शेखर कोइरालाले भने- गुटबन्दी गर्दैनौं, भागबण्डा चाहिँदैन (भिडिओ) – Nepal Press

शेखर कोइरालाले भने- गुटबन्दी गर्दैनौं, भागबण्डा चाहिँदैन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भागबण्डा र गुटबन्दीको राजनीति नगर्ने उद्घोष गरेका छन् । महाधिवेशनबाट सभापतिमा निर्वाचित हुन नसकेपनि गुटबन्दी गरेर भाग खोज्ने काम आफूबाट नहुने प्रष्ट पारेका छन् ।

‘हामी भागबण्डा र गुटबन्दीको राजनीतिमा लाग्दैनौं । हामी राम्रो काम गर्दै जान्छौं । कार्यकर्ताको घरदैलोमा पुगिरहन्छौं । यस्तो अवस्था बन्छ कि हाम्रोबारेमा सोच्न नेतृत्व बाध्य हुनेछ’, कोइरालाले भने ।

उनले सभापतिमा निर्वाचित भएकोमा शेरबहादुर देउवालाई शुभकामना दिँदै चार वर्षको कार्यकालमा विगतका कमजोरी नगर्न सुझावसमेत दिएका छन् । ‘शेरबहादुरजीलाई म चार वर्षको लागि शुभकामना दिन्छु । विधानअनुसार सभापतिको कार्यकाल पनि ४ वर्ष नै हो’, कोइरालाले भने ।

उनले पार्टीभित्र बेथिति र विसंगति दोहोरिए सशक्त प्रतिवाद हुनेपनि उल्लेख गरे । ‘सभापति नजितेपनि हाम्रो राजनीतिक एजेण्डा ओझेलमा परेको छैन । पार्टीमा फेरी बेथिति भयो भने हामी सशक्तरूपले प्रस्तुत हुनेछौ’, उनले भने ।

कोइरालाले निर्वाचनमा सहयोग गर्न नसक्ने नेताहरुसँग कुनै गुनासो नरहेको बताए । ‘हो मैले चुनाव हारेको छु । कतिपय नेताले सहयोग गर्नसक्नुभएन । यसमा मेरो कुनै गुनासो पनि छैन, कुण्ठा पनि छैन । निर्वाचनमा हारजित सामान्य हो । मैले हारेपनि पार्टीभित्र युवापुस्ताका लागि अवसरको ढोका खोल्न सफल भएका छौ’, कोइरालाले भने ।

उनले सभापतिमा पराजित भएपनि कांग्रेस रुपान्तरणको अभियान नरोकिने बताए । ‘म आजैदेखि नेपाली कांग्रेसको रुपान्तरणको लागि लागिसकेको छु । निरन्तर रुपमा म तपाईहरुको घरदैलोमा आइपुग्छु । मेरो राजनीतिक यात्रा नयाँ ढंगले सुरु गर्छु’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर