धनुषा र महोत्तरीका कार्यकर्ता काठमाडौं पुगेर घेरे लोसपा पार्टी कार्यालय (भिडिओ) – Nepal Press

धनुषा र महोत्तरीका कार्यकर्ता काठमाडौं पुगेर घेरे लोसपा पार्टी कार्यालय (भिडिओ)

जनकपुरधाम । गठन भएको ६ महिना नबित्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा विवाद उत्पन्न भएको छ । अध्यक्ष महन्थ ठाकुरले विधि प्रक्रिया मिचेर प्रदेश र जिल्ला अध्यक्ष मनोनीत गरेको भन्दै विवाद उत्पन्न भएको हो ।

पार्टी अध्यक्ष ठाकुरले प्रदेश २ अध्यक्षमा जीतेन्द्र सोनललाई मनोनीत गरेका छन् । प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री र संसदीय दलका नेता समेत रहेका सोनल ठाकुर निकट छन् । यस्तै जिल्लाहरुमा समेत आफ्ना निकट नेतालाई अध्यक्ष मनोनीत गरेपछि पार्टीमा विवाद सुरु भएको नेताहरु बताउँछन् ।

प्रदेश र जिल्ला अध्यक्षहरु मनोनीत गरेको निर्णय सच्याउन धनुषा र महोत्तरीका धेरै नेताहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गरेर पार्टी अध्यक्ष ठाकुरको ध्यानाकर्षण गरेको थियो । तर निर्णय सच्याउन चासो नदेखाएपछि धनुषा र महोत्तरीका सयौं नेता कार्यकर्ता काठमाडौं पुगेर बरबरमहलमा रहेको लोसपा केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।

धनुषा अध्यक्षमा प्रमेश्वर साह र अन्य जिल्ला अध्यक्षहरु अलोकतान्त्रिक तरिकाले गठन गरेपछि पार्टी कार्यालय घेराउ गर्न जनकपुरबाट आएको नेता दिपेन्द्र साहले बताए । जनकपुरधाम ३ का वडाध्यक्ष समेत रहेका उनले यो आन्दोलनलाई पनि बेवास्ता गरे अझ कडा रुपमा प्रस्तुत हुने चेतावनी समेत दिए ।

‘पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी हो’, जनकपुरबाट पार्टी केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका मनोज साह भन्छन्, ‘तर लोकतान्त्रिक पद्धतिलाई नमानेर प्रदेश र जिल्ला अध्यक्षहरु मनोनित गरिएको छ । त्यसकै विरोधमा हामी डेलिकेशन लिएर आएका छौं ।’ पार्टीमा सामुहिक निर्णय हुनुपर्ने उनको माग छ ।

धनुषा र महोत्तरीबाट लोसपाका नेता कार्यकर्ताहरु तीनवटा बस भाडा गरेर काठमाडौं पुगेका छन् । उनीहरुले आईतवार पार्टी केन्द्रीय कार्यालय घेराउन गरे । तर पार्टी अध्यक्ष ठाकुर भने उनीहरुको माग सम्बोधन गर्न पुगेनन् । अध्यक्ष ठाकुरले माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने उनीहरुको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर