अपराध आँकडाः बैंकिङ कसूरका घटनामा सतप्रतिशत वृद्धि, आत्महत्याको बढ्दो दरमा ब्रेक – Nepal Press

अपराध आँकडाः बैंकिङ कसूरका घटनामा सतप्रतिशत वृद्धि, आत्महत्याको बढ्दो दरमा ब्रेक

कुन अपराध बढे, कुन घटे ?

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा यस वर्ष अपराधिक घटनाहरू उल्लेख्य बढेका छन् । प्रहरीको तथ्यांकअनुसार आवको पहिलो पाँच महिनाको तुलनानात्मक अध्ययन गर्दा १७ दशमलव २१ प्रतिशतले अपराधका घटना बढेको देखिन्छ ।

यस वर्ष लागुऔषध, अपहरण वा शरीर बन्धकसम्बन्धी कसुर, चोरी, ठगी, आपराधिक विश्वासघात तथा अपराधिक लाभसम्बन्धी कसुर, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर, बैंकिङ कसुरका घटनामा वृद्धि भएको छ । प्रहरीका अनुसार कर्तव्य ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, हातहतियार खरखजानाजस्ता कसूरजस्ता अपराध भने घटेका छन् ।

यस अवधिमा आत्महत्याको बढ्दो दरमा पनि ब्रेक लागेको छ । प्रहरी प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले यस वर्ष ११ दशमलव १६ प्रतिशतले आत्महत्यामा कमी आएको जानकारी दिए । कुँवरका अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा २ हजार ६ सय २८ जनाले आत्महत्या गरेका छन् । उनीहरूमध्ये २ हजार एक सय ९० जनाले झुण्डिएर ज्यान गुमाएका हुन् ।

यस्तै तीन सय ९२ जनाले विष सेवन गरेर, १७ जनाले हाम फालेर, १८ जनाले पानीमा डुबेर, ६ जनाले हातहतियार औजारबाट र ५ जनाले आगो लगाएर आत्महत्या गरेका छन् ।

बढेका अपराध

गत वर्षको तुलनामा यस वर्ष सबैभन्दा बढी बैकिङ कसुरका घटना १०५ प्रतिशतले बढेका छन् । नेपाल प्रहरीको पाँच महिनाको कार्य प्रगति विवरण अनुसार विभिन्न १४ वटा मुख्य अपराधका घटनामध्ये सबैभन्दा बढी बैंकिङ कसुर अपराधका घटना बढेको पाइएको हो । गत आर्थिक वर्ष २०७७/०७८ को समीक्षा अवधिमा ८ सय ८० वटा बैंकिङ कसुरका अपराध भएकोमा यस वर्ष एक हजार आठ सय ७ वटा पुगेका छन् ।

दोस्रोमा मानव बेचविखन तथा ओसारपसारका घटना पनि ९० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको पाँच महिनामा ४० वटा मानव बेखविखनका अपराधिक घटना भएकोमा चालु आर्थिक वर्ष सोही अवधिमा ७६ वटा घटना भएका छन् ।

बैंकिङ कसुर र मानव बेचबिखनका घटना बढ्नुको कारणबारे प्रश्न गर्दा प्रहरी प्रवक्ता कुँवरले अपराध बढेको नभइ प्रहरीको सक्रियता बढेको दाबी गरे । अपराध भएलगत्तै उजुरी गर्ने र प्रहरीलाई जानकारी गराउने प्रवृत्तिको पनि विकास हुदैँ गएको प्रहरी प्रवक्ताको भनाइ छ ।

उनले भने, ‘पछिल्लो वर्ष मानव बेचबिखन रोक्नका लागि प्रहरीले नै मानव बेचविखन अनुसन्धान व्यूरो स्थापना गरेर यसैमा केन्द्रित भइ काम गरिरहेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो पनि सक्रिय छ । प्रहरीका सबै युनिट सक्रिय भएपछि र नागरिक पनि सचेत हुन थालेपछि घटना धेरै बाहिर आउनु स्वभाविक हो ।’

लागुऔषधको अपराधका घटना पनि अघिल्लो वर्षको तुलनामा ४५ प्रतिशतले वृद्धि भएको छ । प्रहरीको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो पाँच महिनामा १ हजार १५ वटा लागुऔषधका अपराध भएकोमा चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा एक हजार ५ सय ७८ वटा घटना भएका छन् ।

सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसुरका अपराध पनि करिब ४५ प्रतिशतले नै वृद्धि भएको छ । अघिल्लो वर्षको पाँच महिनामा दुई हजार पाँच सय १७ वटा अपराध भएकोमा यस वर्ष भने बढेर ३ हजार ६ सय ४२ वटा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरका अपराध भएका छन् । यस्तै अघिल्लो वर्षको पाँच महिनाको तुलनामा यस वर्षको पाँच महिनामा चोरी ३५ प्रतिशतले, अपहरण वा शरीर बन्धक सम्बन्धी कसुर २७ प्रतिशतले वृद्धि भएको छ ।

घटेका अपराध

हातहतियार खरखजानाका घटना अघिल्लो वर्षको तुलनामा सबैभन्दा धेरै २१ प्रतिशतले घटेको छ । प्रहरीको तथ्यांकअनुसार अघिल्लो वर्षको पाँच महिनाको अवधिमा १ सय १३ वटा भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा ८९ वटा मात्रै भएका छन् । दोस्रोमा कर्तव्य ज्यान अपराधका घटना पनि अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको पाँच महिनाको अवधिमा दुई सय ९० वटा कर्तव्य ज्यान अपराधका घटना भएकोमा चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा दुई सय ४६ वटा घटना भएका छन् ।

यस्तै आत्महत्याका घटना बढिरहेका समाचार आइरहदा प्रहरीको तथ्यांकले भने अघिल्लो वर्षको तुलनामा आत्महत्याका घटना ११ प्रतिशतले घटेको देखाउँछ । अघिल्लो वर्ष पाँच महिनाको अवधिमा २ हजार ९ सय ९५ जनाले आत्महत्या गरेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा दुई हजार ६ सय २८ जनाले आत्महत्या गरेका छन् ।

यस्तै जबरजस्ती करणीका घटना पनि अघिल्लो वर्षको तुलनामा नौ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष पाँच महिनाको अवधिमा मात्र १ हजार ९७ जनामाथी जवरजस्ती करणी भएकोमा चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा ९ सय ९३ जबरजस्ती करणीका घटना भएका छन् ।

महिला बालबालिकासम्बन्धी अपराध ६ प्रतिशतले घटेको छ । नेपाल प्रहरीको महिला बालबालिका तथा जेष्ठ नागरिक निर्देशनालयको तथ्यांक अनुसार समिक्षा अवधिमा यस्तो अपराध ६ दशमलव ७८ प्रतिशतले घटेको हो । जसअनुसार अघिल्लो आर्थिक वर्षमा २ हजार ५० विभिन्न ८ प्रकारका घटना भएकोमा चालू आर्थिक वर्षमा १ हजार ९ सय ११ वटा भएका छन् ।

घरेलु हिंसाका घटना जोडेर हेर्दा भने महिला बालबालिकासम्बन्धी अपराध अघिल्लो वर्षको तुलनामा करिव १८ प्रतिशतले बढेको छ । घरेलु हिंसाका मात्र घटना २६ दशमलव ६७ प्रतिशतले बढेको छ ।

अघिल्लो आर्थिक वर्षको पाँच महिनामा ५ हजार ७ सय ८६ घरेलु हिंसाका घटना भएकोमा चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा ७ हजार ३ सय २९ घटना भएका छन् । समग्रमा गत वर्ष ७ हजार ८ सय ३६ वटा घटना भएकोमा यस वर्ष ९ हजार २ सय ४० वटा घटना भएका छन् ।

अभियुक्त पक्राउमा तीव्रता

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म १८ हजार ६ सय ८० वटा मुद्दा नेपाल प्रहरीमा दर्ता भएका छन् । जसमा कर्तव्य ज्यानका एक दशमलव ३२ प्रतिशत अर्थात दुई सय ४६ वटा मुद्दा दर्ता भएका छन् ।

प्रहरीको तथ्यांकअनुसार अभियुक्त पक्राउमा करिव २० प्रतिशतले वृद्धि भएको छ भने अभियुक्त फरार हुने क्रम करिव २१ प्रतिशतले घटेको छ ।

रेडकर्नर नोटिसका तीन पक्राउ

पाँच महिनाको अवधिमा रेड नोटिस जारी भएका तीनजना पनि विभिन्न देशबाट पक्राउ परेका छन् । प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन ३० गते सरकारी कागजात किर्ते गरेको अभियोगमा कूटनीतिक माध्यमबाट सफलतापूर्वक सुपुर्दगी गरेर पोर्चुगतलबाट केदार ढुंगानालाई फक्राउ गरिएको छ ।

यस्तै, ३३ किलो सुन प्रकरणमा मुछिएका कृष्णगोपाल अग्रवाल पनि त्रिभुवन अन्तर्राष्ट्रिय अध्यागमन कार्यालयबाट मंसिर १९ गते पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा मुछिएका अशोक गुरुङ मंसिर २९ गते कूटनीतिक माध्यमबाट सुपुर्दगी प्रक्रियाबाट बहराइनबाट पक्राउ परेका छन् ।

बाल विवाहका घटनामा कमी

चालु आर्थिक वर्षमा बाल विवाहका घटना भने ५३ प्रतिशतले घटेको पाइएको छ । प्रहरीको तथ्यांकअनुसार अघिल्लो वर्षको पाँच महिनाको अवधिमा ४१ वटा भएकोमा यस वर्ष भने ५३ दशमलव ६५ प्रतिशतले घटेर १९ वटामा झरेको हो ।

यस्तै बोक्सीको आरोपका घटना पनि ३२ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ३७ वटा घटना भएकोमा यस वर्ष ३२ दशमलव ४३ प्रतिशतले घटेर २५ जनामाथी बोक्सीको आरोपका घटना भएका छन् । अप्राकृतिक मैथुनका घटना पनि २० प्रतिशतले घटेर अघिल्लो वर्ष १५ वटा भएकोमा यस वर्ष १२ वटा भएका छन् ।

यस्तै जबरजस्ती करणी ९ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष १ हजार ९७ वटा जबरजस्ती करणीका घटना भएकामा यस वर्ष ९ दशमलव ४८ प्रतिशतले घटेर ९ सय ९३ वटा भएका छन् । बहुविवाहका घटना पनि आठ प्रतिशतले घटेका छन् । अघिल्लो वर्ष ३ सय ८४ वटा बहुविवाहका घटना भएकोमा यस वर्ष ८ दशमलव ५९ प्रतिशतले घटेर ३ सय ५१ वटा घटना भएका छन् ।

समग्रमा चालू आर्थिक वर्षमा घरेलु हिंसा बाहेक एक हजार ९ सय ११ वटा महिला बालबालिकासम्बन्धी मुद्दा दर्ता भएकोमा गत आर्थिक वर्षभन्दा ६ दशमलव ७८ प्रतिशतले मुद्धा दर्ता संख्या घटेको छ । चालू आर्थिक वर्षमा बहुविवाह, बालविवाह, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, अप्राकृतिक मैथुन, बोक्सीको आरोप लगायतका मुद्धा गत वर्षभन्दा कम दर्ता भएका छन् । मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुराचारसम्बन्धी मुद्दा बढी दर्ता भएका छन् ।

समग्रमा महिला तथा बालबालिकासम्बन्धी अपराधमा घरेलु हिंसा पहिलो स्थानमा रहेको प्रहरीको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार गत वर्षभन्दा यस वर्ष घरेलु हिंसा २६ दशमलव ६७ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म अर्थात पाँच महिनामा जम्मा १८ हजार ६ सय ८० वटा मुद्दा दर्ता भएका छन्, जसमा महिला तथा बालबालिकासम्बन्धी घटना १ हजार ९ सय ११ रहेका छन् । महिला तथा बालबालिकासम्बन्धी अपराधाका घटनाले जम्मा अपराधको औसत भार १० दशमलव २३ प्रतिशत छ । चालु आर्थिक वर्षमा जबरजस्ती करणी मुद्धामा मात्र १ हजार एक सय चारजना प्रतिवादी र ९ सय ९८ जना पीडित बालबालिका तथा महिला रहेका नेपाल प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *