प्रतिस्पर्धालाई लिएर महाधिवेशनमा कटुता र मनोमालिन्य प्रदर्शन नहोस् : देउवा (भिडिओ) – Nepal Press

प्रतिस्पर्धालाई लिएर महाधिवेशनमा कटुता र मनोमालिन्य प्रदर्शन नहोस् : देउवा (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने बताएका छन् । सहमतिका लागि गरिएको प्रयास असफल भएमात्र निर्वाचन हुने उनले बताए ।

सहमहामन्त्री डा. प्रकाशशरण महतद्वारा लिखित ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ’ नामक पुस्तकको विमोचन गर्दै देउवाले नेतृत्व चयनका लागि हुने प्रतिस्पर्धालाई लिएर कुनै पनि किसिमको कटुता, मनोमालिन्य र असहिष्णुता प्रदर्शन नगर्न आग्रह गरे ।

महाधिवेशनलाई सफलताका साथ सकेर गाउँघर फर्की कांग्रेसलाई आगामी आम निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनाउने अभियानमा जुट्न पनि नेता, कार्यकर्तालाई उनले आह्वान गरे । देउवाले भने, ‘नेपालको प्रजातान्त्रिक भविष्यका लागि यो महाधिवेशन अत्यन्तै महत्वपूर्ण हो । सबै मानिस उत्साहित भएर आएका छन । मलाई विश्वास छ- यस उत्साहपूर्ण घडीमा यसलाई सफल पारेर फर्किँदा साथीहरू अत्यन्तै उत्साहका साथ गाउँघरमा फर्केर पार्टीलाई बलियो बनाएर भोलिको आमचुनावमा नेपाली कांग्रेसलाई फष्ट पार्टी बनाउने काममा लाग्नुहोला ।’

‘हामीहरू भरसक सहमतिका साथ अगाडि जान्छौं । केही लागेन भने महाधिवेशनमा प्रतिस्पर्धा पनि होला । तर, प्रतिस्पर्धामा जितहार हुन्छ । त्यसमा हार्नेले जित्नेलाई सहयोग गर्ने, जित्नेले हार्नेको सहयोग लिने’, देउवाले भने, ‘यसलाई सामान्य प्रक्रियाको रूपमा लिने, कुनै पनि किसिमको कटुता, मनोमालिन्य, एकअर्कामा असहिष्णुता नआओस् । यी कुराहरूबाट अगाडि बढनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर