मेरो सहरकी महारानी – Nepal Press
कथा-१

मेरो सहरकी महारानी

हरेक बिहानीका मिर्मिरेमै घण्टका मधुरधुनले निन्द्रा खुल्छ । पूर्वतिरको झ्याल उघार्छु । मधुरो प्रकाशमा मुस्कुराइरहेको गौरीशंकर हिमाल चुम्छु ।

यो हिमालका आधारमा नेपाली समयको सुई चल्छ, २०४२ सालको नयाँ वर्षको शुभारम्भदेखि यसरी नै नेपालको समय मामन हुँदै आएको छ । सूर्यको उज्यालो पोखिदै गएको गाउँवस्तीतिर आँखा तन्काउँछु ।

शरद्कालिन एकाविहानीमा भीमेश्वरसँग आखाँ जुधाउँछु । त्यहाँबाट घण्टका धुनहरु हावामा गुञ्जिरहन्छ । हरिया रुखहरुको छहारीमा भीमेश्वरसँग मेरो गहिरो आस्था छ । वरपर फूलहरु आफ्नै गतिमा फक्रिरहेको छ । भीमेश्वर र मेरोबीचको बसाईँ फूलहरुको राजमार्गले जोडिएको छ ।

भीमेश्वरको बास रहेको दोलखा सहर र चरिकोट बजार एकआपसमा सुमधुर सम्बन्धमा सम्पर्कित छन् ।

परापूर्व नेपालको एउटा साम्रज्यभित्रको दोलखा र चरिकोटको सम्बन्ध आज पनि उस्तै छ । घनिभूत हुदै गरेको जनघनत्वले यी दुई शहरलाई झनै नजिक्याइरहेको छ ।

एकिकरणपूर्व दोलखा राज्य सञ्चालनमा चरिकोटले ऐतिहासिक महत्व राख्छ । ऐतिहासिक कथाहरुमा दोलखाका खेतहरुका लागि अकासबाट पानी पार्न वा असिना रोक्न लामाका मन्त्रहरु प्रयोग हुन्थे ।

चरिकोट चरिघ्याङ गुम्बाबाट शक्तिप्राप्त लामा र राजाका सम्बन्धका प्रगाढ थियो । त्यसका केही निसानाहरु अझै छन् । पाँच शताब्दीको इतिहास जिवित रहेको चरिकोटस्थित चरिघ्याङ गुम्बानजिकै भीमेश्वरको मूर्ति छ ।

गुम्बाको दक्षिणी मोहडामा स्थापित मूर्तिले आपसी सम्बन्धलाई थप रहस्यमयी वनाएको छ । बौद्ध र हिन्दु देवतालाई साथसाथै राखेर पुजापाठ गरिनु प्रचीन सहिष्णुता मानकको रुपमा हेरिन्छ ।

जनविश्वास अनुसार चरिकोट चरिघ्याङ, चोथाङ, मकैबारी र विगुका लामाहरुले तन्त्रमन्त्र विधिमार्फत दोलखा सहरमा आसिना आउनबाट रोक्थे ।

त्यो कार्यका लागि राज्यका तर्फबाट गुम्बाका लागि लाँबु (खेत) हरु छुट्याइएको थियो । वाली रक्षा गरेबापत प्रत्येक खेतबाट एकपाथी धान र एकपाथी गहुँ आउथ्यो ।

०००

प्रायः भीमेश्वर मन्दिर पुग्दा चहलपहल बाक्लो भैसक्थ्यो । हरेक बिहान स्नानपछि दोलखा सहरका नरनारीका पाइला भीमेश्वरतिर लम्कन्छ । नारीका कोमल हातमा भीमसेनपातीको फुलले भरिएका थाली हुन्छन् ।

धुप, नैवेद, रंगहरु र चामल गेडाहरुले हुन्छन् । अर्को हातमा पित्तलका करुवा झुण्डिएका हुन्छन् । राज्य अस्तित्वमा रहदा दोलखा राज्यका महारानीको हरेक दिन भीमेश्वरतर्फ सवारी चल्थ्योे । राजकुमारीहरु पनि साथै हुन्थिन । महारानीकी सवारी चल्दा रैतीहरुले श्रद्धापूर्वक बाटोको दायाँबायाँ उभिएर झुक्थे । दशैं तिहारका बेला राजसवारी विशेष हुन्थ्यो । दशैका वेला महारानीले रैतीलाई वक्सिसहरु दिन्थे । बोका र रागाका मासुका प्रसाद ग्रहण गर्न देश परदेशदेखि आएका नरनारी दरबार पुग्थे । आफैले भोज बाँडेर महारानीले प्रजालाई आकर्षण भर्थिन ।

हरेक दिन भीमेश्वरमा राजपुजा गर्न राजाको सवारी चल्थ्यो । ढुङ्गा छापिएका वाटा र खुड्कीलाहरुमा राज परिवारको सवारी अवधिमा शहरमा सुरक्षा कडा हुन्थ्यो ।

श्रद्धाभक्तिपूर्वक पुजापाठका क्रममा भीमेश्वरमा गहनाहरु राजाले आफै पहिर्‍याइदिन्थे । पुजापाठ सकेर दरबार फिर्तिसवारी भएपछि राजभोजन खुल्थ्यो ।

भोजनपछि केहीसमय कोठीमा सुस्तापछि मात्र राजकाजको काम शुरु हुन्थ्यो । राज्यको चारैदिशाबाट आउनुपर्ने विर्ता बुझाउने हिसावकिताब हुन्थ्यो । घिऊ, तोरीको तेल, अनाज, बोका, रागाँहरुको संख्या गनिन्थ्यो ।

राजाले हिसाब सुनेपछि महारानीको आदेशमा भण्डारेले सामान एकएक गन्ती गर्दै राख्थे । बोका र रागाँहरु गोठमा बाधिन्थे । कुनै बडा दशै त कुनै चैत्ये दशैका लागि भाकल गर्दै राखिन्थ्यो । खड्गजात्राका रागाँका लागि छुठ्टै गोठमा राखिन्थ्यो ।

त्यसैबाट दोलखा राज्यभरीका देवदेवीको पुजापाठ चल्थ्यो । जात्रा, पर्व धानिन्थ्यो । गुठीका विधिपूर्वक हुने बली र भोजभत्यर खर्च गरिन्थ्यो । राज्य सञ्चालनका लागि खर्चपर्चको बन्दोवस्त त्यसैबाट हुन्थ्यो । बचेखुचेका वस्तुहरु रैतीलाई वक्सिस दिने गरिन्थ्यो । केही द्रव्य अन्य राज्यहरुसँग विनिमय हुन्थ्यो ।

ढुङ्गाका मन्दिर, देवता, बाटाहरु, घरहरुसहितको प्राचीन सभ्यताका कलाकौशलको यो सरहमा तिब्बतका यात्रुहरु आउथे । कुथिर उठ्तीका अड्डाहरु चारैदिशामा थिए ।

तामाकोसीका किनारैकिनार तिब्बतदेखि भारतसम्मका व्यापारिक मार्गबाट उठने कुथिर पनि आम्दानीका स्रोत थिए । विनियमयका राजा जयइन्द्रसिंह देवले टक निष्कान सुरु गरे । चाँदीका पैसा टक्सार घरबाट निष्कान हुन्थ्यो । राजाको हुकुमबाट त्यसलाई तिब्ततसँगको विनियम गरिन्थ्यो ।

राज्यको ढुकुटी बलियो बनाउन खर्कहरुको छुट्टै कर निर्धारण थियो । वरपरका गाउँहरु रैतीहरुका हातमा सुम्पिएका थिए । उत्पादनअनुसार करको व्यवस्था थियो । चारैदिशाबाट रैतीहरु शहरमा आउने भएकाले मनोरञ्जनका लागि विभिन्न जात्राहरु चलाइएका थिए ।

रातमा भैरबकुमारी, दिनमा खड्गजात्रालाई विशेष व्यवस्थापन गरिन्थ्यो । बर्षभरी जात्रामात्रा सञ्चालन गरेर दोलखा शहरलाई गुल्जार बनाउने योजना राजा आफैबाट हुन्थ्यो । राजा रानी र राजकुमारीहरु हरेक जात्रामा सहभागी हुन्थे ।

 

०००

 

नेपाल एकीकरणका क्रममा राजाका अस्तित्व समाप्त भयो । भीमेश्वरमा राजपुजा गर्न दोलखा शहरभित्र निकै अन्यौल र हल्लीखल्ली मच्चियो । राजपुजा कसबाट चलाउने भन्ने सहरका गल्लीगल्लीमा कचहरी मच्चियो । हरेक दिन पुजा रोकिनु नहुने धार्मिक विश्वासलाई कायम गर्नै पर्ने बाध्यता छदैथियो ।

नेपाल एकीकरणको क्रममा दोलखा राज्यको तालसाँचो केन्द्रीय सत्तामा हस्तान्तरण भयो । राजखलकलाई केन्द्रीय सत्ताका मातहातमा राखियो । मुख्यमन्त्री प्रधान खलकलाई केन्द्रीय सत्ता अन्तर्गत कामकाज तोकियोे । टक्सारघरका मुलगेटका पहरेदार फेरिए । राजाले गद्दी छाडे । राजा र महारानी दुवैले श्रीपेच फुकाले । श्रीपेचलाई ढुकुटीमा थन्क्याउन आदेश भयो । सवै सम्पत्तिको लगत केन्द्रमा हुकुम अनुसार मुख्यमन्त्रीसहितका दरवारिया कर्मचारीले तयार पारी पठाए ।

भीमेश्वरमा राजाको बाहुलीबाट विधिपूर्वक हुने पुजापाठ गुठियारहरुबाट हुने हुकुम लिखत आयोे । सोही बमोजिम भीमेश्वरको भण्डारमा तीन ताला ठोकिए । एउटा ताला गुठियारको जिम्मा लगाइयो । अर्को वडाहाकीमको जिम्मा लगायो । अर्को ताला केन्द्रीय सत्तामा बुझाउने कागजात बन्यो । राजा र महारानीले दुवैले प्रजासरह वसेर राज्यलाई विशाल नेपालमा एकिकरण गर्ने बाचापत्र तयार भयो । मुख्यमन्त्रीले हाडीमा लागेको कालो खुर्केर झिके । त्यसलाई तेलमा मिसाएर बनाएको रंगमा राजारानी दुवैले वुढी औला थिचे । बाचापत्रका तलमाथी औठाछाप गरी केन्द्रीय सत्तामा पठाइयो ।

भीमेश्वरमा मूख्य पुजा प्रत्येक दिन राजाका बाहुलीबाट हुन्थ्यो । राज्य एकिकरणपश्चता शाहावंशका राजाहरु भीमेश्वरमा सवारी भएन । समकक्षी देवताका रुपमा राजाले भीमेश्वरसँग दाज्थे । वडा महारानीहरुका भने दर्शनका लागि सवारी भैरहन्थ्यो । वडा महारानी हुँदा ऐश्वर्याको सवारी चल्दा मलाई पनि लामबद्ध स्वागतका लागि उभ्याइयो ।

दोलखा सहरको स्वयम्भूनिर स्काउटको पोशाकमा म उभिने ठाउँ तोकिएको थियो । सानै छदा स्कुलबाट वडा महारानीलाई स्वागत चाकडी पुर्‍याउन उभ्याइएको रहेछ भनेर धेरै पछि मात्र बुझेँ । म लगिएँ र मेरो भूमिका के हुन्थ्यो मेरो विवेकले जान्दैन थियो । मैले केवल स्काउटको सलाम गरेँ ।

क्रमश…

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.