१५ दिन सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने – Nepal Press

१५ दिन सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने

रुपन्देही । आजदेखि सिद्धार्थ राजमार्ग १५ दिनसम्मका लागि दैनिक ६ घन्टा बन्द हुने भएको छ । सडक डिभिजन पाल्पाले सूचना निकालेर सडक विस्तारको काम छिटो पूरा गर्नका लागि सडक बन्द गरेर निर्माण गर्ने जनाएको छ ।

सूचनामा मंगलबारदेखि पुस १३ गतेसम्म १५ दिन दैनिक ६ घण्टा बन्द हुने जनाइएको छ । निर्माण व्यवसायीको लापर्वाहीले अघिल्लो वर्षदेखिका काम नसकेको र काम छिटो सक्नका लागि सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडक खण्ड १५ दिनसम्म बन्द रहने सडक डिभिजनले जनाएको छ ।

रुपन्देहीको सिमाना तल्लो सिद्धबाबादेखि झुम्सा पुलसम्मको खण्डका साथै चर्चरे कालीमाटीदेखि गौडेपुलसम्म सडक चौडा गर्न बन्द गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

घुम्तीमा सडक चौडा गर्ने, दोभान बजार क्षेत्रमा अघिल्लो वर्ष नै ठेक्का भएको धर्मकांटा राख्ने स्थानको कामका साथै पर्खाल लगाउने र नाली बनाउनका लागि सडक बन्द गरेर काम गर्न लागेको हो । घुम्ती कटान गर्दा सवारी साधनले समस्या ल्याएको भन्दै निर्माण व्यवसायीले सवारी साधन बन्द गर्न आग्रह गरेका थिए ।

गत असारदेखि नै घुम्ती कटान, सडक चौडालगायतका काम भन्दै दैनिक यात्रुले सास्ती भोग्नुपरेको छ । सडक डिभिजन र प्रशासन कार्यालयको छलफलबाट दैनिक राती साढे ९ बजेदेखि बिहान ४ बजेसम्म लागि सडक बन्द गरिएको सडक डिभिजनले जनाएको छ । यसअघि दिउँसोमा पनि बन्द गरिएको थियो । यसअघि गत मंसिर २५ गतेदेखि पाल्पाबाट गुल्मी जाने तानसेन–रिडी सडकखण्ड पनि दैनिक ६ घण्टा बन्द गरिएको छ ।

लघुवादेखि जोर्ते भिर आसपास क्षेत्रमा बाटो चौडा गर्ने कामका लागि समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायी प्रदीप÷शाइन जेभीले यातायात बन्द गर्न आग्रह गरेअनुसार बन्द गरिएको हो । पछिल्लो समय बुटवल–नारायणगढ सडकमा घण्टौ जाम हुने भएकाले बुटवल पश्चिम जाने सवारी साधन पोखरा हुँदै आउने गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *