माओवादीमा छलफल- पार्टी एकता नभेटिन्जेल पिरलो, भेटेसी कुकुर-बिरालो जस्तो नहोस् – Nepal Press

माओवादीमा छलफल- पार्टी एकता नभेटिन्जेल पिरलो, भेटेसी कुकुर-बिरालो जस्तो नहोस्

महाधिवेशन प्रतिनिधिले सोधे- विश्व कम्युनिष्ट आन्दोलनमा हामी कहाँ छौं ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक दस्तावेज ‘२१ ओं शताब्दीमा समाजवादको नेपाली बाटो’ माथिको छलफल आज सकिँदैछ ।

२५ वटा समूहमध्ये अधिकांशको छलफल सकिएको छ भने बाँकी रहेका समूहले आज सुझाव संकलन गर्दैछन् । सबै समूहका छलफलमा प्रचण्ड आफैं पनि केहीबेर उपस्थित भएका थिए ।

समूहगत छलफलका क्रममा वागमती प्रदेशका सहभागीले प्रचण्डपथको विकसित रूप प्रचण्ड विचारका रूपमा दस्तावेजलाई संश्लेषण गर्न सुझाव दिएका छन् ।

दस्तावेजमा अन्य राजनीतिक दललाई हेर्ने माओवादीको दृष्टिकोण नआएको तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा नेपालको कम्युनिष्ट आन्दोलन र विशेषगरी माओवादीको स्थान कहाँ छ भन्ने प्रष्ट नआएको विषय समूहगत छलफलमा उठेको प्रेस सेन्टरका नेता मनोज घर्तीमगरले बताए ।

त्यस्तै समूगत छलफलमा पार्टी एकताको विषयमा समेत प्रष्ट हुनुपर्ने भन्दै विगतको नेकपा एकताको गम्भीर समीक्षा आवश्यक रहेको विषय उठेको छ ।

समूहगत छलफलको निष्कर्ष सुनाउँदै गण्डकीका प्रतिनिधि त्रिभुवन पौडेलले भने, ‘पार्टी एकता नभेटिन्जेल पिरलो, भेटेसी कुकुर बिरालो जस्तो नहोस् भन्ने सुझाव पनि आएको छ ।’

समूहगत छलफलमा राम कार्कीको पूरक दस्तावेज भने समावेश भएको छैन । माओवादी केन्द्रको महाधिवेशनमा विधान र राजनीतिक दस्तावेजमाथिको छलफल सकिएपछि त्यसलाई परिमार्जनसहित पारित गरिनेछ ।

त्यसपछि नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने नेता देवेन्द्र पौडेलले नेपाल प्रेसलाई बताए । माओवादीको महाधिवेशन हलबाट केन्द्रीय समिति चयन हुनेछ । केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने विधानमा व्यवस्था गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर