सिन्धु एमाले अधिवेशनमा होमियो- यी हुन् अध्यक्ष र सचिवका उम्मेदवार – Nepal Press

सिन्धु एमाले अधिवेशनमा होमियो- यी हुन् अध्यक्ष र सचिवका उम्मेदवार

चौतारा । नेकपा एमाले सिन्धुपाल्चोकको नवौं जिल्ला अधिवेशनको मिति नजिकिँदै गर्दा आगामी नेतृत्वका लागि नेताहरूको दौडधूप सुरू भएको छ । केही दिनअघि सम्पन्न एमालेको जिल्ला कमिटीको बैठकले पुस २३ गते बाह्रविसेमा नवौं जिल्ला अधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो ।

वडा, पालिका हुँदै केन्द्रीय अधिवेशनसम्म आइपुग्दा सर्वसम्मत नेतृत्व छनोट गरेको एमालेको नवौं जिल्ला अधिवेशनमा पनि सर्वसम्मत नेतृत्व छनोटका लागि नेताहरूले कसरत गरेका छन् । गुट अन्त्य भएर एकताबद्ध एमाले निर्माणका लागि नेताहरूले अभियान सुरू गरे पनि भित्रीरूपमा भने आफूनिकटका नेतालाई आगामी नेतृत्वमा ल्याउनका लागि केन्द्रीयस्तरका नेताहरू लागिरहेका छन् ।

माधव नेपाल एमालेमा रहँदा सिन्धुपाल्चोकमा नेपाल पक्षको पकड राम्रो थियो । तर, अहिले माधव नेपालले एमाले छाडेर गएपछि १० बुँदे सहमतिका आधारमा एमालेमा नै रहेका नेताहरईलाई क्लीवन स्वीप गराउने भन्दै केही नेताहरू लागेको एमाले नेताहरूले जानकारी दिएका छन् ।

वर्तमान अध्यक्ष झम्क नेपाल नेतृत्वबाट बिदा हुँदैछन् । नेपालको बिदाईसँगै आगामी कार्यकालको अध्यक्षका लागि एमाले वागमती प्रदेश कमिटीका सदस्यसमेत रहेका बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले अध्यक्षमा उमेदवारी घोषणा गरिसकेका छन् । त्यस्तै अध्यक्षमा वर्तमान सचिव एवं लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपाल पनि आकांक्षी छन् । उनीहरू दुवै १० बुँदे सहमतिपछि एमालेमा नै रहेका नेताहरू हुन् ।

त्यस्तै तत्कालीन नेकपा विभाजनपछि हालका अध्यक्ष भम्क नेपाल प्रचण्ड-माधव पक्षमा लागेका कारण केपी ओली पक्षले जिल्ला अध्यक्ष बनाएका बालकृष्ण देउजा पनि यसपटक अध्यक्षको दाबेदार हुन् । उनी १० बुँदे सहमतिपछि अध्यक्षबाट हटेका थिए ।

एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, केन्द्रीय सदस्यहरू सरेश नेपाल, दावा तामाङलगायतका नेताहरू देउजालाई अध्यक्ष बनाउने गृहकार्यमा लागेका छन् ।

एमाले पोलिटब्यूरो सदस्य अरुण नेपाललगायतका नेताहरू भने केदार क्षेत्री र कमल नेपालमध्ये एकजनालाई अध्यक्ष बनाउने अभियानमा लागेका छन् । सर्वसम्मत नेतृत्व चयन हुने अवस्थामा मात्रै आफूले अध्यक्षमा दाबी गरेको अध्यक्षका आकांक्षी वर्तमान सचिव कमल नेपालले बताए ।

अर्का उमेदवार क्षत्री भने चुनाव भएपनि सर्वसम्मत भएपनि यो पटक आफू ब्याक नहुने बताउँछन् । केन्द्रीय सदस्यमा समेत उम्मेदवारी हालेका क्षेत्रीले आफूले उमेदवार फिर्ता लिदै गर्दा नेताहरूले जिल्ला नेतृत्वमा आउनका लागि सहयोग गर्ने बचन दिएकाले पनि आफू अब ब्याक नहुने क्षत्रीले बताए ।

अध्यक्षका अर्का आकांक्षी बालकृष्ण देउजा भने पार्टीलाई एकताबद्ध बनाएर लैजाने नेतृत्व चाहिने बताउँछन् ।

अध्यक्षपछि अर्का शक्तिशाली पद सचिवमा पनि धेरैले आकांक्षा व्यक्त गरेका छन् । वर्तमान उपसचिव सूर्य लामा, अनेरास्ववियूका पूर्वअध्यक्ष जेपी सिलवाललगायतका नेताहरू सचिवमा उमेदवारी दिने बताएका छन् ।

अखिलका पूर्वअध्यक्ष सिलवालले सामाजिक सञ्जालमार्फत सचिव पदमा उमेदवारी घोषणा गरिसकेका छन् । त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका कृष्णगोपाल तामाङ पनि सचिवको आकांक्षी छन् ।

अन्य जिल्लामा १० बुँदे सहमतिपछि दुवै कमिटी समायोजन भए पनि सिन्धुपाल्चोकमा भने २५ औं बैठकमा मात्रै दुवै कमिटी समायोजन गरिएको छ । समायोजनपछि झम्क नेपाल संयोजक र बालकृष्ण देउजा सहसंयोजक रहने गरी ५ सय ८५ सदस्य अधिवेशन आयोजक कमिटी गठन गरिएको छ । यो कमिटीमा आठौं जिल्ला अधिवेशनबाट निर्वाचित र बालकृष्ण देउजाको अध्यक्षतामा गठन गरिएको समान्नतर कमिटीका सदस्यहरूसमेत रहेका छन् ।

अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न नेताहरूको संयोजकत्वमा उपसमितिहरू समेत गठन गरिएको एमाले जिल्ला सचिव कमल नेपालले जानकारी दिए । अधिवेशनमा जिल्लाभरका सबै संगठित सदस्यहरू मतदाता हुने एमाले नेताहरूबीच सहमति भएको छ ।

सिन्धुपाल्चोकमा १९ हजार संगठित सदस्यताको आधारमा केन्द्रीय महाधिवेशनमा प्रतिनिधिहरू छनोट भएका थिए । सबै संगठित सदस्य मतदाता हुने र सर्वसम्मत नेतृत्व छनोट हुन नसके पालिकास्तरमा मतदानमार्फत नेतृत्व चयन हुने एमाले नवौं जिल्ला अधिवेशनका लागि निर्वाचन समितिका संयोजक भेषराम ढकालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *