ओटीटी प्लेटफर्मविरुद्ध एक्सनमा उत्रियो विभाग, टेलिनेटमाथि कारवाहीकाे तयारी – Nepal Press

ओटीटी प्लेटफर्मविरुद्ध एक्सनमा उत्रियो विभाग, टेलिनेटमाथि कारवाहीकाे तयारी

महानिर्देशक भन्छन् - एक गोलीले १०० चरा मार्ने तयारीमा छौं

काठमाडौं । नेपालमा अवैधरुपले विदेशी श्रव्यदृष्य सामग्रीहरुको प्रशारण गर्दै आएका इन्टरनेट प्लेटफर्महरुमाथि सूचना तथा प्रशारण विभागले आक्रामक कारवाहीको तयारी गरेको छ ।

नेपाल प्रेसले ओटीटी प्लेटफर्महरुको अवैध धन्दाबारे धारावाहीक रुपमा सामग्री प्रस्तुत गरेसँगै विभाग पनि तातिएको हो ।

विभागले गत साता नेपालमै कार्यालय खडा गरी अवैधरुपमा सञ्चालित टेलिनेट प्राली नामक कम्पनीमा छापा मारेको थियो । आगामी दिनमा यस्तै प्रकृतिका अन्य कम्पनीहरुलाई पनि कारवाहीको दायरामा ल्याइने विभागका महानिर्देशक गोगनबहादुर हमालले नेपाल प्रेसलाई बताए ।

यो पनि पढ्नुहोस् : टेलिनेटको अवैध धन्दास् रामदेवको टिभी रोक्नसक्ने विभाग इन्टरनेट माफियासँग निरीह !

उनले भने, ‘अबैधरुपमा सञ्चालन भइरहेका ओटीटी प्लेटफर्महरुलाई बन्द गराउन विभागले आवश्यक कदम चाल्दैछ । सबै कम्पनीमा छापा मार्ने तयारीमा छौं । यस्ता कम्पनीले के आधारमा आफ्ना ग्राहक बढाइरहेका छन् र सरकारलाई केकति कर तिरिरहेका छन् भनेर अध्ययन पनि भइरहेको छ ।’

विभागको टोलीले टेलिनेटको कार्यालयमा छापा मार्दै अल्टबालाजी र सोनीलिभका सामग्रीहरू के आधारमा नेपालमा प्रसारण गरिरहेको छ भन्ने सोधपुछ गरेका थिए । तर, टेनिनेटले केही पनि देखाउन नसकेपछि विभागको टोलीले पत्र काटेर टेलिनेटलाई छलफलमा बोलाएको थियो ।

यो पनि पढ्नुहाेस् : टेलिनेटको कार्यालयमा सूचना तथा प्रसारण विभागको छापा

दुई दिनअघि टेलिनेटका सञ्चालकहरु विभागमा पुगेर मौखिक बयान दिएका छन् । तर, बयान चितबुझ्दो नभएपछि सबै कागजातहरु विभागमा ल्याउन निर्देशन दिइएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

अबैध तरिकाले ग्राहकबाट पैसा उठाएको भेटिएमा कम्पनीलाई कानून बमोजिम कारवाही हुने छ ।

स्रोतका अनुसार टेलिनेटले अहिलेसम्म १० हजारभन्दा बढी सब्स्क्राइबर बनाइसकेको छ । सोनीलिभका ७ हजार र अल्ट बालाजीका ३ हजारभन्दा बढी सब्स्क्राइबर भेटिएको विभाग स्रोतले जानकारी दियो । ती सब्स्क्राइबरहरुबाट टेलिनेटले लाखाैं रुपैयाँ असुली गरेको छ ।

यो पनि पढ्नुहाेस् : प्रशारण कानूनको धज्जी उडाउँदै विदेशी एप्सको खुलेआम व्यापार, सरकार मुकदर्शक

विभागले टेलिनेटका कर्मचारीलाई गैरकानूनी प्रसारणहरू तुरुन्त बन्द गर्न र बन्द गरिएको सूचना पनि सार्वजनिकरूपमा जानकारी गराउन निर्देशन दिएको थियो । तर, अहिलेसम्म टेलिनेटले आफ्ना कुनै पनि प्रशारण बन्द गरेको छैन ।

महानिर्देशक हमालले टेलिनेटका सबै विवरणहरु प्राप्त भएपछि आवश्यक निर्णय लिइने बताए ।

उनले भने, ‘हामी टेलिनेट मात्र होइन, एक गोलीले सय चरा मार्ने गरी काम गरिरहेका छौं ।’

नेपाल राष्ट्र बैंकले पनि ओटीटीको माध्यमबाट नेपालीको पैसा विदेशिइरहेको विषयमा चिन्ता व्यक्त गरेको छ । यसलाई कसरी नियमन गर्ने भन्ने विषयमा राष्ट्र बैंकमा छलफल सुरु भएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले ओटीटी प्लेटफर्मबाट अवैध रुपमा विदेश गएको पैसा रोक्नका लागि राष्ट्र बैंकले काम गरिरहेको बताए ।

उनले भने, ‘राष्ट्र बैंकमा पनि ओटीटी प्लेटफर्मबाट अवैध कारोबारलाई कसरी रोक्ने भनेर अध्ययन भइरहेको छ । अन्तर सम्बन्धित निकायसँग पनि हामी छलफल गरिरहेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर