पूर्णबहादुर खड्का : ६ महिने मेयरदेखि महामन्त्रीको यात्रा, अबको गन्तव्य उपसभापति – Nepal Press

पूर्णबहादुर खड्का : ६ महिने मेयरदेखि महामन्त्रीको यात्रा, अबको गन्तव्य उपसभापति

सुर्खेत । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका निकट सहयोगीको नाम लिँदा पूर्णबहादुर खड्का सधैँ अग्रपंतिमा आउँछन् । कर्णाली प्रदेशबाटै पहिलोपटक कांग्रेस पदाधिकारीमा पुग्न सफल नेता हुन् उनी ।

कर्णाली कांग्रेसकै एक बलिया खम्बा मानिने नेता खड्का हाल पार्टीको महामन्त्री छन् । उनी आसन्न महाधिवेशनमा उपसभापति पदका आकांक्षी हुन् । देउवा समूहले आफ्नो प्यानललाई अन्तिम रूप दिइनसकेको भए पनि उपसभापतिमा उनको बलियो दाबेदारी छ ।

खड्का विगतमा पाँचपटक निर्वाचित सांसद र पाँचौ पटक मन्त्री भइसकेका छन् । उनी संसदको राज्य व्यवस्था समितिको सभापतिसमेत बनेका थिए ।

२०३१ सालबाट राजनीतिक यात्रा शुरु गरेका खड्का २०३४ सालमा सुर्खेत कांग्रेसको सभापति भएका थिए । त्यतिबेला उनी जम्मा २४ वर्षका थिए । पञ्चायतकालको प्रतिबन्धित अवस्थामा उनी निरन्तर राजनीतिमा सक्रिय रहे ।

२०३६ सालमा बहुदल र निर्दलबीचको चुनावमा कांग्रेसले भाग लिने निर्णय गर्दा खड्काले वीरेन्द्रनगरमा मेयरको रुपमा चुनाव जितेका थिए, तर उनलाई पञ्चायतको समर्थन गर्न राजाले दबाब दिए । राजाले दिएको दबाब अस्वीकार गर्दा जिल्ला अदालत सुर्खेतले मेयर भएको ६ महिनामै उनलाई अपदस्थ गरिदिएको थियो ।

विभिन्न समयमा गरेर पाँच महिनाभन्दा बढी जेलजीवन बिताएका खड्का सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट पाँचपटक सांसदमा विजयी बने भने एकपटक पराजित भए ।

२०४८, २०५१, २०५६ मा उनी प्रत्यक्ष चुनाव जितेर सांसद भएका थिए । २०६४ सालमा उनी समनुपातिक सांसद बने । २०७० सालमा भएको चुनावमा जितेका खड्का पछिल्लो २०७४ सालको संसदीय चुनावमा भने पराजित भएका थिए ।

खड्का दुईपटक गृहमन्त्री भइसकेका छन् । यस्तै, उनीसँग युवा तथा खेलकुद मन्त्री (दुईपटक), सञ्चारमन्त्री र उद्योग वाणिज्य मन्त्रीका रूपमा जिम्मेवारी निभाएको अनुभव छ । सुर्खेत १ का जनतामा उनले आफूलाई ‘विकासप्रेमी नेता’ का रूपमा चिनाएका छन् ।

खड्काले १० औं महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा चुनाव लडेका थिए । त्यो समयमा मध्यपश्चिम विकास क्षेत्रबाट एक जना मात्रै केन्द्रीय सदस्य चुन्ने व्यवस्था थियो । सो महाधिवेशनमा सुशील कोइराला विजयी हुँदा खड्का पराजित भए । त्यसपछि ११ औं महाधिवेशनमा कांग्रेस फुटेर बनेको प्रजातान्त्रिक कांग्रेसको केन्द्रीय सदस्यमा उनी निर्वाचित भए । १२ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य जितेर उनी सहमहामन्त्रीमा मनोनित भएका थिए । पछिल्लो १३ औं महाधिवेशनमा महामन्त्री बनेका हुन् ।

तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्ट भन्छन्, ‘चुनाव प्रचारको समयमा पनि उहाँ गाउँमा जनताकै घरमा बस्नुहुन्छ । कुनै अभियानको समयमा होस या कार्यक्रममा, कहिल्यै होटलमा बसेको मलाई थाहा छैन ।’

देउवालाई संकटको बेलामा जहिल्यै काँध थाप्ने नेता हुन् खड्का । अब महाधिवेशनमा खड्कालाई कांग्रेस प्रतिनिधिले काँध थाप्छन् या थाप्दैनन् हेर्न बाँकी छ ।


प्रतिक्रिया

2 thoughts on “पूर्णबहादुर खड्का : ६ महिने मेयरदेखि महामन्त्रीको यात्रा, अबको गन्तव्य उपसभापति

  1. पुणदाई सुन्दरछन सालिनछन सबैकुरा राम्राे लाग्छ यउटा चिन्ताकाे बिषय यमसिसि वाला शेरेकाे कांध थापेका छन् तेशैले शेरेकाे पछिकाे मान्छे खतर्नाक शेरे खतर्नाक नपाल र नेपालीलाई पुणदाई यमसिसिकाे मतियार नबनुन यदि बने भने हाेसियार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर