भुक्तानी गर्न नमानेपछि प्रमुख प्रशासकीय अधिकृत गौतमसँग मेयर ढकाल रुष्ट भएको स्रोतले बताएको छ ।

रोकिएको जग्गा प्लटिङ कार्य अगाडि बढाउनसमेत प्रमुख प्रशासकीय अधिकृत फेर्न खोजिएको विपक्षी दलहरूले आरोप लगाएका छन् । माडी नगरपालिकामा करिब ३५ करोड बराबरको बेरुजु रहेको बताइएको छ ।

चुनावी वातावरण सहज बनाउन आफू अनुकुल प्रशासकीय अधिकृत परिवर्तन खोजिएको भन्दै दलहरूले विरोध जनाएका छन् ।

यस्तो छ मेयर ढकालले मन्त्रालयलाई लेखेको पत्र :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर