लुम्बिनीमा ह्वात्तै बढे आन्तरिक पर्यटक, एकै साता ५० हजार भित्रिए – Nepal Press

लुम्बिनीमा ह्वात्तै बढे आन्तरिक पर्यटक, एकै साता ५० हजार भित्रिए

रुपन्देही । कोरोना महामारीले लामो समय सुनसान बनेको बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ । अहिले देशका विभिन्न स्थानका शैक्षिक संस्थाका शिक्षक, विद्यार्थी, विभिन्न संघसंस्थाका गाडीमा लुम्बिनी आउनेहरुको घुइँचो लागेको छ ।

लुम्बिनीलाई प्राथमिकतामा राखेर विभिन्न प्रदेशका शैक्षिक संस्थाहरुले शैक्षिक भ्रमण गराउन थालेपछि यो संख्या उल्लेख्य रुपमा बढेको हो । विद्यार्थीबाहेक अन्य आन्तरिक र बाह्य पर्यटकको संख्यामा पनि उस्तै बृद्धि भएको छ । अहिले भारतका विभिन्न क्षेत्रबाट आउने पर्यटकको संख्या पनि उत्तिकै बढेको छ ।

पहिलो चरणको कोरोना संक्रमण कमी भएपछि २०७७ मंसिर ३ मा खुलेको लुम्बिनी २०७८ को शुरुवातीमै दोस्रो चरणको संक्रमण शुरु भएपछि सुस्ताएको थियो । भदौयता दोस्रो चरणको संक्रमण कमी आएपछि खुला भएको लुम्बिनीमा बढ्न थालेको आन्तरिक पर्यटकको संख्या पछिल्लो तीन महिनामा निकै धेरै संख्यामा बढेको छ । मंसिर लागेसँगै यो संख्या उकालो लागेको हो ।

लुम्बिनी विकास कोषको तथ्यांकअनुसार अगष्ट १७ अर्थात भदौ १ गतेबाट खुला गरिएको लुम्बिनीमा अगष्टमा ५ हजार ७४२ आन्तरिक र ४९९ भारतीय पर्यटक आएका थिए । सेप्टेम्बरमा आन्तरिक पर्यटक बढेर १७ हजार ८५८ पुगे भने भारतीय १ हजार ३८६ पयर्टकले लुम्बिनी घुमेका थिए ।

अक्टुबरमा त्यो संख्या बढेर ५३ हजार ८ सय ७० आन्तरिक र ६ हजार ८१० भारतीय र नोभेम्बरमा ८८ हजार ३८६ आन्तरिक र ९ हजार ४५६ भारतीय पर्यटकले लुम्बिनी अवलोकन गरेका छन् । यो बीचमा करिब १ हजार मात्र अन्य मुलुकका नागरिकले लुम्बिनी घुमेका छन् । पछिल्लो एकसाता अर्थात डिसेम्बरमा त्यो संख्या निकै बढेर गएको लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले बताए । एकसातामा ५० हजारभन्दा बढी पर्यटक लुम्बिनी आएका छन् ।

असोजयता लुम्बिनी आउने आन्तरिक पर्यटकको संख्यालाई हेर्दा कोरोनाकालभन्दा पहिलेकै अवस्था भन्दा पनि राम्रो भएको यहाँका पर्यटन व्यवसायीले बताएका छन् ।

कोरोना संक्रमण न्यून भएपछि लुम्बिनी क्षेत्र भ्रमण गर्ने आन्तरिक पर्यटकहरु बढ्दै गएको लुम्बिनी विकास कोषको तथ्यांकले पुष्टि गरेको छ । लुम्बिनी घुम्न आएका विद्यार्थीहरु नयाँ ठाउँ र परिवेशको अनुभव लिन पाउँदा थप हौसला मिलेको विद्यार्थीहरुले सुनाउँछन् ।

विद्यार्थी जीवनमा शैक्षिक भ्रमण भनेपछि सबै विद्यार्थी उत्साहित हुन्छन् । गएका दुईवटा शैक्षिक सत्रमा विद्यार्थी घुम्न पाएनन् । कतै यो वर्ष पनि हुँदैनकी भन्ने दुविधा थियो । तर आफुहरु सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे ।

सुदूरपश्चिमबाट आएका विद्यार्थी गरिमा बोहोराले आफूले किताबमा पढेको लुम्बिनी हेर्न विद्यालयका ९ देखि १२ सम्मका अधिकांश विद्यार्थी ४ वटा गाडी रिजर्व गरेर आएको बताइन् । कैलाली मोडल सेकेण्डरी स्कुलका शिक्षक दिपेन्द्र भट्टले बिगत दुई वर्ष चाहेर पनि विद्यार्थी कतै भ्रमण गराउन नपाएको र धेरै विद्यार्थीहरुले चाहना गरेर लुम्बिनी नै भ्रमणका लागि ल्याएको बताए । शैक्षिक भ्रमणको क्रममा लुम्बिनी आएका र कोरोना महामारीले घुम्न नपाएका विद्यार्थी विद्यालयकै पहलमा घुम्न पाउँदा निकै खुसी देखिएका छन् ।

शैक्षिक भ्रमणमा लुम्बिनीलाई प्रमुख गन्तव्यस्थलका रुपमा शैक्षिक संस्था तथा विभिन्न संघसंस्थाले राखेका छन् । केही दिनयता लुम्बिनीमा पर्यटकको संख्या बढेको तथ्यांकले पनि त्यो पुष्टि गर्छ । आन्तरिकसँगै बाह्य मुलुकका पर्यटकको संख्या पनि बढ्न थालेको छ । सुस्ताएको लुम्बिनीको पर्यटन पर्यटकको अवागमनसँगै बिस्तारै गतिशिल भैरहेको लुम्बिनी विकास कोषका सूचना अधिकारी बताउँछन् ।

लुम्बिनी विकास कोष सूचना प्रमुख हरि राईका अनुसार आन्तरिक पर्यटक लुम्बिनी आउनेको संख्या कोरोनाकालमा भन्दा पहिलेको अवस्थामा पुग्न थालेको छ । दोस्रो चरणको संक्रमण कमी आएपछि घुम्न आउने वातावरण तयार हुँदै गएको छ र यो क्रम बढ्दो अवस्थामा रहेको छ ।

यसैपनि नेपालीका लागि अहिले घुम्ने समय नै हो । यतिबेला धेरै गर्मी र धेरै जाडो नभएकाले पनि धेरैले मौसमलाई ध्यान दिएर घुम्ने योजना बनाएका हुन्छन् । यही कारणले पनि नेपाली पर्यटकहरु आउने क्रम बढेको हो ।

अहिले यहाँ आउने विदेशी पर्यटकमध्ये धेरै भारतीयहरु रहे पनि अन्य मुलुकका पर्यटकको संख्या भने कोरोनाकालको समय अगाडिसँग तुलनै हुन सक्दैन । त्यो अवस्थामा विदेशी पर्यटक आउने वातावरण अझै बनिनसकेको पर्यटन व्यवसायीको भनाइ छ ।

लामो समय सीमा क्षेत्र र अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएकाले पनि यो अवस्था आएको व्यवसायीले बताएका छन् । कोरोना संक्रमणको समयमा नेपालमा रहेका विभिन्न देशका राजदूत तथा अन्य कूटनीतिक नियोगका केही व्यक्तिहरु लुम्बिनी आए पनि बाहिरका पर्यटक आउने वातावरण थिएन ।

कोषका सदस्यसचिव सानुराजा शाक्यले नेपालको विभिन्न ठाउँबाट भगवान बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउनेहरुको संख्या बढिरहेको बताए । कोरोनाका कारण मान्छेहरुमा सृजना भएको निराशा र चिन्ता हटाउन लुम्बिनीको भ्रमण फलदायी हुने पनि शाक्यले बताए ।

सामान्य अवस्थामा लुम्बिनी घुम्न आउने विदेशी पर्यटकको संख्या अत्यधिक रहने गरेकामा कोरोना त्रासका कारण अधिकांश देशमा वैदेशिक हवाइ उडान र सीमानाकामा सहज आवत जावत समेत नरहेको हुँदा यतिबेला विदेशी नागरिक लुम्बिनी आउन चाहेर पनि आउन नसकेको पर्यटन व्यवसायीको भनाइ छ ।

मायादेवी मन्दिरमा रुपन्देही, नवलपरासी र कपिलवस्तुका सर्वसाधारणलाई परिचयपत्रका आधारमा प्रवेश निःशुल्क छ भने अन्य जिल्लाका लागि प्रवेश शुल्क लाग्छ, यही प्रवेशका आधारमा पर्यटक आगमन गणना हुनेगरेको छ, लुम्बिनी भ्रमणमा आउने प्रायः सबै मायादेवी मन्दिर पुग्ने गरेका छन् ।

लुम्बिनी भ्रमणमा जानेमा लुम्बिनीसंग जोडिएका क्षेत्रहरु भैरहवा, बुटवल, कपिलवस्तु, नवलपरासीका बढी छन् भने अन्य टाढाटाढाबाट पनि आएको पाइएको छ । पर्यटकहरुका लागि मायादेवी मन्दिर, अशोक स्तम्भ, पबित्र पुष्करणी कुण्ड, विभिन्न स्वदेशी तथा विदेशी बिहार, बिश्व शान्ति द्धिप, केन्द्रिय नहरमा नौका बिहार आकर्षक छन् ।

लुम्बिनी आउने पर्यटक बढे पनि एकदिने पर्यटक नै बढिरहेको लुम्बिनी होटल संघका पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी मिथुनमान श्रेष्ठले बताए । ‘अहिले लुम्बिनीमा आन्तरिक पर्यटक आगमन वृद्धि भएको छ । लुम्बिनी वरिपरीका पर्यटक बढी आएका छन्, जो एकैदिनमा फर्कन्छन् र केही मात्र बास बस्ने गरेका छन्, बिस्तारै लयमा आउनेछ भन्नेमा विश्वस्त छौ’ उनले भने ।

निर्माणसम्पन्न हुन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र केही वर्षमा तयार हुँदै गरेको लुम्बिनी गुरुयोजनालाई आधार मानेर यस क्षेत्रमा ठूलाठूला होटल खुल्ने क्रम बढेको छ ।

लुम्बिनी होटल एशोसियसनका अध्यक्ष गोविन्द ज्ञवालीले लुम्बिनी आउने आन्तरिक पर्यटकको संख्या बढेपनि धार्मिक र आध्यात्मिक पर्यटक आउन नसकेको बताए । उनले महामारीको त्रास, यथेष्ट भ्याक्सिनको व्यवस्था नहुनु, सीमा क्षेत्र अहिलेपनि सहज हुन नसकेकाले बस्ने पर्यटक अझै नआएको बताए ।

सरकारले कर्मचारीका लागि दिने भनिएको १५ दिने भ्रमण बिदा छिटो कार्यान्वयनमा ल्याउने, लुम्बिनीका सकारात्मक पक्षलाई मिडियाबाट सन्देश फैलाउने, भ्याक्सिन लगाएका विदेशीलाई परीक्षण गरेपछि आउन रोक्न नहुने भैरहवाको विमानस्थल छिटो संचालनमा ल्याउने र भैरहवाबाट आउने दुई ठूला पुल तथा बाटोलाई सहज बनाउने, लुम्बिनीसँग जोडिएको नाका सहज बनाउने र तीनै तहका सरकारले सार्वजनिक गरेको पर्यटनमैत्री कार्यक्रम निजी क्षेत्रसँगको सहकार्यमा कार्यान्यन लैजाने र लुम्बिनीसँग जोएिका रुपन्देही, कपिलवस्तु र नवलपरासीका बुद्धस्थललाई प्रचारमा ल्याउनसके देशलाई समृद्ध बनाउने गरी पर्यटन क्षेत्र बलियो बन्ने व्यवसायीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *