ढोरपाटनः देशकै सर्वोत्कृष्ट स्की स्पोट (तस्बिरहरु) – Nepal Press

ढोरपाटनः देशकै सर्वोत्कृष्ट स्की स्पोट (तस्बिरहरु)

काठमाडौं । संसारभर हिमालै हिमालको देश भनेर चिनिन्छ, नेपाल । यहाँ हिमालमा खेलिने ‘स्की खेल’को प्रशस्तै सम्भावना भएपछि यसको प्रवद्र्धनका लागि थप सम्भाव्यता अध्ययन सुरु भएको छ । यसै महिना गरिएको एक अध्ययनमा ढोरपाटन क्षेत्र उत्कृष्ट ‘स्की स्पोट’मा परेको छ ।

पर्वतारोहणसँगै सहासिक पर्वतीय पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने स्की खेलको विकासका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्र्तगत रहेको नेपाल माउन्टेन एकेडेमीले अध्ययन गरेको हो । यसअघि प्रतिष्ठानले मुस्ताङ, मनाङ, दोलखाको कालिन्चोकलगायतका क्षेत्रमा स्की खेलको सम्भाव्यता अध्ययन गरेको थियो ।

ढोरपाटन पर्यटकीय क्षेत्र स्कीको लागि समेत राम्रो गन्तव्य भएसँगै यहाँको थप विकासका लागि पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको पर्यटन मन्त्रालय र ढोरपाटन नगरपालिकामा प्रतिवेदन बुझाउने तयारी भएको नेपाल माउन्टेन एकेडेमीका प्रमुख प्रशासकीय अधिकृत उत्तम भट्टराईले जानकारी दिए ।

स्की खेल युरोप र अमेरिकामा फष्टाएपछि नेपालमा पनि भौगोलिक दृष्टीबाट सम्भावना हुने भन्दै सरकारले यसको प्रवद्र्धनका लागि पहल सुरु गरेको भट्टराईले बताए । यसअघि सगरमाथाको चौथो क्याम्पबाट दोस्रो क्याम्पसम्म स्की खेलेर विश्वकीर्तिमान समेत कायम भइसकेको छ ।

ढोरपाटनमा स्की क्लाइमेट, हिउँको अवस्था, स्की तालिमका लागि चाहिने भिरालो ठाउँ, खाना र बासको सुविधा, यातायातको सुविधालगायतले उत्तम क्षेत्र रहेको सम्भाव्यता अध्ययन टोली प्रमुख स्की प्रशिक्षक छिरिङ जाङबु शेर्पाले बताए । स्की खेलबाहेक यहाँ अन्य क्रियाकलाप पनि गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

अध्ययन टोलीले जिपिएसबाट स्की हुने स्थानको डाटा संकलन र प्रारम्भिक अध्ययनले उत्तर–पूर्वी क्षेत्रका तीन ठाउँमा करिब दुई किलोमिटरसम्म स्की रिसोर्ट हुनसक्ने देखाएको छ ।

मंसिर दोस्रो सातामा परेको हिउँ पुससम्म रहेको पाइनु, हाइअल्टिच्यूट समस्या नहुनु, पोखराबाट एक दिनमै उक्त स्थान पुग्न सक्नु, स्कीका लागि उपयुुक्त पाउडर हिउँ हुनु र स्कीका लागि चाहिने टेराइन (भिरालो ठाउँ) भएका कारण ढोरपाटन स्कीको उत्कृष्ट स्पोट हुने प्रशिक्षक शेर्पाको भनाइ छ ।

अध्ययन टोलीमा प्रशिक्षक छिरिङ जाङबु शेर्पा र विनायक जय मल्ल र एकेडेमीका प्रतिनिधिको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर