‘राष्ट्रियसभा चुनावमा गठबन्धन गर्ने वाध्यता छ, आमचुनाव एक्लै लड्छौं’ – Nepal Press
नेपाल टक

‘राष्ट्रियसभा चुनावमा गठबन्धन गर्ने वाध्यता छ, आमचुनाव एक्लै लड्छौं’

सरकारले माग गर्न सकेन, गति बढाउनु पर्छ

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवा पुन: अनुमोदित भएका छन् भने केन्द्रीय समिति पनि देउवाअनुकूल बनेको छ ।

पदाधिकारीमा एक उपसभापति र ६ सहमहामन्त्री देउवा पक्षधरले जितेका छन् । खुल्ला केन्द्रीय सदस्य, खुल्ला महिला केन्द्रीय सदस्यमा खुल्ला मधेसीतर्फ र अन्य क्लस्टरमा पनि उनकै दबदबा छ ।

अहिले कांग्रेसमा नेतृत्व परिवर्तनको विषयमा चर्चामा छ । सभापतिमा देउवा अनुमोदित भए पनि युवा अनुहार नेतृत्वमा आएकाले नेतृत्व परिवर्तन भएको काँग्रेसीहरूको दाबी छ । तर, बदलिँदो राजनैतिक समिरकणले संस्थापनइतर समूहलाई आगामी रणनीति बनाउन भने सकस हुने देखिन्छ ।

संस्थापनइतरबाट विजयी भएकाहरूले अब कांग्रेसभित्र कसरी संघर्ष गर्छन् त्यो भने हेर्न बाँकी नै छ । तर, सहमहामन्त्रीमा विजयी भएका बद्री पाण्डे भने काँग्रेसमा अब गुट नरहेको बताउँछन् । सरकार र पार्टी दुवैलाई तिब्रता दिन आवश्यक रहेको उनको बुझाइ छ ।

प्रस्तुत छ, कांग्रेस महाधिवेशन पछिको अवस्था, एमसीसीमा कांग्रेसको भूमिका र गठबन्धनको आयुबारे पाण्डेसँग गरिएको संवाद नेपाल टकमाः

– चासो, चर्चा र चिन्तनका बीच कांग्रेस महाधिवेशन सुरू भएको थियो । महाधिवेशन सुरू हुँदाको अवस्था र सकिँदाखेरिको अवस्थामा के फरक महसुस भएको छ ?

हाम्रो महाधिवेशन सकियो त्यो नै ठूलो कुरा हो । हामीले नीति कार्यक्रम पेस नगर्ने भनेका थियौँ । त्यो गरेनौँ । नेतृत्व चयन गर्ने भनेका थियौँ त्यो गर्‍यौँ । हामीले नेतृत्व परिवर्तनको कुरा गरेको थियौँ त्यो परिवर्तन भएको देखियो ।

– तपाईंहरू कुन हिसाबले कांग्रेसमा नेतृत्व परिवर्तन भएको मान्नुहुन्छ ?

हो, नेतृत्व परिवर्तन भयो । तर, समस्या के भयो भने सभापति पदका दाबेदारहरूले अहिलेको सभापतिको विकल्प दिन्छौँ पनि भन्नुभयो । तर, विकल्प दिनुपर्ने बेलामा उहाँहरू विभाजित हुनुभयो । कोही संस्थापनमै गएर मिसिनु भयो । कोही मौन हुनुभयो ।

पदाधिकारीको अरू पदमा नेतृत्व परिवर्तन भएको देखियो । तर, सभापतिमा नहुनुको कारण सभापतिका उम्मेदवार स्वयम्ले ढंग पुर्‍याउनु भएन । उहाँहरूले योग्यता देखाउन नसक्नुभएकाले नै सभापति परिवर्तन नभएको हो ।

– आफ्नै समूहका नेताहरूलाई किन दबाब दिन सक्नुभएन त तपाईंले ?

‘तपाईंहरू एक हुनुभए नेतृत्व परिवर्तनको गतिलाई कसैले रोक्न सक्दैन, नत्र उहाँलाई सुरूमै गएर माला लगाइदिए हुन्छ’ हामीले यो कुरा सुरूमै भनेका थियौँ । तपाईंले दबाब दिनुभएन भन्नुभयो । तर, हामीले चार वर्षदेखि यही दबाब निरन्तर दिइरहेका थियौँ ।

अरू पदमा को आउँछ को आउँदैन त्यो ठुलो कुरा होइन । सभापति ठूलो कुरा हो । यही ढंगले निरन्तर दबाब दिइरहेका थियौँ । तर, आफूलाई अरुले मान्ने भए मिल्ने नत्र नमिल्ने यो खालको रवैया देखाउनु भयो नेताहरूले । त्यसले गर्दा हामी चाहेको कुरामा सफल हुन सकेनौँ । तर, महाधिवेशनपछि अब गुट वा समूह रहदैन । सबै मिलेर अगाडि बढ्छौं ।

– यी त भन्ने कुरा हुन् । १३ औँ महाधिवेशनपछि पनि यस्तै कुरा आएको थियो । तर, मन्त्री बनाउँदा समेत गुटगत भागबण्डा हुने कांग्रेसमा गुट रहँदैन भनेर कसरी पत्याउने ?

यस्तो सधैँ रहँदैन । वर्तमान सभापति १५ औँ महाधिवेशनमा हुनुहुने छैन । किनभने विधानले नै उहाँलाई दिँदैन । त्यसैले अब सभापतिले गुटको राजनीतिबाट माथि उठ्नु पर्छ । यो गुट र त्यो गुटभन्दा पनि उहाँ कांग्रेसको सभापति हुन सक्नुपर्छ ।

शेरबहादुर देउवालाई भोलिको दिनमा कुनै गुटले होइन कि कांग्रेसले सम्झियोस्, कांग्रेसले मात्रै होइन कि पूरै मुलुकले सम्झियोस् भन्ने हाम्रो चाहना हो ।

– विमलेन्द्र निधिले पहिलो चरणमा देउवालाई सभापति हुन नदिने र दोस्रो चरणमा उहाँविरुद्ध मोर्चाबन्दी गरेर पराजित गर्ने सार्वजनिकरूपमै भन्नुभएको थियो । प्रकाशमान सिंह पनि देउवाको विकल्प खोज्ने भन्दै आइरहनु भएको थियो । रातारात कस्तो सहमति भयो जसले गर्दा सार्वजनिकरूपमै बोलेको कुरा भुल्न बाध्य भए नेताहरू ?

यो कुरा म भन्न सक्दिनँ । सोध्न पनि सक्दिनँ उहाँहरूलाई किनभने उहाँहरू आदरणीय नेताहरू हुनुहुन्छ । मलाई लाग्छ यो कुरा इतिहासले सोध्दा ।

– इतिहास त परैको कुरा भयो । वर्तमानले नै सोध्दैछ । तपाईंहरूसँग के जवाफ छ ?

उहाँहरूको लय मिलेको छैन त्यहाँनिर । रातिसम्म नेतृत्व परिवर्तनको पक्षमा हुने र बिहान भएपछि यथास्थितिको पक्षमा उभिने, त्यो स्वाभाविक होइन । अस्वाभाविक प्रकारको निर्णय आएको छ ।

त्यसमा मैले हावामा गोली हाने जस्तो बोल्दा म आफैँ गैरजिम्मेवार हुन्छु । मलाई के लाग्छ भने यस्तो कुरा चाडै उजागर हुन्छन् ।

उहाँहरूले आजसम्म यस विषयमा जवाफ दिनुभएको छैन । तर, कार्यकर्ताहरूले पनि माग्छन्, समयले पनि माग्छ । इतिहासले पनि माग्छ । त्यो अस्वाभाविक र आश्चर्यपूर्ण निर्णय हो जस्तो लाग्छ मलाई ।

– संचारमाध्यमले त भागबण्डा र लेनदेनमा कुरा मिल्यो त्यसैले नेताहरूले त्यस्तो निर्णय गरे भनिरहेका छन् नि ?

भागबण्डा र लेनदेन त त्यहाँमात्रै हुँदैन थियो होला । अर्कोतिर पनि हुन्थ्यो होला नि ।

– अब पछिल्लो राजनीतिक परिवेशतर्फ लागौँ, सत्तारुढ दलहरूको गठबन्धनको आयु कति लामो होला ?

यो त चुनाव सम्म जानुपर्छ ।

– जानुपर्छ कि जान्छ ?

जान्छ । मलाई त जान्छ भन्ने लाग्छ । अब तीन तहको निर्वाचन आइसकेको छ । त्यो निर्वाचन सम्पन्न हुने दिशासम्म यो गठबन्धनलाई जोगाएर लैजानु पर्छ ।

– एमसीसीको कारण तपाईंहरूको गठबन्धन भत्किँदै छ भन्ने चर्चा पनि छ नि ?

एमसीसीभन्दा सत्ता गठबन्धन प्राथमिकतामा पर्नुपर्छ भन्ने मेरो विचार हो । हाम्रो प्रधानमन्त्री तथा पार्टी सभापतिले पनि त्यही सोच्नु भएको होला जस्तो लाग्छ मलाई ।

– तपाईंहरू बाहेक गठबन्धनभित्रका सबै दलहरू एमसीसीको विपक्षमा छन् । यस्तो अवस्थामा एमसीसी पनि अघि बढ्ने, गठबन्धन पनि रहिरहने भन्ने कसरी होला र ?

प्रधानमन्त्रीले सोच्नु भएको छ होला । उहाँसँग छलफल पनि हुन पाएको छैन । तर, यसमा विभिन्न विकल्पहरू छन् । जेसुकै विकल्प दिएर भए पनि गठबन्धनको निरन्तरता, जनतामा छाएको निराशाको अन्त्य गर्नु नै मुख्य प्राथमिकता हुनुपर्छ ।

– तपाईंले निर्वाचनसम्मकै गठबन्धनको कुरा गर्नुभयो । त्यसो भए प्रत्यक्षमा १६५ निर्वाचनक्षेत्रमध्ये अब निर्वाचनमा तपाईंहरू बीच भागबण्डा गरेर उम्मेदवारी घोषणा हुने भयो हैन त्यसो भए ?

त्यसो हुन्छ जस्तो मलाई लाग्दैन । हाम्रा मतदाताहरू अरूको भोट लिन पनि सक्दैनन्, अरूलाई भोट दिन पनि सक्दैनन् । त्यो पहिलो चरणको स्थानीय तहको निर्वाचनमा त देखियो पनि ।

हाम्रा साथीहरूलाई हेर्दा टिमको नजरले हेर्दैनौं हामी । त्यो क्षणसम्म हामी टिम थियौँ होला । अब निर्वाचन सकिएको छ । अब हामी पार्टी भएका छौँ । अब हामीले एकता निर्माण गरेर अर्को कसैसँग प्रतिस्पर्धा गर्नुपर्छ हामीले । अर्को कसैलाई परास्त गर्नुपर्छ ।

– भरतपुरको गठबन्धनले गर्दा तपाईंहरू काठमाडौँ, पोखरालगायतका स्थानीय तहमा पराजित भएको भन्ने पनि सुनिन्छ नि ?

ठीक हो । त्यो बेलाको गठबन्धनले हामीले पनि कहीँ लाभ लिन सकेनौँ । हामीले पनि खासै कसैलाई त्यहाँ लाभ दिन सकेनौँ । कांग्रेस जित्दा पनि एक्लै जित्ने हार्दा पनि एक्लै हार्ने पार्टी हो ।

म सन्तुष्ट छैन । हाम्रो सभापति, प्रधानमन्त्री उहाँले अधिवेशन सम्पन्न गर्नुपर्ने, उहाँ फेरि सभापतिमा निर्वाचित हुनुपर्ने । हाम्रा मन्त्रीहरू पनि महाधिवेशनमा सक्रिय हुनुपर्नेलगायतका कारणले सरकारले भनेजस्तो समय दिन नसकेको हो कि भनेर म शंकाको सुविधा दिन्छु । अब पार्टी आफ्नो गतिमा अगाडि बढ्नु पर्छ । सरकार आफ्नो गतिमा आफ्नो ढंगले चल्नुपर्छ । अब सरकारले जनतालाई सरकारको अनुभूति दिनुपर्छ ।

– चुनावमा हामी एक्लै लड्छौँ भन्ने अनि गठबन्धन पनि रहिरहनु पर्छ भन्ने कुरा त विरोधाभासी भएन र ?

त्यो बाध्यता हो । प्रतिनिधिसभामा हामीसँग बहुमत छैन त्यसको लागि साथ चाहियो । अब राष्ट्रियसभाको चुनावमा हामी सहकार्य गर्छौं । त्यो पनि हाम्रो बाध्यता हो ।

किनभने, प्रदेशसभा र पालिकाहरूका भोटरहरू पार्टीका छन् । उनीहरूलाई हामी बदल्न सक्दैनौँ । संसदमा हुने गठवन्धन, राष्ट्रियसभा जस्तो निर्वाचनमा हुने गठबन्धन र जनतामा हुने गठबन्धनलाई हामीले तुलना गर्नुहुँदैन ।

संसदहरूमा गठबन्धन हुनसक्छ । यता भोट हाल भने यता हाल्छन् उता हाल भने उतै हाल्छन् । हुन्छ भन भन्यौँ भने हुन्छ भन्छन्, हुँदैन भन भन्यौँ भने हुँदैन भन्छन् । जनतालाई हामीले जबरजस्ती गर्न हुँदैन । पाँच वर्षमा एकपल्ट चुनाव आउँछ त्यो बेला जनतालाई जबरजस्ती गर्न हुँदैन । गरे पनि विद्रोह हुन्छ ।

-कांग्रेसका नेताभन्दा जनता नै विवेकी रहेछन् होइन ?

त्यसमा त कुनै द्वविधा नै छैन । अहिले पनि हाम्रो महाधिवेशनको मत हेर्नुहोस् न । माथिको गुटबन्दी अनुसार त प्रतिनिधले भोट दिएनन् नि । जति तल जान्छौँ तपाईंले भनेजस्तो विवेकको घनत्व बढ्दै गएको छ ।

– त्यसोभए जनताको डरले तीन तहको निर्वाचनमा गठबन्धन सहित नजाने तर राष्ट्रियसभाको निर्वाचनमा मिलेर जाने किन भनेर तपाईंहरूको कार्यकर्ताले प्रश्न गर्दैनन् ?

नाइँ त्यस्तो प्रश्न गर्दैनन् । किनभने राष्ट्रियसभाको निर्वाचन जित्नको लागि पनि गठबन्धन आवश्यक छ । मिलेनौँ भने हामी जित्दैनौँ ।

– यो त तपाईंहरूको स्वार्थका लागि मात्रै गठबन्धन बनाउन खोजेको स्पष्ट भयो नि ?

स्वार्थको गठबन्धन होइन । राजनीति नै यसरी चल्छ । राष्ट्रियसभाको निर्वाचनमा जित्ने विकल्पलाई छोडेर हार्ने विकल्पतिर जानु भनेको त्यो मूर्खता हो ।

अहिले शेरबहादुर देउवाले प्रतिनिधि सभामा कसैको पनि साथ लिँदैनौं भन्नुभयो भने त सरकार भर्खरै ढल्छ । त्यो त मूर्खता भयो नि त ।

– जनताले तपाईंहरूलाई सरकार सञ्चालनको म्यान्डेट दिएका हुन् र ? जनताको म्यान्डेटविरुद्ध गएर सरकार सञ्चालन गर्ने आँट गर्नुलाई पनि त केहीले लाभका लागि खुट्टा उचालेको भनेका छन् नि ?

जसले म्यान्डेट पाए तिनले काम गरे त ? म्यान्डेट पाएकाले खण्डित गरेपछि हाम्रोतिर म्यान्डेट सुरू भएको हो । हामीले खोजेको र खोसेको त होइन नि ।

– किस्तीमा सरकार पाएपछि किन पछि हट्नु भनेर लालसा पनि पलाएको होला ?

लालसाको कुरा होइन यो जिम्मेवारीको कुरा हो ।

– तपाईंहरूको दलको नेतृत्वमा गठबन्धनको सरकार छ । के सरकारको कामप्रति तपाईं स्वयम् सन्तुष्ट हुनुहुन्छ ?

छैन । म सन्तुष्ट छैन । हाम्रो सभापति, प्रधानमन्त्री उहाँले अधिवेशन सम्पन्न गर्नुपर्ने, उहाँ फेरि सभापतिमा निर्वाचित हुनुपर्ने । हाम्रा मन्त्रीहरू पनि महाधिवेशनमा सक्रिय हुनुपर्नेलगायतका कारणले सरकारले भनेजस्तो समय दिन नसकेको हो कि भनेर म शंकाको सुविधा दिन्छु ।

अब पार्टी आफ्नो गतिमा अगाडि बढ्नु पर्छ । सरकार आफ्नो गतिमा आफ्नो ढंगले चल्नुपर्छ । अब सरकारले जनतालाई सरकारको अनुभूति दिनुपर्छ ।

– हिजो महाधिवेशनको चटारोका कारण सरकारले काम गर्न सकेन भन्नुभयो । फेरि निर्वाचन आउँदै छ । त्यही ताकेताले काम गर्न सकिएन भन्नुहोला यस्ता कुरा गरेर बस्न छुट छ कांग्रेसलाई ?

हामीले योग्यता देखाउन सकेपछि मात्रै पो निर्वाचनमा सकारात्मक प्रभाव पर्ला । हामीले त निर्वाचन जित्ने स्वार्थको लागि पनि केही गरेर देखाउनु पर्छ ।

– अघिल्लो सरकारले बनाएको भूमि आयोगले जिल्ला-जिल्लामा अझै भनौँ पालिका स्तरमा तीब्र गतिमा काम गरिरहेको थियो । सरकारले खारेज गर्‍यो, तर काम सुरू गर्न सकेन । राजदूतहरू फिर्ता बोलाउनु भयो, गठबन्धनमै कुरा नमिल्दा होला नयाँ पठाउन सक्नुभएन । यी कुराहरूले सरकारको असफलता अझै स्पष्ट हुन्छ नि होइन ?

मैले स्वीकार गरेँ । अव रफ्तारका साथ अगाडि बढ्नुपर्छ ।

– जनतालाई सरकारको आभास होस् या नहोस् जनताको जीवनस्तरमा केही परिवर्तन होस् या नहोस् तर निर्वाचन जित्नकै लागि भए पनि केही गर्नुपर्ने बाध्यता छ है कांग्रेसलाई ?

(हाँस्दै) मैले तपाईंसँग अतिरिक्त इमानदार भएर कुरा गरेँ । निर्वाचन सम्पन्न गर्नुपर्ने हाम्रो प्राथमिकता हो । पार्टीको प्राथमिकता निर्वाचन जित्नु पनि हो । त्यसको लागि सरकारलाई हामी पनि बढीभन्दा बढी राम्रो काम गर भन्दै सुझाव दिइरहेका हुन्छौँ ।

– त्यो किन अहिलेसम्म हुन सकेको छैन ?

(एक छिन रोकिँदै) मतलब धेरै नराम्रो नहुनु पनि राम्रो हुनको लागि एउटा आधार हो । कम्तीमा केपी ओलीका बेलाका जस्ता काण्डहरू त हामीले सुन्नुपरेको छैन । काण्डहरू नहुनु पनि देशको लागि र हामी सबैको लागि राम्रो हो । राम्रो कामको लागि हामीले सल्लाह-सुझाव दिइरहेका छौँ, अझै पनि दिन्छौँ पनि ।

– तर, तपाईंले बोलेको कुरा पार्टीभित्र लागू हुन्छ त ?

केन्द्रीय कार्यसमितिमा पनि हामी छौँ । कार्यसम्पादन समिति हुन्छ त्यहाँ पनि हामी हुन्छौँ । मन्त्री, प्रधानमन्त्रीसँग सम्पर्कमा पनि हामी हुन्छौँ । सकेसम्म हामीले भनेको राम्रो कुरा लागु लगाउन कोसिस गर्छौं नि ।

– हिजो ६०/४० हुँदा त सभापतिले मनमौजी गरेको आरोप नसुनिएको होइन । अहिले तपाईँहरूको समूहको हैसियत त विरोध गर्न पुग्ने पनि छैन भन्छन् । यस्तोबेला कसरी पार्टीमा आफ्नो कुरा लागू गराउनु हुन्छ भन्ने मेरो जिज्ञासा ?

यसमा अल्पमत बहुमतभन्दा पनि हामी विवेकले चल्ने हो । सबै मिलेर हामीले विधिको सर्वोच्चतालाई स्थापित गर्ने हो पार्टीभित्र ।

– गुटकै नामबाट तपाईं सहमहामन्त्री बनेको आरोप छ । तपाईंभन्दा सिनियर नेताहरू पनि केन्द्रीय सदस्यमा चित्त वुझाउनुपर्‍यो । गुटबाटै आएको व्यक्तिले म पार्टी सुधार गर्छु भन्दा कार्यकर्ताहरूले पत्याउँछन् ?

संगठन शुद्धीकरण र शुद्धीकरणको मेरो अभियान छ । कुनै न कुनै टिममा आबद्धता पार्टी आन्तरिक राजनीतिभित्रको बाध्यता हो । टिमले मात्रै बनाएको भन्ने हो भने त हाम्रो टिम त हारिरहेको अवस्था हो नि । तर, म राम्रो बहूमतले जितेको छु । पार्टी भित्रै यिनीहरूले केही गर्न सक्छन् भन्ने आशा छ । त्यही आशाले यो टिम र त्यो टिम भनेर भोट हाल्ने र नहाल्ने काम भएको छैन ।

हाम्रा साथीहरूलाई हेर्दा टिमको नजरले हेर्दैनौं हामी । त्यो क्षणसम्म हामी टिम थियौँ होला । अब निर्वाचन सकिएको छ । अब हामी पार्टी भएका छौँ । अब हामीले एकता निर्माण गरेर अर्को कसैसँग प्रतिस्पर्धा गर्नुपर्छ हामीले । अर्को कसैलाई परास्त गर्नुपर्छ ।

हाम्रा साथीहरूले पनि हामीलाई यी टिमका मान्छे होइनन् पार्टीमा मान्छे हुन् र यिनीहरूले टिम निर्माण गर्ने होइनन् पार्टी निर्माण गर्ने हुन् भन्ने बुझेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर