प्राधिकरणले विस्थापित बस्तीमा बिजुलीको लाइन काट्यो, पीडित झन् समस्यामा – Nepal Press

प्राधिकरणले विस्थापित बस्तीमा बिजुलीको लाइन काट्यो, पीडित झन् समस्यामा

सिन्धुपाल्चोक । २०७७ भदौ २८ गते राति सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा भीषण पहिरो जाँदा ३१ जनाको मृत्यु भयो, धेरै घाइते भए । पहिरोले घरखेत सबै बगाएपछि एक सयभन्दा बढी परिवार विस्थापित भएका थिए । विस्थापितहरुलाई बाह्रविसे नगरपालिकाले तत्कालै बस्ती नजिकै सुरक्षित स्थानमा राखेको थियो ।

पहिरो पीडितहरु १६ महिनादेखि जिल्ला प्रशासन कार्यालय र बाह्रविसे नगरपालिकाले उपलब्ध गराएको टेन्टमा सकसपूर्ण दैनिकी कटाइरहेका छन् । घर बनाउन पनि आफ्नो जमिन सबै पहिरोले बगाएपछि पहिरोबाट विस्थापितहरु बाह्रविसे नगरपालिकाले भाडामा उपलब्ध गराएको जग्गामा टेन्ट राखेर पीडितहरु बसिरहेका छन् ।

एक हिउँद, वर्षा टेन्टमा नै गुजारेका पीडितहरुको टेन्टसम्म नगरपालिकाले समन्वय गरेर नियमित विद्युत् उपलब्ध गराएको थियो । तर लामोसमयदेखि विद्युत् महशुल नतिरेको भन्दै टेन्टमा लगेको विद्युत लाइन प्राधिकरणले काटिदिएपछि अहिले पीडितहरु झन समस्यामा परेका छन् ।

टेन्टमा बसिरहेका पीडितहरुलाई अहिले पनि बाह्रविसे नगरपालिकाले नै सबै सहयोग गर्दे आएको छ । ‘हामीले विद्युत् महशुल पनि नगरपालिकाले नै भुक्तानी गर्ने भनेर प्राधिकरणलाई भनेका थियौं तर प्राधिकरणले हामीसँग समन्वय नै नगरी लाइन काटिदिएछ’, बाह्रविसे नगरपालिकाका उपमेयर सुशिला पाख्रिनले भनिन् ।

आफन्त गुमाए, पहिरोले जग्गा जमिन सबै नै बगायो, अहिले टेन्टमा बसिरहेका पीडितहरुलाई प्राधिकरणले लाइन काटेर थप पीडा दिएको उपप्रमुख पाख्रिनले गुनासो गरिन् ।

‘हामीसँग सल्लाह गरेको भए हामी महशुल बुझाउने थियौ, तर थाहै नदिएर प्राधिकरणले राजनीतिक प्रतिशोध राखेर विस्थापित बस्तीको लाइन काटिदियो’, उपप्रमुख पाख्रिनले बताइन् । प्राधिकरणका प्रमुखसँग यो विषयमा गुनासो गर्दा निर्देशनमा लाइन काटेको भन्दै आफूहरुलाई समेत प्राधिकरणले अपमानजनक व्यावहार गरेको पाख्रिनले गुनासो गरिन् । कुलमानको निर्देशन आएपनि नमान्ने भन्दै प्राधिकरण सिन्धुपाल्चोक वितरण केन्द्रका प्रमुखले टर्राे जवाफ दिएको उनले बताइन् ।

प्राधिकरणले विस्थापितको बस्तीमा लाइन काटिदिएपछि टेन्टमा बस्ने महिला र बालबालिकाहरु समस्यामा परेका छन् । चिसोको समयमा टेन्टमा बस्ने सुत्केरी महिला र साना बालबालिकाहरुलाई अध्यारोमा समस्या भएको पीडितहरुले बताए ।

विद्यालय आउने बालबालिकाहरुले विद्युत् अभावमा होमवर्क नै नगरेको बच्छलादेवी माविका प्रअ बजिरसिंह भण्डारीले जानकारी दिए । होमवर्क किन नगरेको भन्दा बत्ती नै नभएर नगरेको भनेर विद्यार्थीहरुले भन्ने गरेको भण्डारीले जानकारी दिए ।

बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले पनि प्राधिकरणले पीडितहरुलाई झनै पीडा दिएको बताउँछन् । विद्युत् महशुल समयमा नै भुक्तानी गर्नुपर्छ तर घरखेत केही नभएर अस्थाइ आवसमा बसिरहेकाहरुको लाईन काट्नु प्राधिकरणको गैरजिम्मेवारी भएको मेयर शेर्पाले बताए ।

‘प्राधिकरण प्रमुखसँग अलिकति पनि मानवीय संवेदना नै रहेनछ’, मेयर शेर्पाले भने, ‘उद्योग कलकारखानाहरुले लामो समयदेखि विद्युत् महशुल नबुझाउँदा पनि लाइन काटेको छैन तर विस्थापित बस्तीहरुको थोरै महशुल नबुझाउदा पनि लाइन काट्ने ?’

नेपाल विद्युत् प्राधिकरण सिन्धुपाल्चोक वितरण केन्द्रका प्रमुख दिपिन ढकाल भने आफूहरुको नियमित प्रक्रियाअन्तरगत नै विद्युत महशुल नतिर्नेहरुको लाईन काटेको बताउँछन् । ‘अन्यत्र पनि लाइन काट्न सुरु भएको छ, कर्मचारीहरु त्यहाँ पुग्दा त्यहाँको पनि महशुल नबुझाएको आफूलाई जानकारी आएपछि मैरै निर्देशनमा लाइन काटिएको हो’, उनले भने, ‘हामीले केही समयअगाडि इन्टरनेटको महशुल नतिर्दा लाइन काटियो, यस्तो सवालमा मानवीयता भन्ने हुँदैन ।’

दुइ महिनाअघि मात्रै सरुवा भएर सिन्धुपाल्चोक वितरण केन्द्रमा आएका प्रमुख ढकालले नाङ्लो ठटाएर, हात्ती तर्साउन खोजेको प्राधिकरणका एक कर्मचारीले जानकारी दिए । ‘जिल्लामा सञ्चालित विभिन्न उद्योगहरुले लामो समयदेखि विद्युत् महशुल बुझाएका छैनन्, उनीहरुलाई केही गर्न सकेका छैनन् तर विस्थापित बस्तीको जम्मा ४० हजार बक्यौता हुँदा लाइन काटियो’, ती कर्मचारीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर