नेप्से ६ प्रतिशतले बढेपछि आजका लागि कारोबार बन्द – Nepal Press

नेप्से ६ प्रतिशतले बढेपछि आजका लागि कारोबार बन्द

काठमाडौं । सेयर बजार मापक सूचक नेप्से मंगलबार ६.०१ प्रतिशतले बढेपछि कारोबार बन्द भएको हो । नेप्से परिसूचक २४१८.८५ अंकमा पुगेको छ ।

पछिल्लो २ दिन १ सय ६८ अंकले घटेको बजार सूचक आज एकैदिन १३७.१८ अंकले बढेको हो ।

नेप्सेका प्रवक्ता मुरहरी पराजुलीका अनुसार आजको लागि बजार बन्द भएको हो । लामो समयपछि सेयर बजारमा सकारात्क सर्किट लागेको हो ।

कारोबार सुरु भएको पहिलो १ घण्टामा नेप्से ४ प्रतिशतमा घटबढ भएमा पहिलो सकारात्मक सर्किटब्रेक लागेर २० मिनेटका लागि कारोबार बन्द हुन्छ । कारोबार अवधि १२ देखि १ बजेको बीचमा ५ प्रतिशतले बजारमा घटबढ भएमा दोस्रो सकारात्मक सर्किटब्रेक लागेर कारोबार ४० मिनेटका लागि स्थगित हुन्छ । आज १२.३८ मिनेट बजार ५ प्रतिशतले बढेर ४० मिनेटका लागि बजार बन्द भएको थियो ।

पहिलो सर्किटब्रेक हुँदासम्म बजार ११४.२५ अंकले बढेर २३९५.९३ अंकमा पुगेको थियो । यसअवधिमा ३२ लाख ६४ हजार ३५८ कित्ता सेयर किनबेचबाट १ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

पहिलो सर्किटब्रेक पश्चात कारोबार सुरु भएको केही समयमा नै ६ प्रतिशतले नेप्से बढेपछि दिनभरका लागि कारोबार स्थागित गरिएको हो । एकदिनमा नेप्से ६ प्रतिशतले मात्रै घटबढ हुनसक्ने व्यवस्था रहेको छ ।

कारोबार बन्द हुँदासम्ममा २२० कम्पनीका ४० लाख ८५ हजार ९५६ कम्पनीको सेयर खरिदबिक्रीबाट १ अर्ब ८४ करोड कारोबार भएको छ ।  आज अधिकांश समूहगत उपसूचकहरुमा हरियाली छाएको छ ।

बैंकिङ समूह ६८.५ अंक, ब्यापार समूह १८०.२८ अंक. होटल तथा पर्यटन समूह १७३.२६ अंक, विकास बैंक समूह ३५८.६८ अंक, जलविद्युत समूह १९८.५५ अंक, वित्तीय समूह १६७.७१ अंक, नीर्जीवन बीमा समूह ६४५.१८ अंक, उत्पादन तथा प्रसोधन समूह ३०४.७४ अंक, अन्य समूह १२८.४२ अंक, लघुवित्त समूह २८५.५७ अंक, जीवन बीमा समूह ६६१.६९ अंक, सामूहिक लगानीकोष समूह ०.२४ अंक र लगानी समूह ५.५६ अंकले बढेका छन् ।

आज ३८ कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किटब्रेक लागेको छ । ९ करोड ८ लाख रुपैयाँको सेयर कारोबार गर्दै आज पनि नविल बैंक कारोबार रकमका आधारमा सबैभन्दा अगाडि छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर