पराजय हाँसीहाँसी स्वीकार्छौं, निर्मल निवासको हस्तक्षेप स्वीकार्दैनौं – Nepal Press
विचार

पराजय हाँसीहाँसी स्वीकार्छौं, निर्मल निवासको हस्तक्षेप स्वीकार्दैनौं

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन हालै सम्पन्न भएको छ । यस महाधिवेशनअन्तर्गत अध्यक्षको निर्वाचनका क्रममा बाह्य हस्तक्षेपका दृष्यहरू सतहमा देखा परे, जसले गर्दा प्रतिस्पर्धा स्वस्थ हुन सकेन । र, यस विषयमा हाम्रो पक्षबाट व्यक्त भएको असहमतिलाई लिएर विभिन्न टिकाटिप्पणीहरू भइरहेका छन् ।

कमल थापा र उनका समर्थकहरूलाई पराजय स्वीकार्न गाह्रो भएको हो कि भन्ने संशय धेरै मानिसहरूमा देखिएको छ, जुन विलकुल असत्य हो । महाधिवेशनको निर्णयलाई आत्मसात गर्न हामीलाई केही समस्या र आपत्ति छैन । अझ, कमल थापाजस्तो ‘स्पोर्टसम्यान स्प्रीट’ भएको नेतालाई त झन् यसमा समस्या हुने कुरै भएन ।

भृकुटीमण्डपमा महाधिवेशनको क्रममा भएका प्रतिस्पर्धालगायत सबै विषयवस्तु हामी भृकुटीमण्डपमा नै छोड्न तयार छौं । बिर्सन तयार छौं । तर, जुन ढंगबाट राप्रपाको महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप भएको छ, त्यो स्वीकार्य हुन सक्दैन । राप्रपाले बोकेको, आत्मसात गरेको सिद्धान्त र आदर्शमाथि प्रश्नचिन्ह उठ्नेगरी यो हस्तक्षेप भएको छ । यसले पार्टीले आजका दिनसम्म अंगिकार गर्दै आएको मूल्य-मान्यतामाथि गम्भीर प्रश्न चिन्ह खडा गरेको छ ।

पछिल्लो अभिव्यक्ति र क्रियाकलाप हेर्दा राप्रपाको नयाँ नेतृत्वले पार्टी एकता र वृहत्तर हितभन्दा भजनमण्डलीको मार्गतर्फ अघि बढेको छनक पाइन्छ । एउटा पार्टीप्रति प्रतिबद्ध कार्यकर्ताको तहबाट भन्न चाहन्छु, दुर्घटनाको बाटो नेतृत्वले रोज्नु हुँदैन । हामी अझै आशावादी छौं, नेतृत्व अवश्य गम्भीर बन्नेछ ।

हामी राप्रपालाई आम नेपाली जनताको पार्टी बनाउन चाहन्छौं । प्रजातन्त्रिक विधि र पद्धति अनुसार चल्ने पार्टी बनाउन चाहन्छौं । महाधिवेशनमा को जित्यो, को हार्‍यो त्यो प्रधान विषय होइन र बन्नु हुँदैन । हामीले बोकेको आदर्श संस्थाको भूमिकामाथि प्रश्न उठेकोले मात्र यो विषय जटिल बनेको हो । हामी कांग्रेस, एमाले, माओवादी, मधेशवादी सबैलाई स्विकार्य हुने साझा संस्थाको परिकल्पना गरेका हौं । तर, त्यो संस्थाले चाहिँ सबैको अभिभावक नभएर राप्रपा पार्टीभित्र पनि एउटा गुट, समूह वा व्यक्तिको पछि लाग्ने साँघुरो बाटो हिँड्न रहर गरेकोले प्रश्न उठाउन वाध्य भयौं ।

राप्रपालाई अघि बढाउनको निमित्त, सशक्त बनाउनको निमित्त, जनताको माझमा लैजानको निमित्त हामी मन, वचन र कर्मले प्रतिबद्ध छौं । नयाँ नेतृत्वलाई सहयोग गर्न हामी कुनै कसर बाँकी राख्दैनौ । हामी काँधमा काँध मिलाएर काम गर्न तयार छौ । हाम्रो निमित्त व्यक्ति प्रधान विषय होइन । पार्टी, संगठन महत्वपूर्ण विषय हो । तर पार्टीभित्र कुनै इस्यू उठेपछि त्यसको निराकरण हुनुपर्छ भन्नेमा हामी दृढ छौं । हामी कसैलाई आग्रह-पूर्वाग्रहको नजरले हेर्दैनौं । कोहीमाथि पनि त्यो व्यवहार हुनु हुँदैन भन्ने मान्यतामा हामी विश्वास गर्छौं । पार्टीलाई व्यवस्थित र प्रजातान्त्रिक ढंगबाट संचालन गर्नको निमित्त हामी सहयोगी बन्न चाहन्छौं । राप्रपाले विधिमा विश्वास गरोस्, प्रक्रियामा विश्वास गरोस्, हामी यो चाहन्छौं ।

केन्द्रीय कार्यसमितिमा उठेका विषय, निवर्तमान केन्द्रीय अध्यक्षले उठाएका विषयलाई नजरअन्दाज गरेर अघि बढ्ने भुल नहोस् भन्ने हाम्रो चाहना हो । महाधिवेशनको क्रममा निर्मल निवासको भूमिकाको विषयलाई निप्टारा लगाउँदा नेतृत्वको नै उचाई बढ्छ र निर्मल निवासमा बस्ने मान्छेलाई पनि फाइदा हुन्छ । पार्टी एकता पनि अक्षुण्ण रहन्छ । निर्मल निवासको विषयलाई हामीले क्लियर गर्दा घाटा कसैलाई छैन, सबैको हित हुन्छ ।

मीठो कुरा गर्ने, तर व्यवहारमा निषेध गर्ने प्रवृत्ति पार्टी निर्माणको निमित्त घातक हुन सक्छ । पार्टीमा यो-यो विषय उठाउन वर्जित छ भन्ने छैन । सबै विषय खुल्ला छ । म फराकिलो छु, दूरदर्शी छु, सबैलाई समेट्छु, सबैको कुरा सुन्छु भन्ने, तर यो विषयमा छलफल हुन सक्दैन भन्ने कुरो आफैंमा विरोधाभाषपूर्ण छ । नेतृत्वले उठेका विषषयलाई गम्भीरतापूर्वक लिनुपर्दछ ।

कमल थापा र उनका समर्थकहरूलाई पराजय स्वीकार्न गाह्रो भएको हो कि भन्ने संशय धेरै मानिसहरूमा देखिएको छ, जुन विलकुल असत्य हो । महाधिवेशनको निर्णयलाई आत्मसात गर्न हामीलाई केही समस्या र आपत्ति छैन । अझ, कमल थापाजस्तो ‘स्पोर्टसम्यान स्प्रीट’ भएको नेतालाई त झन् यसमा समस्या हुने कुरै भएन ।

हामी सक्रिय राजसंस्थाको पक्षमा छैनौं, पार्टी त्यो पक्षमा छैन । सबैलाई मान्य हुने अभिभावकको रूपमा रहने राजसंस्था नेपालको निम्ति आवश्यक हो, नकि कुन पार्टीको अध्यक्ष को हुने भन्ने चासो राख्ने । राप्रपाको नयाँ नेतृत्व पार्टीको आधिकारिक निकाय केन्द्रीय समितिमा उठेको प्रश्नमाथि गम्भीर हुनुपर्छ । निवर्तमान अध्यक्षले प्रेषित गरेको पत्रमाथि गम्भीर हुनुपर्छ । उहाँ पार्टी हितको निमित्त, एकताको निमित्त प्रतिबद्ध भएर भूमिका निर्वाह गर्न तयार हुनुहुन्छ कि पार्टीलाई कसैको भजनमन्डलीको रूपमा अगाडि लैजाने मार्गमा आफूलाई उभ्याउनु हुन्छ, त्यो उहाँको आगामी कदमले प्रष्ट पार्ने छ ।

पछिल्लो अभिव्यक्ति र क्रियाकलाप हेर्दा राप्रपाको नयाँ नेतृत्वले पार्टी एकता र वृहत्तर हितभन्दा भजनमण्डलीको मार्गतर्फ अघि बढेको छनक पाइन्छ । एउटा पार्टीप्रति प्रतिबद्ध कार्यकर्ताको तहबाट भन्न चाहन्छु, दुर्घटनाको बाटो नेतृत्वले रोज्नु हुँदैन । हामी अझै आशावादी छौं, नेतृत्व अवश्य गम्भीर बन्नेछ ।

(राप्रपा केन्द्रीय सदस्य बर्तौलासँग गरिएको कुराकानीमा आधारित)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *