कांग्रेस चुनाव : पहिलो चरणमा देउवा बलिया, दोस्रोमा गए शेखर ! – Nepal Press

कांग्रेस चुनाव : पहिलो चरणमा देउवा बलिया, दोस्रोमा गए शेखर !

काठमाडौं । नेपाली कांग्रेसको आगामी नेतृत्व चयनका लागि प्रतिनिधीहरुको भोट ट्याङ्कीमा खस्न थालिसकेका छन् । अब सबैलाई चासो र प्रतिक्षा छ मत परिणामको ।

कागजी मतदान भएकाले मत परिणाम आउन लामै समय धुकधुकी थामेर पर्खिनुपर्ने हुन सक्छ ।

कांग्रेसले मेसिनमा भन्दा ट्याङ्कीमा भरोसा गरेपछि मतगणना कार्य लामो र झण्झटिलो हुने भएको हो । यद्यपि, दुई प्यानलबीच तीव्र प्रतिस्पर्धा हुने अवस्थामा मतगणना उत्तिकै रोचक र खुल्दुलीपूर्ण हुन सक्छ ।

यसपाली पार्टीका मुल नेतृत्व अर्थात सभापतिको प्रतिस्पर्धा निकै पेचिलो हुने देखिएको छ । सभापतिमा ५ उम्मेदवार भए पनि शेरबहादुर देउवा र शेखर कोइरालाबीच द्विपक्षिय प्रतिस्पर्धा हुने सबैले आँकलन गरिरहेका छन् । उनीहरुमध्ये को अगाडि छ भन्न सकिने स्थिति छैन । यद्यपि, एकथरि विश्लेषणअनुसार यदि देउवाले पहिलो चरणमा चुनाव जितेनन् भने दोस्रो चरणमा शेखरले खेल उल्टाउन सक्छन् ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत अर्थात ५१ प्रतिशत प्राप्त गर्नुपर्ने हुन्छ । अहिलेको गुटगत सन्तुलन हेर्दा दुवै उम्मेदवारले पहिलो चरणमा ५१ प्रतिशत ल्याउन कठिन हुन सक्ने विश्लेषण गरिएको छ । यदि त्यसो भएन भने नयाँ सभापतिका लागि फेरि अर्को निर्वाचन गर्नुपर्ने हुन्छ ।

पहिलो चरणको चुनावमा पहिलो र दोस्रो सर्वाधिक मत प्राप्त गर्ने दुई उम्मेदवारले मात्रै दोस्रो चरणको चुनाव लड्न पाउने छन् । त्यसैले दोस्रो चरणमा दुईमध्ये एकजनाले बहुमत ल्याउने निश्चितप्राय: हुन्छ ।

कांग्रेसको अघिल्लो १३ औं महाधिवेशनमा देउवाले दोस्रो चरणमा जित हासिल गरेका थिए । पहिलो चरणमा पहिलो र दोस्रो सर्वाधिक मत ल्याएका देउवा र रामचन्द्र पौडेलबीच दोस्रो चरणमा भिडन्त भएको थियो । त्यसमा देउवाले १८ सय २२ मत लयाएर विजयी भए भने पौडेल १२ सय ९६ मत ल्याएर पराजित बने । ५ सय २६ मतको भारी अन्तरले देउवाले चुनाव जितेका थिए ।

यो पटक देउवाले पहिलो चरणमै जित हासिल गर्न चाहेका छन् । कृष्ण सिटौलाको टिमको समर्थन प्राप्त गरेकाले पनि देउवा पहिला चरणमा आशावादी छन् ।

संस्थापनइतर समूहबाट दुई बलिया उम्मेदवार भएकाले उनीहरुको भोट बाँडिने र आफूहरुलाई अनुकुलता मिल्ने बुझाइ देउवा पक्षमा छ ।

संस्थापन पक्षबाट पनि विमलेन्द्र निधीले सभापतिमा उम्मेदवारी दिएका छन् । तर, उनले देउवाको भोट खासै नकाट्ने संस्थापन पक्षका नेताहरुको दावी छ ।

यता संस्थापनइतर समूह चाहिँ सभापतिको चुनाव दोस्रो चरणमा धकेल्ने रणनीतिमा देखिएको छ । पहिलो चरणमा देउवाभन्दा पछि परे पनि दोस्रो चरणमा उनलाई उछिन्न सकिने विश्वास संस्थापन इतरका नेताहरुले व्यक्त गरिरहेका छन् ।

दोस्रो चरणमा देउवाबाहेकका सबै उम्मेदवारले आफूलाई समर्थन भन्ने विश्वासमा छन् शेखर । विगतमा देउवा निकट रहेका सभापतिका उम्मेदवार विमलेन्द्रले दोस्रो चरणमा देउवाविरुद्ध सबैको मोर्चाबन्दी हुने हिजो बताए । यसबाट संस्थापनइतर समूह हौसिएको छ ।

यदि साँच्चै दोस्रो चरणमा देउवाविरुद्ध सबै एकजुट भए भने शेखरको सम्भावना बलियो बन्न सक्छ । देउवाका परम्परागत प्रतिस्पर्धी र पार्टीमा बलियो गुट भएका रामचन्द्र पौडेलको समर्थन शेखरको शक्तिको सबैभन्दा ठूलो स्रोत हो ।

यस्तै, सभापतिका अर्का आकांक्षी पूर्वमहामन्त्री सशांक कोइरालाले पनि उनलाई समर्थन गरेका छन् ।

पहिलो चरणको चुनावमा प्रकाशमान र विमलेन्द्र छाँटिए भने उनीहरुको समर्थन दोस्रो चरणमा महत्वपूर्ण बन्न सक्छ । विमलेन्द्रले शेखरलाई सघाउने बाचा गरेका छन्, तर प्रकाशमानको रणनीति स्पष्ट छैन । आफू हारेपछि दोस्रो चरणमा उनी मौन बस्न सक्ने सम्भावना पनि छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर