अलेक्सा वेबसाइट बन्द हुँदै, २०२२ को मे महीनादेखि पूर्णरुपमा बन्द हुने – Nepal Press

अलेक्सा वेबसाइट बन्द हुँदै, २०२२ को मे महीनादेखि पूर्णरुपमा बन्द हुने

काठमाडौं । वेब ट्राफिक तथ्यांक र वेब विश्लेषण गर्दै आएको वेबसाइट अलेक्सा अब बन्द हुने भएको छ । अमेजनको सहायक कम्पनीको रुपमा रहेको अलेक्सा स्थापनाको २५ वर्षपछि बन्द हुन लागेको हो । अलेक्साले वेबसाइटमा आउने ट्राफिक डेटाका आधारमा वेबसाइटहरुको मापन गर्ने गर्छ । त्यसैका आधारमा कुन देशमा कुन वेबसाइट कति नम्बरमा छ र विश्वमा कति नम्बरमा छ भन्ने जानकारी लिन सकिन्थ्यो ।

साथै यसले कुनैपनि वेबसाइटको एसईओ, अन्य प्रतिस्पर्धी कम्पनीको वेबसाइटको एनालिटिक डेटासमेत उपलब्ध गराउँदै आएको छ । तर, अब भने अमेजनले यसलाई बन्द गर्ने भएको छ ।

कम्पनीका अनुसार सन् २०२२ को मे महिनाबाट यो पूर्णरुपमा बन्द हुनेछ ।

‘हामीले आजभन्दा २५ वर्षअघि अलेक्सा इन्टरनेटको सुरुवात गरेका थियौ,’ अमेजनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुई दशकभन्दा बढी तपाईंहरुलाई सेवा दिन पाउनु एक महत्वपूर्ण अवसर थियो । तर, अब भने हामी यसलाई बन्द गर्दैछौं । जुन हाम्रा लागि एकदमै कठिन निर्णय हो । यो आउँदो मे १ तारिखबाट पूर्णरुपमा बन्द हुनेछ ।’

अलेक्सालाई सन् १९९६ मा एक स्वतन्त्र कम्पनीको रूपमा स्थापना गरिएको थियो । सन् १९९९ मा २५ करोड अमेरिकी डलरमा अमेजनले यसको स्वामित्व खरिद गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर