प्यानलमा नअटाएपछि मीन विश्वकर्माले फिर्ता लिए उम्मेदवारी, देउवालाई निःशर्त सघाउने – Nepal Press

प्यानलमा नअटाएपछि मीन विश्वकर्माले फिर्ता लिए उम्मेदवारी, देउवालाई निःशर्त सघाउने

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पार्टीको केन्द्रीय सदस्यका लागि दर्ता गरेको उम्मेदवारी फिर्ता लिएका छन् ।

आफ्नो असहमतिमै उम्मेदवारी दर्ता गराइएको भन्दै फिर्ताका लागि उनले कांग्रेसको निर्वाचन समितिमा निवेदन दिएका हुन् ।

विश्वकर्माले शेरबहादुर देउवाको प्यानलबाट पदाधिकारीमा लड्न चाहेका थिए । महामन्त्री वा सहमहामन्त्रीका आकांक्षी रहेका उनी देउवाको प्यानलमा अटाउन सकेनन् ।

‘हिजो साथीभाइहरुले नाम राखिदिएका रहेछन् । हाइकमाण्डको सल्लाहमा हो कि के हो !’ उनले नेपाल प्रेससँग भने, ‘एउटा फर्म त हस्ताक्षर गरेर बिहानै पठाएको थिएँ । तर पछि नगर्नु भन्दा पनि नाम हालिदिएछन् । नाम आएको देखेपछि फिर्ता लिन निवेदन दिएको हुँ ।’

आफूले एउटै पदमा तीन कार्यकाल काम नगर्ने मान्यताका साथ पदाधिकारीमा जान चाहेको विश्वकर्माको भनाइ छ । ‘मैले पदाधिकारीमा चाहेको थिएँ, तर प्यानलमा अटाउन सकिनँ,’ त्यसैले बाहिरै बस्ने निर्णय लिएँ,’ उनले भने ।

आफूलाई अरु प्यानलबाट पनि अफर आएको तर आफूले देउवाको साथ नछाड्नले विश्वकर्माले बताए ।

‘मलाई विश्वजीसँगै महामन्त्री लड्ने प्रस्ताव पनि आएको थियो,’ उनले सुनाए, ‘तर शेरबहादुर दाइप्रतिको विश्वास र भरोसा तोड्दिन । दाइको पनि यो अन्तिम कार्यकालमा मेरो कुनै पनि क्रियाकलापबाट उहाँको चित्त नदुखाेस भन्ने चाहन्छु ।’

अब आफू सभापति देउवालाई जिताउनमा केन्द्रित हुने विश्वकर्माले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर