माओवादीको महाधिवेशन दुई दिन लम्बियो – Nepal Press

माओवादीको महाधिवेशन दुई दिन लम्बियो

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन २ दिन लम्बिएको छ । समूहगत छलफलका सुझाव, नेतृत्व चयनलगायतका विभिन्न प्रक्रियाहरु बाँकी रहेकाले महाधिवेशन लम्बिने भएको हो ।

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न २५ समूह बनाइएको थियो । आज  ११ समूहले सुझाव पेस गरेका छन् । बाँकी १४ समूहको सुझाव भोलि प्रस्तुत गरिने र उठेका सवालमा अध्यक्ष प्रचण्डले जवाफ दिने छन् । त्यसपछिमात्र नेतृत्व चयन प्रक्रिया सुरू हुने बताइएको छ ।

आजको बन्दसत्रपछि पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव पारित भएपछि नेतृत्व छनौटको प्रक्रियामा प्रवेश गर्ने बताए । ‘भोलि एक दिन बाँकी छ भ्याइँन्छ त ?’ भन्ने पत्रकारको प्रश्नमा महराले महाधिवेशन लम्बिने प्रष्ट पारे ।

‘भोलि भ्याइँदैनजस्तो छ महाधिवेशन लम्बिने नै भयो’, उनले भने ।

महाधिवेशनस्थल बाट बाहिरिँदै प्रचण्डले लोकतान्त्रिक तरिकाले नेतृत्व चयन हुने बताए । उनले भने, ‘राम्रोसँग, एकदम लोकतान्त्रिक तरिकाले नेतृत्व चयन हुन्छ ।’

माओवादीले १५ पुसमा महाधिवेशन समापन गर्ने तालिका बनाएको थियो । तर, अब महाधिवेशन १७ पुसम्म धकेलिने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर