टेनिसको सेमिफाइनल हारेपछि कमल थापाले भने- स्वस्थ प्रतिस्पर्धामा हारजित सामान्य हो – Nepal Press

टेनिसको सेमिफाइनल हारेपछि कमल थापाले भने- स्वस्थ प्रतिस्पर्धामा हारजित सामान्य हो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा लनटेनिसका दिग्गज खेलाडी कमज थापाको राजनीतिमा दिन राम्रो चलिरहेको छैन । राप्रपाको अध्यक्ष प्रतिस्पर्धामा पराजित भएका उनले परिणामलाई सहजरुपमा स्वीकारेका पनि छैनन् ।

थापा अहिले राजनीतिक प्रतिस्पर्धाबाट निस्केर खेलकुदको प्रतिस्पर्धामा व्यस्त छन् । पोखरामा जारी लन टेनिस प्रतियोगितामा भिडिरहेका उनी आज सेमिफाइनलमा पुगेर रोकिए । पोखरा रंगशालामा जारी १८ औं पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताअन्तर्गत ५५ वर्ष उमेर समूहको सेमिफाइनलमा उनलाई पूर्वराष्ट्रिय च्याम्पियन कृष्ण राईले हराएका हुन् ।

यसअघि उनले एकैदिन दोहोरो जित निकालेका थिए । सिंगल्स र डबल्स दुवै इभेन्टमा जित हासिल गरेपछि उनको सेमिफाइनलमा स्थान सुरक्षित भएको थियो । सिंगल्सको सेमिफाइनलमा हारेका थापा आजै डबल्सको सेमिफाइनलमा भिड्दैछन् ।

सेमिफाइनल हारेपछि थापाले फेसबुकमा ‘लाक्षणिक’ अभिव्यक्ति दिएका छन् । आफूलाई हराएका राईलाई बधाई दिँदै उनले लेखेका छन्, ‘स्वस्थ प्रतिस्पर्धामा हारजित सामान्य र स्वभाविक हो ।’

राप्रपा अध्यक्षको चुनावमा हारेयता आक्रोशित प्रतिक्रियाहरू दिइरहेका थापामाथि प्रतिस्पर्धाको परिणामलाई सहजरूपमा ग्रहण गर्न नसकेको आरोप लाग्दै आएको छ । सम्भवतः त्यसैलाई ईंगित गर्दै थापाले ‘स्वस्थ प्रतिस्पर्धा’ को कुरा गरेका हुन् ।

निर्मल निवासको हस्तक्षेपका कारण राप्रपा चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन नसकेको उनले दाबी गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर