नेप्से ६ महिनायताकै न्यूनतम बिन्दुमा, नीतिगत सुधारको रटानमा बजार उल्टो दिशातर्फ – Nepal Press

नेप्से ६ महिनायताकै न्यूनतम बिन्दुमा, नीतिगत सुधारको रटानमा बजार उल्टो दिशातर्फ

काठमाडौं । सेयर बजार परिसूचक नेप्से निरन्तर ओरालो लागिरहेको छ । आज नेप्से पछिल्लो ६ महिनाकै न्यूनतम बिन्दु २४५५ मा पुगेको छ । यसअघि कात्तिक २ गते २५११ अंक न्यूनतम विन्दु कायम  भएकाे थियो । बुधबार नेप्से ५३.१० अंकले घट्दै २४५५.८१ अंकको बिन्दुमा झरेको छ ।

२२६ कम्पनीको ६५ लाख ६० हजार ९४७ कित्ता सेयर खरिदबिक्रीबाट २ अर्ब ६६ करोडको कारोबार भयो । कारोबार रकममा भएको गिरावटले बजार बढ्न सक्ने संकेत भने गरेको छ । यो हिजोको तुलनामा करिब १ अर्ब कम हो ।

यसैगरी ठूला कम्पनीको इन्डेक्स सेन्सेटिभ परिसूचक ९.३४ अंकले घटेर ४६४.७९ अंकको बिन्दुमा पुगेको छ । सबै समूहगत परिसूचक राताम्मै बनेका छन् । बैंकिङ समूह २६.१३ अंक, व्यापार समूह ९९.१८ अंक, होटल तथा पर्यटन समूह ७५.२१ अंक, विकास बैंक समूह १५१.२१ अंक, जलविद्युत समूह ८९.४८ अंक, वित्तीय समूह ७४.१० अंक, नीर्जीवन बीमा समूह २३५.६९ अंक, उत्पादन तथा प्रशोधन समूह १७०.५६ अंक, अन्य समूहको २२.१८ अंक, माइक्रोफाइनान्स १२५.६२ अंक, जीवन बीमा समूह २९४.४४ अंक, सामूहिक लगानीकोष समूह ०.११ र लगानी समूह १.९४ अंकले घटेका छन् ।

आज सबैभन्दा धेरै स्टाण्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले १.९४ प्रतिशतले कमाएका छन् भने सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ८.५४ अंकले घटेको छ । ११ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेको नेशनल हाइड्रोपावर कम्पनी कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको छ ।

राष्ट्र बैंकले गरेको सेयर कर्जामा कडाइ, बजारमा तरलताको अभाव र ब्याजदर वृद्धिका कारण बजार घटिरहेको छ । कात्तिक १ गते बैंकहरूको जथाभावी ब्याजदर वृद्धिमा हस्तक्षेप गर्दै मापदण्ड तोकिएपछि सेयर बजारमा गिरावट रोकिएको थियो । लगानीकर्ता उत्साहित हुँदा नेप्से २८५८ अंकसम्म पुग्यो । मौद्रिक नीतिको पहिलो समीक्षामार्फत एकाघर परिवारले लिन पाउने सेयर कर्जाको सीमा (एक बैंक वित्तीय संस्थाबाट ४ करोड र सम्पूर्ण बैंकिङ प्रणालीबाट १२ करोड) हटाउने वा बढाउन सक्ने भन्दै प्रचार गराएर बजार बढाइयो ।

गभर्नर महाप्रसाद अधिकारीले कुनै पनि स्वार्थ समूहले चाहँदैमा राष्ट्र बैंकले नीतिगत परिवर्तन नगर्ने भन्दै चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा मार्फत सेयर कर्जासम्बन्धी नीतिमा कुनै पनि फेरबदल गरेनन् । जसको नतिजास्वरूप मौद्रिक नीतिको समीक्षापश्चात सेयर बजार करिब ४०२ अंकले घटिसकेको छ ।

त्यसयता कारोबार रकममा भने निरन्तररुपमा गिरावट आएको छ । केही ठूला लगानीकर्ताको स्वार्थमा बजार घटाउने काम तीब्ररूपमा अगाडि बढिरहेको चर्चा हुने गरेको छ । यो साताको ४ दिनको कारोबारले बजारमा उच्चरूपमा चलखेल तथा साना लगानीकर्ताको सम्पत्ति जोखिममा पार्ने काम भएको विश्लेषण हुन थालेको छ ।

साेमबार ठुला लगानीकर्ताले बजारमा चलखेल गर्दै काराेबार सुरु भएकाे पहिलो  एक घण्टामा नै बजार ७२ अंकले घटाएर कारोबार बन्द हुँदासम्म ३२ अंकले बढाएका थिए । मंगलबार कारोबार भएको पहिलो ४ घण्टामा बजार ४० अंकले बजार बढाएर कारोबार बन्द हुँदा ३६ अंकले बजार घटाइयाे ।

सोमबार नेप्से ३२ अंकले बढ्दा बजार माथि जाने मनाेविज्ञान लगानीकर्तामा देखिएपनि मंगलबार र आजको गिरावटले लगानीकर्तामा निराशा छाएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर